झन्डै सय मेनपावर \'मर्ज\' हुँदै


काठमाण्डौँ,भदौ १६ 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मेनपावर कम्पनीहरूलाई एकआपसमा गाभिन (मर्जर) निर्देशन दिएसँगै मेनपावर व्यवसायीहरू यसको कार्यान्वयनमा जुटेका छन् । आइतबारसम्म दुई सय ६६ वटा मेनपावर मर्जर प्रक्रियामा जानको लागि वैदेशिक रोजगार विभागमा व्यवसायीहरूले निवेदन दिएका छन् । विभागका प्रवक्ता भोलानाथ गुरागाईँका अनुसार ९८ वटा मेनपावर ‘मर्ज’ हुनका लागि दुई सय ६६ वटा मेनपावर ‘मर्जर’ प्रक्रियामा जान चाहेका छन् ।पाँच सय ७६ वटा मेनपावरले बैंक ग्यारेन्टी राखेको विभागले जनाएको छ भने नगद राख्नेमा पाँच सय ३३ वटा मेनपावर रहेका छन् ।

आइतबारसम्म दुईवटा मेनपावर ‘मर्जर’ प्रक्रियामा गई एउटा मेनपावर बन्नेको संख्या ७५ वटा, तीनवटा मेनपावर मर्जर प्रक्रियामा गई एउटा मेनपावर बन्नेको संख्या सातवटा, चारवटा मेनपावर मर्जर प्रक्रियामा गई एउटा मेनपावर बन्नेको संख्या आठवटा, पाँचवटा मेनपावर मर्जर प्रक्रियामा गई एउटा मेनपावर बन्नेको संख्या एउटा तथा छवटा मेनपावर ‘मर्जर’ प्रक्रियामा गई एउटा मेनपावर बन्नेको संख्या एउटा रहेको छ ।विभागका प्रवक्ता गुरागाईँले मर्जरमा जानका लागि आउने मेनपावरको संख्या बढ्दो क्रममा रहेको बताए । ‘हामीले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सक्छौँ भनेर मर्जरको अवधारणा अघि ल्याएका हौँ’, उनले भने, ‘वैदेशिक रोजगारीको नाममा धेरै सर्वसाधारणले दुःख पाए । यसलाई व्यवस्थित गर्न मेनपावर मर्ज गर्न लागिएको हो ।’

विभागले मेनपावर व्यवसायीहरूलाई भदौ १८ गतेसम्म मर्जर प्रक्रियामा जान भनेको छ ।यस्तै सरकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गरी मेनपावरको नगद र बैंक ग्यारेन्टी बढाएको छ ।संशोधन ऐनअनुसार वार्षिक तीन हजारसम्म कामदार पठाउने मेनपावर ५० लाख नगद धरौटी र डेढ करोड बैंकमा ग्यारेन्टी राख्नुपर्ने व्यवस्था गरेको छ भने वार्षिक तीन हजारभन्दा बढी पाँच हजारसम्म कामदार पठाउने मेनपावरले धरौटीबापत एक करोड नगद तथा तीन करोड बैंक ग्यारेन्टी राख्नुपर्ने हुन्छ । वार्षिक पाँच हजारभन्दा बढी कामदार पठाउनेको धरौटी दुई करोड नगद र चार करोड बैंक ग्यारेन्टी हुनुपर्नेछ ।मर्जर प्रक्रियामा जानेमध्ये वार्षिक पाँच हजारभन्दा बढी कामदार पठाउने दुईवटा मेनपावर मर्ज भएको विभागले जनाएको छ ।

वैदेशिक रोजगारीका नाममा युवाहरू ठगिने क्रम रोकिएको छैन । जसलाई मेनपावरको संख्या धेरै हुँदा यसमा थप बल पुगेको देखिन्छ । मेनपावर धेरै हुँदा विदेश जाने नाममा ठगी गर्ने मेनपावर व्यवसायीहरूमा समेत वृद्धि भएको पाउन सकिन्छ भने मेनपावर तथा मेनपावर व्यवसायीको संख्यामा वृद्धि हुँदा एकतर्फ समस्यामा वृद्धि भएको पाउन सकिने विभागको ठहर छ । मेनपावरको संख्यामा वृद्धि हँुदा समस्या बढ्नुको साथै विभागलाई अनुगमनमा समेत कठिने हुने गरेको बताउँदै आएको छ । पछिल्लो समय विभागमा उजुरीको संख्यामा केही मात्रामा कमी आए पनि ठगी हुने रकम भने बढेको पाइन्छ । मर्जरसँगै विदेश जाने नाममा हुने ठगीमा कमी आउने विभागको ठहर छ ।

व्यवसायी भने मर्जरलाई लिएर सन्तुष्ट छैनन् । विभागमा मर्जरका लागि आएका एक मेनपावर व्यवसायीले विभागले अनुगमन गर्न नसक्दा मेनपावरलाई बाध्य बनाएर मर्जरमा पठाएको बताए । विदेश पठाउने मेनपावर सबै नराम्रा छैनन् । ‘राम्रा पनि छन् तर विभागले आफ्नो स्वार्थ मात्र हेरेर मर्जरमा जान बाध्य बनाएको हो’, उनले भने, ‘मर्जरमा जानु मेनपावर व्यवसायीको रहर नभएर कहर अर्थात् बाध्यता हो ।’विभागले मर्जरमा जाने मेनपावरका लागि सहज होस् भनेर पछिल्ला दिनहरूमा बेलुकी साढे ५ बजेसम्म सेवा दिएको छ भने शनिबारसमेत विभाग खुला राखी सेवा दिएको थियो । मेनपावर व्यवसायीलाई सहज होस् भनेर विदाको दिन पनि कार्यालय खुला राखेको तथा बढी समय काम गरेको प्रवक्ता गुरागार्इँले बताए ।विभागमा हालसम्म एक हजार पाँच सय २७ वटा मेनपावर दर्ता भएका छन् । त्यसमध्ये एक हजार दुई सय ४० वटा सञ्चालनमा रहेका छन् भने दुई सय १० वटा खारेज भएका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com