१३ वर्षमा पाँच सय बढी ट्रेडमार्क चोरी

ट्रेडमार्क चोरीबारे विदेशी राजदूतावासको चासो

प्रवीण राउत
काठमाडौं, भदौ २५
पछिल्लो समय नेपाली बजारमा टेड्रमार्क, पेटेन्ट तथा डिजाइन नक्कल गर्ने अर्थात् चोरीको घटना बढेको पाइएको छ । छिटो पैसा कमाउने तथा धनी बन्ने नाममा व्यवसायीहरुले टेड्रमार्क चोरी गर्दै आएको उद्योग विभागले जनाएको छ । पछिल्ला आर्थिक वर्षमा टेड्रमार्क चोरी भएका उजुरी गर्न विभागमा आउने विदेशी कम्पनीहरुको संख्या समेत बढेको विभागका कानुन शाखाका उपसचिव टंक बहादुर महतले आर्थिक दैनिकलाई जानकारी दिए ।

विदेशी कम्पनीका नेपालमा रहेका प्रतिनिधिले विभागसमक्ष टे«डमार्क चोरी भयो भन्दै उजुरी दिने गरेको उनले बताए । ‘विदेशी कम्पनीका अधिकारी नै आउने भन्दा पनि उनीहरुले नेपाली प्रतिनिधिमार्फत विभागसमक्ष उजुरी दिने गरेका छन्’, उनले भने । ट्रेडमार्क चोरी गर्नेमा नेपाली व्यवसायी मात्र छैनन् । उपसचिव महतका अनुसार विदेशी व्यवसायीहरु समेतले ट्रेडमार्क चोरीमा संलग्न रहेको पाइएको छ । उनले भने, ‘नेपालका बजारमा जति पनि सामग्री छन्, त्यसमा धेरैजसो ट्रेडमार्क अरुको नक्कल गरी राखिएको हुन्छ ।’

यसै क्रममा पछिल्लो समय रक्सी उत्पादन गर्ने अमृत डिस्ट्रिब्युटर प्राइभेट लिमिटेड कम्पनीले फेसबुकको ट्रेडमार्क चिह्नको नक्कल गर्दै सो चिह्न आफूहरुले राख्न पाऊँ भन्दै विभागसमक्ष निवेदन दिएको उपसचिव महतले बताए । ‘अमृतले माग गरे पनि हामीले भने अध्ययन गरी दिएनौं’, उनले भने, ‘हामीले विश्वमा लोकप्रिय र सबैलाई जानकारी भएको ट्रेडमार्क चिह्न माग गरेको बारेमा थाहा भयो । हाम्रो नियम कानुनले समेत त्यसलाई रोक लगाउँदा अमृतलाई नदिने निर्णय गरेका थियौँ’, उनले भने ।

विभागका अनुसार पछिल्लो १३ आर्थिक वर्षको अवधिमा पाँच सय ५४ वटा ट्रेडमार्क चोरी गरेको भन्दै विभागमा उजुरी परेको छ । उजुरी दर्ता गराउनेमा विदेशी कम्पनीहरु धेरै रहेका छन् भने चोरी गर्नेमा नेपाली र विदेशी व्यवसायीहरु रहेका छन् । स्वदेशी मात्र नभएर विदेशी अर्थात् भारतीय व्यवसायीहरुले समेत चोरी गरेको ट्रेडमार्क राखी नेपाली बजारमा सामग्री पठाउने गरेको समेत महतले जानकारी दिए ।

विभागका अनुसार गत आवमा (२०७५/०७६) मा ट्रेडमार्क नक्कल गरेको भन्दै विभागमा ८१ वटा उजुरी परेको थियो । तर आर्थिक वर्ष २०७४/०७५ मा दुई सय ५४ वटा उजुरी परेका थिए । यस्तै आव २०७३/७४ मा ७५ वटा, २०७२/०७३ मा ४५ वटा, २०७२/०७१ मा ५९ वटा, २०७०/०७१ मा १५ वटा, २०६९/०७० मा आठवटा, २०६८/०६९ मा छवटा, २०६७/०६८ मा पाँचवटा, २०६६/०६७ मा एउटा, २०६५/०६६ मा दुईवटा, २०६४/०६५ एउटा, २०६३/०६४ मा एउटा ट्रेडमार्क चोरी भएको भन्दै विभागसमक्ष उजुरी परेको विभागले जनाएको छ ।

विभागले आव २०७४/०७५ देखि ०७५/०७६ सम्म परेका आठ सय १३ वटा ट्रेडमार्कसम्बन्धी मुद्दामध्ये दुई सय ७७ वटा मुद्दाको फैसला गरेको तथा बाँकी पाँच सय ३६ वटा मुद्दा भने फर्छ्योट हुन बाँकी रहेको जनाएको छ । यी मुद्दाहरुमध्ये कतिपय मुद्दा भने पछिल्लो आवको सरेको मुद्दा समेत रहेको विभागले जनाएको छ । उजुरी आउँदा ८० प्रतिशतभन्दा बढी टे«डमार्क दर्ता दाबी विरोधको आउने तथा त्यसपछि क्रमशः १५ प्रतिशत चोरी भयो भन्दै र ५ प्रतिशत भने दर्ता बदर गरिपाऊँ भनेर विभागसमक्ष निवेदन आउने गरेको उपसचिव महतले जानकारी दिए । 

ट्रेडमार्क चोरी गर्दा व्यवसायीहरुले विश्वमा चर्चित तथा लोकप्रिय ब्रान्डहरुको ट्रेडमार्क नक्कल गर्ने गरेको विभागका अधिकारीहरु बताउँछन् । यसरी चर्चित र लोकप्रिय ब्रान्डको ट्रेडमार्कको चोरी गरी आफ्नो उत्पादनमा राख्दा उपभोक्ताको विश्वास सहज र छिटो प्राप्त गर्न व्यवसायी सफल हुने भएकाले व्यवसायीहरुले यसको चोरी गर्ने गरेको उपसचिव महत बताँउछन् । ‘यसले गर्दा उपभोक्ताले सक्कली भनेर नक्कली वस्तु तथा सामग्रीको महँगो मूल्यमा प्रयोग गरिरहेका हुन्छन्, यसलाई रोक्नको लागि समेत कतिपय अवस्थामा विभागले उजुरी नआएको अवस्थामा समेत ट्रेडमार्क दर्ता गर्दैन’, उनले भने, ‘हामी ट्रेडमार्क दर्ता गर्न आउँदा शंका लागेमा त्यसको विषयमा आन्तरिक अध्ययन गर्छौँ अनि मात्र ठोस निर्णय गरी अघि बढ्ने गर्छौँ ।’

नेपाली उपभोक्ताहरु पनि नेपाली बजारमा पाइने सामग्री सक्कली नभएको बताँउछन् । विश्वमा चर्चित ब्रान्ड एडिडासको ट्रेडमार्क चिह्न भएको टिसर्ट लगाएका उपभोक्ता पवन केसीले भने, ‘मैले एडिडासको लोगो देखेर यो टिसर्ट लगाएको हुँ तर मलाई विश्वास छैन कि यो सक्कली हो ।’ पवन जस्तै धेरै उपभोक्ता छन्, जो विश्वमा चर्चित ब्रान्डहरु नेपालसम्म नआइपुग्नेमा ढुक्क छन् तर बजारमा भने प्रशस्त देखिन्छन् । ट्रेडमार्कसम्बन्धी नेपालको कानुन र पेरिस महासन्धि (१८८३) मा रहेर टे«डमार्क चोरीको विषयलाई लिएर विभागले निर्णय गर्ने गरेको उपसचिव महतले बताए ।

ट्रेडमार्क, पेटेन्ट र डिजाइनलाई पेरिस महासन्धिले औद्योगिक सम्पत्ति मानेको छ । नेपाल पनि सो सन्धिको पक्षराष्ट्र रहेको छ । ‘हामी अर्थात् नेपाल २००६ मा सदस्य बनेका हौं’, उनले भने, ‘त्यसैले संसारको कुनै पनि कुनामा दर्ता भएको ट्रेडमार्क नक्कल गरी नेपालमा दर्ता गर्न खोजेमा त्यसलाई हामी रोक्ने गरेका छौँ ।’

विभागले निकासा पैठारी तथा बौद्धिकसम्बन्धी ऐन २०६३ मा रहेर ट्रेडमार्कको विषयमा निर्णय गर्ने गर्छ । विभागको महानिर्देशक नै निर्णयकर्ता हुन्छन् । उजुरीको विषयमा दुई पक्षबीच अदालती प्रक्रियाअनुरुप नै बहस हुने र विभागका महानिर्देशकले निर्णय गर्ने व्यवस्था रहेको छ । महानिर्देशकको निर्णय चित्त नबुझेमा अदालत जाने पाउनेछन् र यो अभ्यास भइरहेको पनि छ । प्रायःजसो महानिर्देशकको निर्णय नबुझनेहरु उच्च अदालत जाने गरेको बताँउछन् सहसचिव महत । ‘महानिर्देशकको निर्णय चित्त नबुझेमा उच्च अदालत जाने गर्छन् तर हामीले हालसम्म जति पनि निर्णय गरेका छौंँ त्यसलाई उच्च अदालतले सदर गर्दै आएको छ’, उनले भने ।

यदि जिल्ला अदालतको निर्णय उजुरीकर्ता अर्थात् वादी वा बचाउ गर्ने अर्थात् प्रतिवादी दुवै पक्षलाई चित्त नबुझेमा सर्वोच्च अदालतसम्म जान पाउँनेछन् । तर हालसम्म सर्वोच्च भने गएको उदाहरण नभएको विभागका अर्का अधिकारी बताउँछन् । विश्वमा लोकप्रिय र नेपाली जानकार रहेका विश्वका लोकप्रिय र चर्चित ब्रान्डहरुको ट्रेडमार्क नक्कल गर्दा नेपाली तथा विदेशी विशेष गरी भारतीय व्यवसायीहरुले सामग्रीहरु भने उत्पादन गरिरहेको पाउन सक्छौं । उनीहरुले आर्थिक फाइदाका लागि मात्रै सो काम गर्दै आएको पाइन्छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com