इ–चुरोट उत्पादनमा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

काठमाण्डौँ,भदौ २९

संयुक्तराज्य अमेरिकाले सुगन्धित इ–चुरोट (विद्युतीय चुरोट) को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरुले देखाएका छन् ।एएफपीका अनुसार सुगन्धित इ–चुरोटको कुलतमा फसेका किशोर किशोरी युवावस्थामा पुगेपछि सुर्तीजन्य इ–चुरोट सेवन गर्नेतर्फ उत्प्रेरित हुन सक्ने देखिएको छ । पछिल्ला केही अध्ययनले सुगन्धित इ–चुरोटको सेवनकै कारण पनि बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ । ह्वाइट हाउसमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र प्रथम महिला मेलानिया ट्रम्प इ–चुरोटको कुलतमा फसेका कारण फोक्सोको गम्भीर बिरामी भएका एक किशोरका बाबुआमाको कथा सुनेर निकै भावुक भएको बताए ।

‘हामी दुवैले ती किशोरको व्यथा पढेका छौँ’, उनले भने, ‘हामीजस्तै धेरै मानिसले यो कथा पढेका छन् र यसको सेवनबाट मानिसहरुको ज्यान गइरहेको छ ।’ ह्वाइट हाउसमा राष्ट्रपतिका साथ अमेरिकी खाद्य तथा औषधि विभाग (एफडीए) का कार्यवाहक प्रमुख नेड सार्पलेस र अमेरिकी स्वास्थ्यमन्त्री अलेक्स अजर पनि सहभागी थिए । इ–चुरोटको नियमन गर्ने एफडीए अमेरिकाको शक्तिशाली सरकारी निकाय हो । त्यस अवसरमा स्वास्थ्यमन्त्री अजरले आगामी साता ई–चुरोटका बारेमा नयाँ नियमहरु ल्याइने बताए । ‘सुर्तीको स्वाद भएका बाहेक अरु सबै किसिमका सुगन्धित इ–चुरोट बजारमा अब बेच्न पाइनेछैन’, उनले भने । उनले यसका लागि व्यवसायीलाई ३० दिनको समयावधि दिइने जानकारी दिए ।

सन् २०१९ मै गरिएको एक अध्ययनमा माध्यमिक तहमा अध्ययन गर्नेमध्ये एक तिहाई विद्यार्थीले सुगन्धित इ–चुरोट सेवन गर्ने गरेको देखिएको छ । अधिकांश सेवनकर्ताले फलफूल, मेन्थोल वा मिन्ट (पुदिना)को स्वाद भएका इ–चुरोट रुचाएका थिए । तत्कालका लागि सुर्तीको स्वाद भएका ई–चुरोटमा प्रतिबन्धहरु नलगाए पनि २०२० को मेदेखि उत्पादकहरुले एफडीएबाट स्वीकृति लिनुपर्नेछ । उक्त समाचार सार्वजनिक भएलगत्तै अमेरिकामा च्याउ उम्रिएझैं फैलिएका इ–चुरोट उत्पादकमा छटपटी भएको छ । ग्रान्ड भ्यू रिसर्चका अनुसार सन् २०१८ मा विश्वभर १० अर्ब २० करोड मूल्य बराबरको इ–चुरोट उत्पादन भएको थियो ।

एफडीएको सर्वेक्षणमा समेटिएका इ–चुरोट सेवनकर्तामध्ये ४५० जनाभन्दा बढीले आफूहरु बिरामी परेको बताएका थिए । उनीहरुले आफूहरुलाई श्वास फेर्न कठिन भएको र छाती दुखेको जनाएका थिए । कतिपयलाई अस्पतालमा भर्ना गर्नु परेको थियो भने केहीलाई भेन्टिलेटरमा राख्नुपरेको थियो । एक जना बिरामीको बेहोस भएका कारण अस्पतालमा भर्ना गरिएको र होस खुलेपछि उनको फोक्सो प्रत्यारोपण गर्नुपर्ने अवस्था देखिएको चिकित्सकहरुले बताएका छन् । अमेरिकी रोग नियन्त्रण केन्द्रले इ–चुरोटको सेवन तत्काल बन्द गर्न मानिसहरुलाई आग्रह गरेको छ । केन्द्रले यस चुरोटका बारेमा अनुसन्धान थालिएको जनाएको छ । संयुक्तराज्य अमेरिकामा सन् २००६ देखि नै ई–चुरोट बजारमा देखिएको हो । परम्परागत सुर्तीसेवनको तुलनामा यसलाई निकै सुरक्षित मानिएको थियो । तर विज्ञहरुले इ–चुरोट पनि स्वास्थ्यका लागि हानिकारक रहेको चेतावनी दिइरहेका थिए ।

परम्परागत चुरोटमा पाइने ७ हजार किसमका रसायन ई–चुरोटमा नहुने भएपनि केही तत्वहरु निकै हानिकारक पाइएका छन् । इ–चुरोटको धूवाँमा धातु समेत पाइएको अमेरिकी संसद कंग्रेसमा सन् २०१८ मा बुझाइएको एक प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य समस्या निम्त्याउन थालेको यस इ–चुरोटका बारेमा अहिले अमेरिकी समाज र राजनीतिक नेताहरुले पनि चासो दिन थालेको पाइएको छ ।

राष्ट्रपति ट्रम्पको घोषणालाई अमेरिकाका दुवै दलले समर्थन जनाएका छन् । रिपब्लिकन पार्टीका प्रभावशाली नेता मिट रम्नी र डेमोक्र्याट पार्टीका सिनेट ह्वीप डिक डरबिनसहित धेरै डेमोक्र्याट नेताले राष्ट्रपतिको कदमको स्वागत गरेका छन् । अमेरिकी अर्बपति व्यापारी एवं न्युयोर्कका पूर्व मेयर माइकल ब्लुमबर्गले मंगलबार इ–चुरोट प्रतिबन्ध लगाउने अभियानमा सघाउन १६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले यस चुरोटलाई तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन् ।अमेरिकी बजारमा प्रमुख इ–चुरोट उत्पादक कम्पनी जूलले गरिरहेको विज्ञापनप्रति पनि सर्वत्र आक्रोश व्यक्त गरिएको छ । जूलले सूर्तिसेवन भन्दा इ–चुरोट हानिकारक नरहेको जिकिर गर्दै विज्ञापन गरेको थियो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com