सेयर खरिदमा कडाइ

एकै पटक २५ लाखको सेयर खरिद गर्नु असामान्य कारोबार


काठमाण्डौँ,भदौ २९

सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले सेयर बजारमा गरिएको लगानीको बारेमा आशंका गरिरहेको बेला कम्पनी रजिष्ट्रारको कार्यालयले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा कम्पनीहरुलाई एकै पटकमा २५ लाख रुपैयाँ वा वर्षमा एक करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री गर्नेको विशेष निगरानी गर्न निर्देशन दिने भएको छ । केही दिनअगाडि सम्पत्ति शुद्धीकरण विभागले सञ्चारकर्मीसँगको छलफलमा सेयरबजारमा गरिएको लगानी र सहकारीमा जम्मा हुने रकमको बारेमा गम्भीर प्रश्न उठेको जनाउँदै त्यस्तो लगानीबारे तत्काल छानबिन थाल्ने गरिएको बताएको थियो ।

विभागको उक्त भनाइपछि कम्पनी रजिष्ट्रारको कार्यालयले सेयर र अन्य कारोबारको थ्रेसहोल्ड (सीमा) निर्धारण गरी सीमा बढी एकै पटक हुने कारोबारमाथि विशेष निगरानी र कारोबार गर्नेको विविध पक्षबारे छानबिन गर्नुपर्ने निर्देशन तयार पारेको हो । कम्पनी रजिष्ट्रारको कार्यालयले तयार पारेको निर्देशनमा दश लाख वा सोभन्दा बढीको सेयर खरिद गर्दा वा अन्य कारोबार गर्दा सम्बन्धित कारोबार गर्ने व्यक्ति वा संस्थाबाट स्रोत खुलासा लिनुपर्ने प्रावधान पनि उल्लेख गरिएको छ ।

तोकिएको रकमभन्दा बढीको कारोबार वा सेयर खरिद एकै पटकमा खरिद गरेको भए त्यसबारे १५ दिनभित्र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा सम्पूर्ण विवरण दिनुपर्नेछ । त्यसरी जानकारी गराउँदा खरिद गर्ने वा कारोबार गर्ने व्यक्ति वा संस्थाको नाम, ठेगाना, कम्पनीको दर्ता नम्बर, शाखाहरु, कारोबारको स्वरुप र कारोबार गर्दा रकम भुक्तानी गरेको बैंक तथा खाता नम्बर, रकम, लगानी गर्दा उल्लेख गरेको रकमको स्रोतलगायतका विवतरण पनि वित्तीय जानकारी इकाइमा उपलब्ध गराउनुपर्नेछ ।
त्यसरी जानकारी दिने व्यवस्थालाई कम्पनी रजिष्ट्रारको कार्यालयले ‘सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा कम्पनीहरुलाई जारी गरिएको निर्देशन, २०७६’ राखेको छ । यो निर्देशन आउँदो बुधबार अर्थात् असोज १ गतेदेखि लागू हुनेछ । कम्पनी रजिष्ट्रारको कार्यालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७प.को उपदफा (२) र कम्पनी ऐन, २०६३ को दफा १६ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशन जारी गरी लागू गर्ने मिति तोकेको हो ।

निर्देशिकामा उच्च जोखिम भएका व्यक्ति वा कम्पनीको असोज १ गतेको नौ महिनाभित्र पहिचान अद्यावधिक गरिसक्नुपर्नेछ । त्यसपछि पनि कम्पनीहरुले उच्च जोखिम भएका कारोबार गर्ने व्यक्ति वा संस्थाको वर्षमा कम्तीमा एक पटक, मध्यम जोखिम भएका कारोबार गर्ने व्यक्ति वा संस्थाको दुई वर्षमा एक पटक, न्यून जोखिम भएका कारोबार गर्ने व्यक्ति वा संस्थाको हकमा तीन वर्षमा एकपटक पहिचान अद्यावधिक गर्नुपर्नेछ । यदि कम्पनीलाई जोखिममा असर पारेको लागेमा तोकिएको समयभन्दा अगाडि नै पहिचान अद्यावधिक गर्नुपर्नेछ । सम्पत्ति शुद्धीकरणमा गरेको कामको प्रगति नदेखिएमा कारबाही भोग्नुपर्ने भएकाले नेपालले विभिन्न कानुन, नियम र निर्देशन जारी गर्दै अवैध तरिकाले धन आर्जन गरेर त्यसलाई शुद्धीकरण गर्नेहरुलाई निरुत्साहित पार्ने प्रयास पछिल्ला समयमा गरिरहेको छ । निर्देशनमा उच्चपदस्थ व्यक्तिको कारोबारबारे पनि विशेष निगरानी गर्नुपर्ने उल्लेख गरेको छ ।

उच्चपदस्थ व्यक्तिहरुले पहुँचको आधारमा भ्रष्टाचार र अन्य गैरकानुनी काम गरेर अवैध धन आर्जन गर्ने र त्यसलाई विभिन्न क्षेत्रमा लगानी गरेर शुद्धीकरण गर्ने गरेको आशंका सम्पत्ति शुद्धीकरण विभागले गरेको छ । नेपालमा भ्रष्टाचारलाई अवैध धन आर्जनको मुख्य क्षेत्र मानिएको छ । त्यही भएर उच्चपदस्थ व्यक्तिहरुको कारोबारलाई राज्यले विशेष निगरानीमा राख्न लागेको हो । असोज १ गतेदेखि लागू हुनलागेको निर्देशनअनुसार उच्चपदस्थ व्यक्तिको अभिलेख उक्त व्यक्ति पदबाट अवकाश वा पदमुक्त भएको मितिले पाँच वर्षसम्म कायम राख्नुपर्नेछ । यो व्यवस्थाले गर्दा उच्च पदबाट अवकाश भएका व्यक्तिहरुको लगानीबारे सधैं प्रश्न उठ्ने सम्भावना बढेर गएको छ । व्यक्तिअनुसार कम्पनीहरुले त्यस्ता व्यक्तिको विवरण पाँच वर्षभन्दा बढी पनि राख्न सक्नेछ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com