लोकतन्त्रको दियो सधैँ बलिरहोस्

काठमाण्डौँ,असोज ३
नेपालको पानी बगेर भारत जान्छ
उताबाट बिजुली भएर फर्किन्छ
नेपालको चिराइतो भारत भित्रिएपछि
उताबाट सिटामोल भएर नेपाल आउँछ
नेपालको ढुङ्गा भारत जान्छ
उताबाट देउता भएर फर्किन्छ
नेपालको माटो नदी हुँदै भारततिर बग्छ
उताबाट सिन्दुर बनेर फर्किन्छ ।

नेपालको लालीगुराँस फूल भएर जान्छ
फर्किँदा जुस र पीयूष भएर फर्किन्छ
नेपालको यार्सागुम्बा अवैधरूपमा भारत भित्रिन्छ
उताबाट भियग्रा, जियग्रा र पेनेग्रा भएर नेपाल आउँछ
नेपाली जवानी केटी उता बेचिन्छे
फर्किँदा एचआईभी लिएर आउँछे
नेपाली केटा यौवन लिएर दरवान गर्न जान्छन्
फर्किँदा बूढो गोरुझैँ फर्किन्छन्
कति मूल्य चुकाइरहेछौँ हामीले
तर खोइ त्यसको हिसाब ?

नेपालका नेता दौरासुरुवालमा भारत जान्छन्
फर्किँदा धोतीकुर्थामा सजिन्छन्
जाँदा सक्कली टोपी
आउँदा नक्कली धोती
जाँदा छातिमा पहाड
फर्किँदा इन्डियन हाड
हामी दरवान, हामी चौकीदार, हामी कुल्ली
हामी बहादुर हामी वीर रे अन्तमा !

हामीले के साँच्चै नेपाल आमालार्ई माया गरेका छौँ त ?
हामीले कति उपयोग ग¥यौँ आफैँलार्ई ?
आज को रास्ट्रवादी ? को रास्ट्रघाती ?
भो कमसेकम सुहाउने कुरा त गरौँ !
होइन भने तिम्रै जस्ता कास्मिरी स्याउ चपाउने दाँत होइन
भुटेको मकै चपाउने पहाडी बङ्गारा हाम्रा पनि छन्
रातारात यसरी जङ्गे पिल्लर सारेर
हाम्रो नेपाललार्ई खोस्ने काम किन गरेको ?
हाम्रो पानी नभए तिमी काकाकुल
हाम्रो हिमाल नभए तिमी मरुभूमि
आत्मबल, आत्मगौरव ,
आत्मसात, आत्मसम्मान
हामीसँग पनि छ
तर, आज कोटीकोटी नेपालीले
सोच्ने बेला आएको छ कि ?
हामी कति सार्वभौम ?
हामी कति अखण्ड ?
हामी कति आत्मनिर्भर ?
हामी कति सफल रास्ट्र ?
हामी कति धनी र स्वाभिमानी ?

भारतबिना बाँच्न सक्ने अवस्था छ त ?
सियोदेखि दियोसम्म
धागोदेखि आगोसम्म
तेलदेखि सेलसम्म
उतैको चाहिन्छ हामीलार्ई
हामी कति स्वावलम्बी ?
भारत जिन्दावाद नभन्नुको विकल्प छ त हामीसँग ?
अथवा छिमेकी हुन् यिनी
मर्दापर्दा यिनै काम लाग्ने भए
सिमाना किन कोट्याइरहेको क्या ?
सिमाना किन वरवर सार्दै आको क्या ?

हिजो परिवर्तनका लागि जनगीत गाउनेहरू आज सत्ताको भजन गाइरहेछन् । हिजो निर्दललाई निर्दयीहरूको शासन सत्ता भनेर रगत छाद्ने गरि भाषण गर्नेहरू आज बहुदलीय ब्यावस्थामा भुडी पड्किने गरि अघाइरहेछन् । हिजोको बिरोध त आज धनी हुन पो रैछ। हिजोको असन्तुष्टि त आज करोडको गाडी चढ्न र आफन्तलार्ई जागीर र ठेक्का दिन पो रैछ । हिजोको रुवावासी त आज यिनै भोट दिने जनतालार्ई धेरै कर लगाउन पो रैछ । हिजो त कमसेकम ठेलागाडा धकेलेर परिवार पाल्ने हर्कजितहरू आनन्दले त निदाउँथे तर तिनैलार्ई आज करको करकरले चिथोरेको छ । तिनैलाई छ परिवारको चिन्ता । तिनैलाई छ देशको चिन्ता । यहाँ पेटभर भात खान नपाउनेलार्ई छ देशको चिन्ता । भुँडी हत्याउने त रास्ट्रवादको अभिनय मात्रै गर्छन् । परिवर्तन कसको लागि हो ? हिजो नाङ्ले पसल थाप्ने फूलमैया तामाङले बच्चालार्ई भरपेट खुवाएर सरकारी स्कुलमा त पढाउँथिन् आज तिनै फूलमायालाले थापेको नाङ्ले पसलत राज्यको कर तिर्न मात्रै ठिक्क छ । अर्बौँ कमाउनेले राज्यलार्ई कर तिरेका छैनन् । न्यायाधीश तिनै कर छल्नेलाई कर नतिर भन्छ उसकै पक्षमा मुद्दा फैसला गर्छ । कर छल्ने काला व्यापारीको पक्षमा मुद्दा फैसला हुँदा सरकार मौन बसिदिन्छ । झन् यो देशमा कर छल्ने कर्तुतहरूको मनोबल उच्च रहन्छ । नक्कली भ्याटबिल बनाएर राज्य छल्नेहरूले दोहोर सुविधा लिइरहेका छन् । को दुखी ? को गरिब ? को अपराधी ? को काला व्यापारी यति कुराको त हेक्का राख्देउन सरकार !

हरेक दिन सेयरमूल्यमा गिरावट आएको खबरले मलार्ई केही प्रभाव पार्दैन किनकि मसँग सेयर छैन । सिधै भन्नुपर्दा मसँग सेयर किन्ने पैसा छैन । सर्वहाराहरू सर्वोच्च पदमा पुग्नैका लागि यदि राजनीति गर्छन् भने ती सर्वहारा होइनन् ती कर्महारा हुन् धर्महारा हुन् । तिनले कहिल्यै जनताको गीत गाएनन् र गाउँदैनन पनि । मलार्ई सेयरमूल्यमा गिरावट आउँदा दुःख पनि लाग्दैन र मूल्य बढ्दा खुशी पनि लाग्दैन । सेयर कारोबार कस्ता मनुष्यले गर्छन् भनेर मलार्ई राम्रोसँग थाहा छ । सेयरमूल्य भनेको आधुनिक भौतिकवादी सहरीया नवधनाड्यहरूले कमाएको धनलाई वैधानिक बनाउने खेल मात्रै हो । अफिसको काम छोडेर पलपल मोबाइलमा सेयरको भाउ हेरेर बस्ने कर्मचारी देख्दा धिक्कार्न मन लाग्छ मलार्ई । त्यस्ता लठैतहरू जागीर छोडेर किन पूरै सेयर कारोबारमा लाग्दैनन ? तिनको सेयर घट्दा यता अफिसमा पो हल्ला र रुवावासी छ । कहिले उफ्राइ छ बुर्लुक्क बुर्लुक्क । भाउ बढेको दिन अफिस नै खाली पारेर चिया खान लैजाने कर्मचारीलाई । भाउ घट्यो भने दुई चार दिन अफिस नै नआउने । अहिले हरेक सरकारी र संस्थानका कार्यालयमा यो प्रवृत्ति हाबी भएको छ । अफिसको नुनदेखि घुनसम्म, घुसदेखि भुससम्म चपाउने तर नुनको इज्जत कहिले नगर्ने तिनै बज्रस्वाँठहरूले बिगार्छन् इमानदारीताको माहोल ।

घरबाट सिँगान पुछ्न नसकेर छोराले फोन गर्दा अर्थमन्त्रालयबाट फोन आयो भनेर हाकिमलार्ई तर्साउँदै अफिसबाट भाग्ने प्रवृत्ति आजसम्म पनि उस्तै छ । गणतन्त्र त्यस्तै मान्छेलार्ई आएको छ । निर्दलमा यिनै हाटा गरेर खान्थे आज गणतन्त्रमा पनि यिनैले हाटा गरेर खाइरहेका छन् । आज यस्तै मनुवाहरू हरेक अफिसका भाइरस हुन् । त्यस्ता भाइरसहरू नेपाललार्ई समृद्धितिर उक्लन नदिने रोग हुन् । ती आफूचैँ सप्पन्न छन् तर रास्ट्रलार्ई चाहिँ गरिब बनाउछन्, खोक्रो बनाउछन् । तिनले कहिले बुझेनन् कि नेपाल धनी भयो भने म पनि धनी हुन्छु भन्ने कुरा । फेरि तिनै लम्पटहरू रास्ट्रवादका कुरा गर्छन् । आफू केही नगर्ने । अरुले गरेको काममा बितृष्णा जनाउने । आफ्नै आङमा भैँसी नदेख्ने आर्काको भने धोतीको जुम्रा केलाउने यिनै सिल्ली सिल्पटहरूको आधिपत्य छ हाम्रोमा अझैसम्म । अनि यो परिवेशमा मुलुकको समृद्धिको कुरा गर्नु केवल कल्पना मात्रै हुने रहेछ ।
एकातिर जागीरेको पगरी त्यसमा पनि अफिसर अर्कोतिर भ्रष्टाचार गरेर कमाएको धन सेयरमा लगानी । कार्यालय आयो । हाजिर ग¥यो । एक÷दुई साथीलार्ई च्याप्यो अनि तिनीहरूलार्ई चियाखाजा खुवायो, आफ्नै बनायो । एक÷दुई छाक खाजा खाएसी ती खन्चुवाहरू पनि उसैको वरिपरि घुम्न थाल्छन् । सरकारमा भएका मन्त्री र समानुपातिक, आरक्षणमा परेका सभासदहरूको नाम लिँदै ती त मेरा आफन्त हुन् नि भन्ने भ्रम फैलाई तिनै आरक्षणमा परेका सांसद्को नाम बेचेर कार्यालयका सोझा कर्मचारीलार्ई प्रयोग ग¥यो । नेपालमा लोकतन्त्र आउनुभन्दा पहिले पनि फटाहाहरूको हालीमुहाली थियो र अहिले पनि तिनै फटाहाहरूकै हालीमुहाली छ । परिवर्तन चाहनेले परिवर्तनको कहिले महसुस गर्न सकेका छैनन् यो देशमा । जो अघाएका छन् खानेकुरा तिनैको अगाडि गएर थुप्रिन्छ यो कस्तो विडम्बना ?

परिवर्तन तिनलाई मात्रै आएको छ जो यो देशमा परिवर्तन कहिल्यै चाहँदैनथे । रोल्पेलीको आगनमा खुशी छाडिएका छैनन् । जुम्लेलीको आँखामा उस्तै छ भोकको आँसु र निराशाको शोक गीत उही पाराले बजिरहेको छ । पाँचथर हाङपाङ हायुको व्यथा उस्तै छ । ऋण गरेर मात्र चाड मनाउन पाउँछन् तिनले । केही कमाउन लाहुरे नै हुनुपर्ने । दरवानी नै हुनुपर्ने अवस्था आज पनि उस्तै छ । हिजो पञ्चायतकालमा इन्डियन आर्मीमा भर्ती हुन भनेर नेपाली युवाहरूलार्ई गल्लुवालले चक्रपथमा रगत छादुन्जेल उफ्राएको दौडाएको यही आँखाले देखेका थिए र आज पनि त्यही दृश्य देखिरहन्छु । हिजो ब्रिटिस आर्मीमा भर्ती हुन तछाडमछाड थियो आज त झन् लाहुरेको महत्व बढेर गएको छ । हाम्रो देशमा परिवर्तन आएको भए किन लाहुरेहरूको इज्जत यति धेरै दिनदिनै बढेर जान्थ्यो होला र ? लाहुरेमा भर्ती हुने प्रथा कायम नै छ । फरक त्यति हो कि पहिला गाउँलेको परियार दाइले काँधमा कल बोकेर आफूले कमाएका बिष्टहरूको घरघरमा गएर लुगा सिउँथे आज आफ्नैै घरमा टेलर खोलेका छन् । हिजो लुगा सिउने आज पनि त्यही लुगा सिउँदै छन् । पेशा परिवर्तन भएको छैन मात्रै काम गर्ने शैली र ढंग परिवर्तन भएको छ । साना व्यवसाय गर्नेको बरु विचार परिवर्तन भए तर ठूला नेता भन्नेहरूको दिमाग आजसम्म पनि पुरातन ढंगमै चलिरहेको छ । लोकतन्त्रको दियो सधैँ बलिरहोस् । लोकतान्त्रिक शासन व्यवस्थाको अरु कुनै दोस्रो विकल्प छैन र नहोस् पनि । हामीले चाहेको हामीले रोजेको शासन पद्धति यहि हो । तर जनता खुशी रहे मात्रै हो कुनै पनि शासन व्यवस्थाले स्थायित्व पाउनेछन् । जनताको खुशीमा नै निर्भर छ सरकारको आयु र शासन व्यवस्थाको भविष्य । जनताका लागि सरकार नै अभिवावक हो ।

सरकार नै दुःख बिसाउने स्थान हो । सरकारसँगै हो जनताले असन्तुष्टी पोख्ने पनि तर असन्तुष्टी पोख्यो भनेर उसलार्ई थुन्ने धम्क्याउने हतकडी लगाउने हिँड्न् डुल्न र उसको आवाज समेतलाई बन्देज लगाउने काम लोकतान्त्रिक सरकारले गरेको सुहाउँदैन । हिजो लोकतान्त्रिक पक्षधरलार्ई मारेको थियो निर्दयी पञ्चायत शासन व्यावस्थाले फेरि त्यही सिको आजको सरकारले पनि गरिरहेको छ । राजा हुन मन लागेर हो र अठार हजार नेपाली मारेर सत्तामा पुगेको कम्न्युस्ट सरकार ? यदि हो भने लोकतन्त्रको लागि लडाइँ लडेर रास्ट्रका लागि ज्यान दिने अमर आत्माले अवश्य सराप्नेछ । सबैसँग सबैको विचार मिल्दैन । मिल्नुपर्छ भन्ने जरुरी पनि छैन । विचार आ–आफ्नैै हुन्छन् । सोच भिन्न हुनुपर्छ । भिन्न सोच र चिन्तनको उपज नै हो आजको विकसित एक्काइसौँ सताब्दीको सघन यो रूप । एकै सोचको ऐँजेरुमा फुल्ने फूलहरू राम्ररी फक्रिँदैनन् । सोच जसले जस्तो राखे पनि देशको समृद्धिका लागि सबै नेपाली एक हुनुको विकल्प छैन । लोकतान्त्रिक विचारधाराभन्दा अर्को धारणा राख्नेलाई पनि सम्मान दिन सक्नु वा सम्मान गर्नु त्यो चाहिँ सबैभन्दा विकसित लोकतन्त्रको रूप हो ।

एउटा कुरा हामीले हेक्का राख्नु जरुरी छ कि सबै समान कोही कहिले हुन्नन् । कुनै पनि युगमा अपार समानताको परिव्याख्या हुन सकेको छैन । पाँच हजार वर्षअगाडि धर्मको नाश भयो भनेर अवतार लिने श्रीकृष्ण युगमा पनि सबै प्राणिमा समभाव थिएन । कृष्णले समानताको राज्य सस्थापना गर्नकै लागि महाभारत युद्ध रचना गरे । हिजो रामराज्यमा पनि समानताको कुरा छेउ लागेकै हो । लोक के चाहन्छ भन्ने कुरालाई गौण मानियो र शासकहरू आफ्नै इच्छाअनुसार चल्न थाले भने तिनले आफ्नै इतिहास बिगार्छन् । तिनै राम हुन् जसले आफ्नै भक्त सबरीको जुठो बयर पनि खाए अनि तिनै राम हुन् आफ्नैै सीताको पतिब्रतामा शंका लागेर आगोमा होमिन पनि बाध्य बनाए । यो लोकको लाज राखिदिनाका लागि थियो । त्यसैले हामीले इतिहासदेखि नै भन्दै आयौँ कि लोक सम्मतिको आधार नै प्रजातन्त्रको मुटु हो । संविधान मात्रै त केवल कोरा दस्ताबेज हो जतिबेला जनता दुःखी हुन्छन् । जनता सुखी र खुशी हुने संविधानका अनेक धारा र उपधाराले होइन । जनता खुशी हुने आधार त सरकारले प्रत्याभूत गरेको जनप्रिय कामले हो । जबसम्म सरकारले जनप्रिय काम गरिरहन्छ तबसम्म लोकतान्त्रीकरणको नुतन धाराहरू अवलम्बन भैरहन्छ । समाजमा सम्मानित भएर बाँच्न चाहन्छ हरेक मान्छे । त्यो सम्मान सहरमा सेयरमूल्य बढेर होइन जुम्लेली, हुम्लेलीले भरपेट भात खान पाउँदामा मिल्छ सरकारलार्ई पनि । अर्थमन्त्रीले सेयरमूल्य बढोस् भनेर भन्दा हुम्लाको गरिब टोपीको घेरा फाटेको हुम्लेलीलाई के फाइदा छ र ? सहरमा मात्र सम्पन्नताको दियो बालेर लोकतन्त्रको स्थायित्व संभावना नहोला । भूमिहीन कृषकसम्म राज्यको आँखा पुगेको खण्डमा लोकतन्त्रको दियो सदाझैँ बलिरहनेछ । सेयर दलालको पँुजी डुवानको चिन्तामा होइन गरिब गाउँलेका घर डुबानमा चिन्तित हुनुपर्छ अर्थमन्त्रीज्यू अनि मात्रै सबैले संविधान दिवसमा मनको उज्यालो बाल्नेछन् । सरकारलार्ई तीन करोड नेपालीको आशिर्वाद र सहयोग मिल्नेछ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com