सफल साक्षरता अभियानको सूत्र : ल्याऔँ, टिकाऔँ, सिकाऔँ र बिकाऔं

बाबुकाजी कार्की
युनेस्कोले यस वर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवसको नारा साक्षरता र बहुभाषिकता एवं महिला सशक्तीकरणका लागि केन्द्रित गरेको छ । साक्षर नेपाल अभियानलाई सार्थक लक्ष्यमा पु-याउन अहिले पनि निरक्षर कहाँ छन् ? एकीन गर्नु पहिलो प्राथमिकतामा पर्नुपर्छ । तिनीहरुलाई पढ्न कक्षाकेन्द्रमा कसरी ल्याउने ? उत्प्रेरणा गर्ने उपायहरुको पहिचान गरी कार्यान्वयन गर्नुपरेको छ । कक्षा केन्द्रमा आइसकेका निरक्षरहरुलाई कार्यक्रम अवधिभर कसरी टिकाइराख्ने ? रोचक व्यवस्थापनको लागि ध्यान दिन विलम्ब भइसकेको छ । पढ्ने/पढाउने विषयवस्तु विधि र व्यवस्थापन सहभागीहरुको रुचि, क्षमता र आवश्यकताअनुसार छ कि छैन ? अध्ययन/अनुसन्धानबाट निष्कर्षमा पुग्नु बुद्धिमत्तापूर्ण काम हुन्छ ।

साक्षरताका विषयवस्तु सहभागीहरुको जीवन र जगत्लाई सम्बोधन गर्ने र आफूले अपनाएको वा अपनाउने पेसागत दक्षतालाई उन्नत बनाउनेखालको भएमा रोचक सहभागिता हुने यथार्थता हो । पढ्नको लागि सुगमता प्रदान गर्न पर्याप्त साधनस्रोत सर्वसुलभ व्यवस्थापनको खाँचो पर्दछ । साक्षरता कक्षाको व्यवस्थापन तथा पाठ्यपुस्तक, मसलन्द, तथा पारिश्रमिकका लागि पाँच वर्षअगाडिकै दर हालसम्म पुनरवलोकन नहुनु विडम्बना हो ।

साक्षरता मानव विकासको प्रस्थानविन्दु हो । साक्षरताले व्यक्तिको योग्यता र दक्षतालाई विकास, एवं विस्तार तथा परिमार्जन र परिष्कृत गरी सक्षमता प्रदान गर्दछ । साक्षरताको स्तर र विकासको गति समानुपातिक हुन्छ । दक्ष क्षमतावान् मानवीय साधनस्रोतले देश विकासमा मेरुदण्डीय भूमिका खेल्छ । वर्षौँदेखि समाजमा जरा गाडेर बसेको निरक्षरतालाई लरतरो प्रयासबाट सजिलै निर्मूल पार्न सकिँदैन भन्ने पुष्टि विगतका प्रयासहरुबाट सफलता पाउन नसक्नुले गर्दछ । अहिले पनि आगामी दुई वर्षभित्र सबै निरक्षरलाई साक्षर बनाएर देशलाई साक्षर नेपाल बनाउने उद्देश्यका साथ विभिन्न सघन कार्यक्रम सञ्चालन गर्दै आएको छ । तथापि लामो समयदेखि नपढी बसेका पाको उमेरका निरक्षरलाई साक्षरता कक्षामा ल्याउन लरतरो प्रयासले सफल हुन सकिन्न । निरक्षरलाई कहरले नभई रहरले पढ्ने वातावरण बनाउने प्रयासले मात्र अभियानले सार्थकता पाउन सक्छ ।

साक्षरता अभियानलाई सफल पार्न धेरै चुनौतीहरुको सामना गर्न नपर्ला भन्न सकिन्न । निरक्षरहरूको साक्षरता कक्षामा अनियमितता र बीचैमा कक्षा छाड्नेजस्ता नकारात्मक प्रवृत्तिलाई कसरी सुधारेर उनीहरूको उत्साहजनक र जाँगरिलो सहभागिता जुटाउन सकिएला ? चिन्ता र चिन्तनको विषय बन्नुपर्दछ ।

साक्षरताले मानव विकासको सीमित सम्भावनाबाट असीमित सम्भावनको दैलो खोल्दछ । साक्षरताको विषयवस्तुलाई उनीहरूको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने ज्ञान सीपमा समयसापेक्ष परिमार्जन र परिष्कृत गर्दै पेसागत दक्षतामा अभिवृद्धि गरी निर्वाहमुखीबाट व्यावसायिकमुखी बनाउँदै लाने रणनीतिको अवलम्बन आजको आवश्यकता हो । साक्षरतालाई निरक्षरले अपनाई आएको पेसामैत्री वातावरण सिर्जना गर्नु आवश्यक छ । जसले निरक्षरहरुको नाना, खाना र छाना सुनिश्चित गर्न टेवा पुगोस् । सहभागीको दैनिकीमा भोगेका समस्या र चुनौतीलाई सम्बोधन गर्ने विषयवस्तुले साक्षरता कार्यक्रमप्रति उनीहरूको चाहना र विश्वास जगाउन सक्छ । साक्षरता कक्षामा प्राप्त गर्ने जीवनोपयोगी ज्ञान र सीप कैँचीका दुई धारजस्तै हुन् र सँगसँगै जानुपर्छ, अन्यथा एउटा धार बोधो (भुत्ते) भएमा अर्को जतिसुकै धारिलो भए पनि निरर्थक हुन्छ ।

देशभर छरिएर बसेका निरक्षरहरुलाई पढाउने कक्षा केन्द्रमा ल्याउनुभन्दा पहिले उनीहरुको पहिचान गरेर तथ्यांकीय विश्वसनीयता कायम गर्नु प्राथमिकतामा पर्नुपर्दछ । विगत वर्षहरुमा पनि विभिन्न नीति र रणनीति अपनाएर तथ्यांक व्यवस्थापन अनौपचारिक शिक्षा केन्द्रले गर्दै आएको भए पनि साक्षरता प्रतिशत कायमको वैधानिकता र आधिकारिताबारे स्पष्टता हुनसकेको छैन ।

साक्षरता कार्यक्रमलाई सशक्त व्यापक र प्रतिफलमुखी बनाउन निर्मम एवं जवाफदेही अनुगमनको दायराभित्र सार्वजनिक सरकारी अवधारणाअनुसार विकेन्द्रितरूपमा सञ्चालनको विश्वासिलो वातावरण बनाइनुपर्छ । निरक्षरहरू साक्षरता कक्षामा आउनुपर्छ भन्ने पुरातन सोचलाई तोड्दै अब साक्षरता कक्षा नै निरक्षरसम्म जानुपर्छ । सोही मान्यताको आधारमा निरक्षर महिला, दलित, पिछडिएको जातजाति र सीमान्त एवम् विपन्न वर्गको पहिचान गरी माग र आवश्यकताको आधारमा मात्र कक्षा वितरण गरिनुपर्दछ । साक्षरता कक्षा वितरण व्यवस्थालाई समावेशी सहभागितामूलक एवम् विकेन्द्रित विधि र प्रक्रियाको अवलम्बन समयको माग हो ।

साक्षरता कक्षा सञ्चालनमा संलग्न हुने स्वयंसेवक, स्थानीय निरीक्षक र व्यवस्थापकीय पदाधिकारी आदिको चयन निरक्षरता उच्च प्रतिशत भएको समूहका योग्यता पुगेका स्थानीय महिला, दलित, पिछडिएका जातजातिलाई नै अवसरको प्राथमिकता दिइने नीतिको कार्यान्वयन पारदर्शी र सशक्त पारिनुपर्दछ । मातृभाषामा आधारभूत शिक्षा हासिल गर्न पाउने संवैधानिक हकलाई प्रत्याभूति गर्दै जाने नीतिअनुरूप नेपालीलगायत तामाङ, मैथिली, भोजपुरी, गुरूङ, नेवारी, अवधि, डोटेल, भोजपुरी र थारु आदि भाषाको पाठ्यसामग्री तयार गरी वितरण गरिए पनि यसको प्रयोग र औचित्यतालाई सरोकार पक्षले आत्मसात् गर्ने वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ ।

अहिले देशभर साक्षर गाउँपालिका र नगरपालिका घोषणा गर्ने लहर नै चलेको छ । तर कतै वास्तविकताभन्दा पनि तथ्यांकीय रुपमा मात्र साक्षरता प्रतिशत बढ्ने त होइन । बेलैमा चनाखो नहुने हो भने भविष्यमा पछुताउन नपर्ला भन्न सकिन्न । तथापि वर्षौंदेखि जरा गाडेर बसेको निरक्षरतारूपी अभिशापलाई छिमल्न सबै संघ/संस्था र व्यक्तिको सामूहिक सद्भाव, सहयोग, सहकार्य, समन्वय, समर्पण, समीक्षा र स्वामित्व (सात ‘स’) अपरिहार्य हुन्छ । समग्रमा भन्नुपर्दा साक्षर नेपाल अभियान लगायत अनौपचारिक शिक्षा नीति र कार्यक्रमलाई सार्थक बनाउन निरक्षरलाई कक्षामा ल्याऔं, टिकाऔँ, सिकाऔँ र बिकाऔँबाट निर्देशित हुनुपर्छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com