नेपाल–चीनबीच तीन सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं, भदौ २४
नेपाल र चीनबीच तीनवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा उनका चिनियाँ समकक्षी वाङ यीको उपस्थितिमा सोमबार साँझ एक पाँचतारे होटलमा सम्पन्न द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो । सो क्रममा दुईवटा ‘लेटर अफ एक्सचेञ्ज’ र एउटा समझदारीपत्रमा हस्ताक्षर भएको राष्ट्रिय समाचार समितिले जनाएको छ । चीनका विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री ज्ञवालीको उपस्थितिमा अर्थसचिव राजन खनाल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआईसीडीए)का उपाध्यक्ष डेङ बोकिङले आपत्कालीन आवास तथा मनाङ अस्पताल पुनर्निर्माण परियोजनासम्बन्धी ‘लेटर अफ् एक्सचेञ्ज’मा हस्ताक्षर गरेका छन् ।

आपत्कालीन आवास सहायताअन्तर्गत चीनले नेपाललाई ९५ लाख चिनियाँ युआन अर्थात् १५ करोड २५ लाख रुपैयाँबराबरका पाँच हजार त्रिपाल उपलब्ध गराउनेछ भने मनाङमा अस्पताल निर्माणका निम्ति दुई करोड २० लाख युआन अर्थात् ३५ करोड ३३ लाख रुपैयाँ प्रदान गर्नेछ । त्यसैगरी स्वयंसेवक चिनियाँ शिक्षक कार्यक्रमसम्बन्धी समझदारीपत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश्वर दाहाल र नेपालका लागि चीनका राजदूत हउ यान्छीले हस्ताक्षर गरेका छन् । दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचार–विमर्श भएको थियो । परराष्ट्रमन्त्रीद्वय ज्ञवाली र वाङले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

त्यसैगरी वार्तामा दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइएको थियो । चिनियाँ पक्षले त्यसलाई सकारात्मक रुपमा लिएको राससले जनाएको छ । नेपालको विकासको भरपर्दो साझेदार चीनले हासिल गरेको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्ने विषयका साथै द्विपक्षीय हित, क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका मामिलामा पनि द्विपक्षीय वार्तामा गहन छलफल भएको थियो ।

चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएको समझदारीका साथै परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौता तथा नेपालको व्यापार विविधीकरण, व्यापारघाटा घटाउन चिनियाँ सहयोगलगायत विषयमा दुवै देशका मन्त्रीले विचार आदानप्रदान गरेका थिए ।

वार्तामा अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सचिव शंकरदास वैरागी, अर्थसचिव खनाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दाहाल, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायत वरिष्ठ अधिकारी सहभागी थिए । विदेशमन्त्री वाङ नेतृत्वको टोलीमा विदेश सचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदुत हउ यान्छी, चिनियाँ अन्तरर्राष्ट्रिय विकास सहायता नियोग (सीआईसीडीए) का उपाध्यक्ष डेङ बोकिङ, विदेश मन्त्रालयको एसिया विभागका प्रमुख तथा अन्य अधिकारीसहित काठमाडौँस्थित चिनियाँ दूतावासका उच्च अधिकृत वार्तामा सहभागी थिए ।
राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेट :- राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले राष्ट्रपति कार्यालय, शीतल निवासमा सोमबार शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यका साथै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो ।

चीनबाट उच्चस्तरीय भ्रमण हुने :- प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका साथै आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । उनीहरूले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु-याउने प्रतिबद्धता व्यक्त गरेको भेटपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आफूले गरेको चीनको राजकीय भ्रमणकोे स्मरण गर्दै त्यसबेला भएका सहमति कार्यान्वयन गर्दै आपसी सम्बन्धलाई नयाँ उचाइमा पु-याउन आफू क्रियाशील रहेको मन्त्री वाङलाई बताएका थिए । ‘हामी विगतका सहमतिअनुसार अघि बढ्न चाहन्छौंँ र तपाईंको यो भ्रमणले त्यसतर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास छ’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै सल्लाहकार डा. भट्टराईले भने ।

चिनियाँ विदेशमन्त्री वाङले शैक्षिक, सामाजिक, पूर्वाधार विकासलगायत द्विपक्षीय सम्बन्धका विभिन्न आयाम र सहयोगका सबै क्षेत्रलाई दुवै मुलुकले विस्तार गर्न चाहेको बताउँदै नेपालसँगको सम्बन्धलाई आफ्नो देशले उच्च महत्व दिएको प्रधानमन्त्री ओलीलाई बताएका थिए । प्रधानमन्त्रीले एक चीन नीतिप्रति नेपाल सधैँ अडिग रहेको र नेपालको भूभाग छिमेकीविरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता दोहो-याएका थिए । विदेशमन्त्री वाङले उपयुक्त समयमा चीनबाट उच्चस्तरीय भ्रमण हुने र त्यसका लागि आवश्यक तयारी भइरहेको बताएको सल्लाहकार डा. भट्टराईले जानकारी दिए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com