काठमाण्डौँ,असोज ३
नेपालको उद्योग क्षेत्रमा सबैभन्दा बढी लगानी गर्ने पाँच मुलुकहरुमा भारत, चीन, अमेरिका, दक्षिण कोरिया र ब्रिटिस भर्जिन आइसल्याण्ड रहेको छ । यसरी लगानी गर्ने मुलुकहरुमा सबैभन्दा बढी विदेशी लगानी स्वीकृत भारतले गरेको छ भने त्यसपछि चीन (मेनल्यान्ड), चीन (हङकङ) र तेस्रो मुलुकमा भने संयुक्त राज्य अमेरिका रहेको उद्योग विभागले जनाएको छ ।विभागका निर्देशक प्रेम प्रसाद लुइँटेलका अनुसार भारत, चीन र अमेरिका मात्र नभएर नेपालको उद्योग क्षेत्रमा लगानी गर्न स्वीकृतिका लागि अग्रसरता देखाउने मुलुकहरुमा एसियाका दक्षिण कोरिया, जापान तथा युरोपका ब्रिटिस भर्जिन आइसल्याण्ड तथा खाडी मुलुक संयुक्त अरब इमिरेट्स समेत रहेका छन् ।
भारतीय व्यवसायीहरुले नेपालको उद्योग क्षेत्रमा हालसम्म एक खर्ब ४७ अर्ब ९ करोड ७१ लाख रुपैयाँ लगानी विभागबाट स्वीकृत गराएका छन् भने चीन (मेनल्यान्ड) ले एक खर्ब ३२ अर्ब ८५ करोड ५५ लाख लगानी स्वीकृत गराएका छन् ।
यस्तै हङकङले ३७ अर्ब ९८ करोड ७१ लाख, संयुक्त राज्य अमेरिकाले २२ अर्ब १५ करोड ५४ लाख, दक्षिण कोरियाले १७ अर्ब ४८ करोड ६६ लाख, ब्रिटिस भर्जिन आइसल्याण्डले १६ अर्ब ३० करोड ३२ लाख, सिंगापुरले १० अर्ब २८ करोड १८ लाख, जापानले सात अर्ब ६१ करोड ६६ लाख, क्यानडाले सात अर्ब ३४ करोड ८२ लाख विभागबाट लगानी स्वीकृत गरेको छ ।संयुक्त अरब इमिरेट्सले पाँच अर्ब ४२ करोड ७५ लाख, स्विट्जरल्याण्डले पाँच अर्ब ३१ करोड ४३ लाख, मौरिससले चार अर्ब ११ करोड ८० लाख, स्पेनले दुई अर्ब २८ करोड ८८ लाख, टर्कीले एक अर्ब ८४ करोड ७७ लाख रुपैयाँ लगानी विभागबाट स्वीकृत गरेको छ ।
भारतले सात ८४ वटा, चीनले एक हजार पाँच सय ४२ वटा, हङकङले सात सय ८४ वटा, दक्षिण कोरियाले तीन सय ५४ वटा तथा अमेरिका चार सय १३ वटा उद्योग स्थापना गर्ने भन्दै सो लगानी स्वीकृत गराएका हुन् । यस्तै जापानले दुई सय ७३ वटा, सिंगापुरले ५१ वटा बेलयातले आठवट गरी १५ मुलुकले करिब दुई हजारभन्दा बढी उद्योग स्थापना गर्ने भन्दै सो लगानी स्वीकृत गराएको विभागले जनाएको छ ।
कृषि तथा वन्यजन्य, ऊर्जामूलक, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक तथा पर्यटनमूलकलगायतका उद्योग स्थापना गर्ने भन्दै ती मुलुकले विभागमा विदेशी लगानी स्वीकृत गरेका छन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक प्रशान्त बोहोराका अनुसार भारतीय व्यवसायीहरुले विगत लामो समयदेखि नेपालमा व्यापार गर्दै आएकोले उनीहरुको लगानी नेपालमा देखिनु स्वाभाविक भएको बताए । ‘इतिहासमा समेत हामी नेपाल र भारतबीच व्यापार हुँदै आएको देख्छौं’, उनले आर्थिक दैनिकसँग भने, ‘यसमा हाम्रो भौगोलिक निकटता, खुल्ला सीमा, पारवहन सहजतालगायतले हुनसक्छ ।’विवादास्पद उत्तर कोरियादेखि अफ्रिकी मुलुकको पनि लगानीयस्तै पछिल्लो समय विवादको क्रममा परेको उत्तर कोरियाले समेत नेपालको उद्योग क्षेत्रमा लगानी गरेको विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार उत्तर कोरियाली व्यवसायीहरुले गत आर्थिक वर्ष (२०७५÷०७६) मा आठवटा उद्योग स्थापना गर्ने भन्दै २३ करोड ४८ लाख लगानी स्वीकृत गराएका छन् ।
उत्तर कोरियाले आणविक हातहतियार र क्षेप्यास्त्र प्रक्षेपण कार्यलाई निरन्तरता दिएको भन्दै संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले सन् १९९३ सालमा नाकाबन्दी लगाउने निर्णय गरेको थियो । उत्तर कोरियाले आणविक कार्यक्रमलाई निरन्तरता दिएसँगै सन् २००० मा परिषद्ले थप कठोर नाकाबन्दी लगाउने निर्णय गरेको थियो । नेपाल राष्ट्र संघको सदस्य राष्ट्र हुँदा राष्ट्रसंघको निर्देशनअनुरुप नेपालले उत्तर कोरियाको लगानी प्रतिबन्ध गर्ने तथा लगानी फिर्ता लैजान सम्बन्धित पक्षलाई हाल आएर पत्र काटेको छ ।
निर्देशक लुइँटेलका अनुसार विकसित तथा युरोपेली मुलुकमात्र नभएर अफ्रिकी मुलुकले समेत नेपालको उद्योग क्षेत्रमा लगानी गर्ने चासो दिएको बताए । विभागका अनुसार घाना, हंगेरी, नाइजेरियाजस्ता अफ्रिकी मुलुकले उद्योग क्षेत्रमा लगानी गर्ने भन्दै लगानी रकम स्वीकृत गराएका छन् । गत आवमा घानाका व्यवसायीहरुले एउटा उद्योग स्थापना गर्ने भन्दै ६० लाख लगानी प्रतिबद्धता जनाएको छ भने हंगेरीले १० लाख, नाइजेरियाले १६ लाख लगानी प्रतिबद्धता जनाएको छ ।विभागले जेठ महिनामा मात्र ७८ अर्ब ५६ करोड ६० लाख रुपैयाँ विदेशी लगानी स्वीकृत गरेको छ । कुल ३९ वटा उद्योग स्थापनाका लागि सो लगानी स्वीकृत गरेको विभागले जनाएको छ । विभागले हाल पाँच करोडदेखि छ अर्बसम्मको विदेशी लगानी स्वीकृत गर्दै आएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन २०७५ अनुसार पाँच करोडदेखि छ अर्बसम्मको लगानी स्वीकृति विभागबाटै हुने व्यवस्था गरेको छ । यसअघि विभागले विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन, २०४९ मा रही ५० लाखदेखि दुई अर्बसम्म मात्र विदेशी लगानी स्वीकृत गर्ने गथ्र्यो ।आर्थिक दैनिक बाट
२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...
आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।
Setodewal Marg, Kupondole, Lalitpur
Tel : +977-1-5554236
Fax : +977-1-5523181
Email : aarthik.dainik@gmail.com
Marketing Email : marketing.arthikdainik@gmail.com