नेपालका जाति, भाषा र संस्कृति – २६

शिरिष अर्ज्याल
यादव जाति :- मुख्यतया तराई तथा मधेश क्षेत्रमा सुरूका समयदेखि नै बहुसंख्यक रूपमा बसी आएका जातिमा यादव जाति पनि पर्छन् । परम्परागत मुख्य पेसा गाईभैंसी पाल्नु तथा तिनलाई दोहेर दूध निकाली दुग्धजन्य पदार्थहरूको बेचबिखन गर्नु रहेका यादव जातिले आफूहरूलाई भगवान् श्रीकृष्णको वंशज मान्छन् । नेपालको गोपाल वंशावलीअनुसार नेपाल खाल्डो वा नेपाल उपत्यकाका प्रथम शासक गोपालवंशीहरू थिए । गौपालक गोपालवंशी भएका नाताले ती भगवान् श्रीकृष्णसँग सन्बन्धित भनी मानिएको छ ।

नेपालमा लिच्छवी वंशभन्दा अघिको ऐतिहासिक अभिलेख तथा दस्तावेजहरू अपुष्ट रहेको पाइन्छ । वंशावली तथा लोकोक्ति वा किंवदन्तीहरूका आधारमा मात्र सम्पूर्ण गौपालक वा दूध बेच्ने जातिहरूलाई यादव भन्न सकिन्न । तथापि गौपाल वंशावलीलाई पनि नेपालको ऐतिहासिक खोजहरूका लागि माध्यम बनाइएकाले प्रथम नेपालका शासक गौपालक गोपालहरू दक्षिण तर्फबाट नेपाल खाल्डो वा हाल नेपालको काठमाडौं उपत्यकामा आगमन भएको मानिएको छ । यसका साथै गोपालवंशपश्चात् महिषपाल वंश पनि दूध दही पार्ने जाति नै थिए भनी मानिएको छ ।

पूर्वतर्फबाट यलम्बरको नेतृत्वमा किराँतहरूले आक्रमण गरेपश्चात् गोपालजातिहरू थानकोट वरपरका क्षेत्रतर्फ पलायन हुनपुगे । गोपालवंशी जातिको छुट्टै पहिचान लिई नेवारमा समाहित गोपालवंशी नेवारका केही मौलिक सहभागिता पनि नेवार जातिका जात्रा पर्वहरूमा अद्यापि देख्न सकिन्छ । मानवशास्त्री पेसल दाहालका अनुसार महिषपाल शासकहरू क्षेत्रीय राजपुत खानदानका ग्वालाहरूका राजा थिए । ती सिम्रौनगढदेखि जनकपुरलगायतका क्षेत्रहरूमा बसोबास गर्दथे । पछि गएर तिनै ग्वालाहरूलाई यादव भनेर भन्न थालिएको हो ।

वृजवंशी कृष्ण भगवानलाई आफ्नो मूलदेवता वा पुरूष भन्ने यदुवंशी यादवहरू नेपालमा मात्र होइन भारतमा पनि ठूलो संख्यामा रहेका छन् । भारतका राज्यहरूमा मन्त्री मुख्यमन्त्रीजस्ता ठूला पद तथा नेपालमा पनि मन्त्रीदेखि राष्ट्रपतिसम्म भएका छन् । गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव पनि यादव कुल वा जातिका हुन् । ग्वाला वा गौपालक यादवजातिहरूबारे पुराण, महाभारत, गीतालगायत अनेक धार्मिक तथा ऐतिहासिक ग्रन्थहरूमा उल्लेख पाइन्छन् । महाभारतमा भगवान् श्रीकृष्णलाई अनेक प्रसंगहरूमा ‘पार्थ’ भनी सम्बोधन गरिएको पाइन्छ । 

‘पार्थ’ वा पार्थिया भन्ने साम्राज्यका शासकहरूका वंश भगवान् श्रीकृष्ण भएकाले महाभारतमा श्रीकृष्णलाई ‘पार्थ’ भनी सम्बोधन गरिएको हो । तसर्थ पार्थ राज्यका शासकका वंश हुनाले यादवहरूले ऐतिहासिक युगहरूदेखि मात्र होइन वैदिक युगदेखि आफूहरूलाई क्षेत्रीय मान्दै आएका हुन् । धेरै कालसम्म पनि यदुवंशी यादवहरू चन्द्रवंशी राजपुत क्षेत्रीय रहे पनि पछि आएर अन्य राजपुतहरूभन्दा राजनैतिक एवं आर्थिक हिसाबले पछि पर्न गएका हुन् । धेरैअघिका मनुका सन्तान मानिने यदुवंशीहरू विशुद्ध आर्यजातिका पछिल्लो समय आउने सन्तानका रूपमा केही इतिहासकारहरूले अनुमान तथा व्याख्या समेत गरेका छन् ।

यादवहरूलाई अहिर भनेर पनि भन्ने गरिन्छ । तराई मधेशमा बाक्लो संख्यामा रहेका यादव वा अहिर तराईका प्रभावशाली जातिका रूपमा पनि हेरिन्छ । नेपालभरिमा यादव जातिको संख्या ११ लाख १६ हजारभन्दा पनि धेरै रहेको अनुमान गरिएको छ । यो संख्याको प्रतिशत नेपालको कुल जनसंख्यामध्ये ३.९ प्रतिशतभन्दा पनि बढी हो । पुस्तौँदेखि दूध, दही प्रशस्त खाने गरेकाले अधिकांश यादवहरू हृष्टपुष्ट देखिन्छन् । तन्दुरूस्त रहनाले कुस्ती खेलमा यादवहरूको नाम अग्रपंक्तिमा आउँछ ।

यादव जातिमा मुख्यतया तीन समूह मजरौत, कृष्णौत (किशनौर) र घोसिन रहेका छन् । यी तीन समूहमा आ–आफ्नै समूहबीच मात्र विवाह गर्ने प्रचलन रहेकामा हिजोआज भने तीनै समूहका बीच पनि विवाह गर्ने प्रचलन चल्न थालेको पाइन्छ । उनीहरूका मुख्य थरहरूमा यादव, जादभ, गोइत, अधिकारी, कुसियत, बिराजी, राय, सिंह गुरमैता, ग्वाला मरवैता आदि थरहरूलगायत रहेका छन् । कृष्णौत वा किशनौतहरू आफूहरूलाई कृष्णजीका सन्तान भनी मान्छन् । नेपालमा धेरै संख्यामा कृष्णनौत र मझनौतका यादवहरू रहेका छन् ।

अधिकांश यादवहरू धेरै संख्यामा सम्पन्न नरहेता पनि उनीहरूका थोरै बहुत जग्गा जमिन रहेका हुन्छन् । शिक्षाको उचित प्रचारप्रसारले धेरै यादवहरू डाक्टर, इन्जिनियर, वकिल, प्राध्यापक, ओभरसियर तथा सरकारी नोकरीमा भेटिन्छन् भने नेपालमा मात्र होइन भारतको समेत राजनीतिमा यादवहरू अगाडि देखिन्छन् । नेपालको तराईका बाईस जिल्लाहरूमा यादव जातिको बाहुल्य देखिन्छ । मुख्यगरी मोरङ्ग, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, कपिलवस्तु, नवलपरासीलगायत धेरथोर तराईका प्रायः जिल्लाहरूमा यादव जातिको बसोबास रहेको पाइन्छ ।

यादवजातिको मुख्य खानपानमा दाल, भात, तरकारी, अचार, रोटी आदि खाने गर्छन् भने माछा मासुको सेवन गर्ने यादवहरू पनि निकै संख्यामा भेटिन्छन् । धार्मिक कार्यहरूमा भने अन्य हिन्दू सम्प्रदायझैं माछा, मासु, अण्डा वर्जित छ । ग्रामीण भेगका यादवहरूको मुख्य पेसा खेतीपाती हो भने गाईभैंसी पालेर दूध, घिउ, खुवा, दही, बेच्नु पनि हो । यादव जातिहरू अन्य हिन्दू समुदायद्वारा मनाइने मुख्य चाडवाड मान्ने गर्छन् । तीमध्ये भगवान श्रीकृष्णको जन्म भएको दिन अर्थात् कृष्ण जन्माष्टमीलाई बडो धुमधामका साथ मनाउने गर्छन् ।

श्रीकृष्णको जन्म भाद्र महिनाको कृष्ण पक्ष अष्टमी तिथिका दिन यो चाड पर्छ । धेरै ठाउँहरूमा यस पर्वलाई श्रीकृष्णको प्रतिमा स्थापित गरेर मनाउने चलन रहेको छ भने कुनै ठाउँमा कृष्ण भगवान्का मन्दिरमा गई मनाउने प्रचलन छ । कतिपय ठाउँहरूमा कृष्णाष्टमी अघि श्रीकृष्ण एक वर्ष पुगेका उपलक्ष्य मानी झुलन महोत्सव पनि आयोजना गर्ने गरिन्छ । झुलनमा श्रीकृष्णको प्रतिमा राखेर झुला अर्थात् पिङमा हल्लाउने गरिन्छ । कृष्णाष्टमीका दिन कतिपय यादव आइमाईहरू वर्त बस्ने गर्छन् भने यसपश्चात् प्रसादका रूपमा मिठाइ, फलफूल दही आदि बाँडीचुँडी खाने गरिन्छ ।

भाद्र महिनाकै गणेश चतुर्दशीका दिन यादव समुदायले चोरचन पर्व मनाउने गर्छन् । यस पर्वमा विशेष गरी खीर, खजुरी पिरूकियाजस्ता मिठाइहरू खाने गरिन्छ । यस पर्वलाई रमाइलो गर्न अर्काको बारीमा गई फलफूल चोरी गर्ने प्रचलन समेत रहेको छ ।

यसैगरी भाद्र महिनामा नै यादवजातिले जितिया पर्व मनाउने गर्छन् । आफ्ना बालबालिकाहरू कुनै नकारात्मक शक्तिको फन्दामा नपरून् भनी बालबालिकाको रक्षाका निमित्त यो पर्व मनाउनका लागि महिलाहरू दिनभरि भोकै व्रत बसी पूजाआजा गरी मनाउने गरिन्छ । यस पर्वका दिन बिहान सूर्योदयअघि नै नुहाइधुवाइ गरी बालबालिकाहरूलाई समेत नुहाइदिएर दहीचिउरा, खीर, फलफूल आदि खाने गरिन्छ ।

यस्तै दशहरा पर्व अर्थात् घटस्थापनादेखि दशमीसम्म देवीको आराधना गरी मनाइने गरिन्छ भने दीपावली अर्थात् तिहार पर्व तीन दिन मनाउने गरिन्छ । पहिलो दिन घरका पुरूषहरू भेला भई खुल्ला चौर वा मैदानमा पराल वा खरलाई बालेर मनाउने चलनलाई लुकाली भनेर भनिन्छ । यस चलनको उद्देश्य लक्ष्मीलाई घरमा भित्र्याउने तथा घरमा रहेका खराब तत्वलाई बाहिर फाल्ने भन्ने रहेको छ ।

तिहारको दोस्रो दिन अर्थात् लक्ष्मीपूजाका दिन बिहान आफ्नो गाईभैँसीहरूलाई नुहाइदिएर सफा सुग्घर बनाई सिंगारपटार गरी रंगले विभिन्न आकृतिहरू बनाइदिएर चिटिक्क पारी हरियो घाँस पराल आदि खुवाउने गरिन्छ । कतै कतै कुस्ती पहलवानी आदिका उत्सवहरू पनि मनाउने गरिन्छ । तेस्रो दिन खानेकुरा मिठाइ आदि आदानप्रदान गरेर खुसी साटासाट गरी मनाइने गरिन्छ । तीनै दिन दीप प्रज्वलित गरेर लक्ष्मीको आगमनको प्रतीक्षा गरिन्छ ।

यादवजातिले छठ अर्थात् छठी पर्व पनि विशेष श्रद्धाका साथ मनाउने गर्छन । तिहारको छैठौं दिनमा सुरू हुने छठी पर्वमा सूर्य भगवान्लाई उदाउँदा तथा अस्ताउँदा अर्घ्य दिई पूजाआजा गरी मनाइन्छ । छठी पर्वमा यादवजातिले पीठोको ठेकुवा भनिने मिठाइ, खजुरी यस्तै चामलको पीठो सख्खर, मसला आदि मिसाई बनाइने भुसुवा, उखु, पानीफल, केरा अन्य फलफूल, मुला, अदुवा, बैठान तथा गाईको दूधले सूर्यलाई अर्घ्य दिई अर्पण गरेर चढाउने गरिन्छ । छठको दोस्रो दिन अर्थात् उदाउँदो सूर्यलाई अर्घ्य दिई समापन भएपश्चात् चढाइएका प्रसाद खानेकुरा बाँडीचुँडी खाई इष्टमित्र आफन्तलाई पनि दिइने गरिन्छ । पहिलो दिन विशेष गरी महिलाहरू निराहार व्रत लिई साँझ खीर खाने गर्छन् ।

यस पर्वपश्चात् माघेसंक्रान्तिलाई पनि यादव समुदायले धुमधामका साथ मनाउने गर्छन् । यसमा अन्य हिन्दूहरूझैँ तीलको लड्डु, तिलौरी, मुरी तथा चिउरालाई सक्खरमा मिसाइ बनाइएको लड्डु, तरूल, तरूलको तरकारी, दूध, दही, खिचडी खाने गरिन्छ । यसैगरी होली अर्थात् फागुपूर्णिमा पर्वलाई पनि यादव समुदायद्वारा धुमधामका साथ मनाउने प्रचलन रहेको पाइन्छ । यस दिन अर्थात् पूर्णिमाको भोलिपल्ट होलिकालाई दहन गरी सकिएको उपलक्ष्यको सम्झनास्वरूप अबिर तथा रंग छरी एक आपसमा खुसी साटासाट गरी मनाउने गरिन्छ ।

यादवजातिमा रामनवमी पर्व तथा शिवरात्रिमा शिव भगवान्को पूजापाठ गरी मनाउने समेत प्रचलन रहेको छ । यस दिन बिहानैदेखि शिवजीका थान वा मन्दिरहरूमा गई भगवान्को दर्शन गरेर पूजापाठ गरी मनाइने गरिन्छ । यादवजातिले ठाउँअनुसार विभिन्न भाषा बोल्ने गर्छन् । पूर्वी नेपालको तराईका यादवहरू मैथिली भाषा बोल्छन् भने मध्यतराईमा भोजपुरी, अवधि भाषा प्रचलनमा रहेको पाइन्छ । नेपालमा ठूलो संख्यामा रहेका यादवजातिले हाल केही संघ/संस्थाहरू पनि गठन गरी जातीय उत्थान तथा सांस्कृतिक संवर्द्धनमा समेत सहभागी हुँदै गरेका देखिन्छन् । मुख्यगरी जन्म, मुण्डन, विवाह र मृत्यु संस्कारलाई विधिविधानपूर्वक मान्दै आएका यादवजाति आफ्ना संस्कारहरू अति नै निष्ठापूर्वक सम्पन्न गर्ने प्रचलन रहेको पाइन्छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com