नेपालमा साना उद्यमीहरू किन असफल हुन्छन् ?

काठमाण्डौँ,असोज ३
उद्यमी बन्ने सपना त धेरैले देख्छन् तर यथार्थमा थोरैको मात्र त्यो सपना पूरा हुन्छ । नेपालमा मात्र होइन विश्वव्यापी तथ्याङ्कलाई हेर्ने हो भने ९० प्रतिशत साना उद्यमीहरू व्यवसाय सुरु गरेको केही समयभित्र असफल हुन पुग्छन् । उद्यमशीलता फेसनले गर्ने कुरा होइन, प्यासनले गर्ने कुरा हो । जागीरमा काम धेरै भएर सजिलोका लागि व्यवसाय गर्नेको भीड ठूलो छ । व्यापार त त्यस्तो व्यक्तिले गर्ने हो जसलाई जागीरमा हुने थोरै काम र सानो जिम्मेवारीले चित्त बुझ्दैन । जागीरमा दिनको आठ घण्टा काम गरे पुग्छ भने एउटा उद्यमी बन्न कम्तीमा पनि दिनको १६ घण्टा खटिनु पर्छ । त्यस्तो व्यक्ति जसलाई दिनको १६ घण्टा खटिँदा पनि काम कामजस्तो नलागेर खेलजस्तो लाग्न थाल्छ अनि मात्र उद्यमशीलता सार्थक हुन्छ ।

व्यापार पैसा कमाउन गर्ने कुरा होइन, यो त पैसा बनाउन गर्ने कला हो । पैसा कमाउनु र पैसा बनाउनुमा धेरै फरक छ । पैसा त जागीरेले कमाउँछ । त्यो पनि आफू र आफ्नो परिवारको लागि मात्र । एउटा उद्यमीले त पैसा बनाउँछ जहाँ आफूले मात्र नभएर अन्य धेरैले लाभ लिन सक्छन् । एउटा व्यवसाय सफल भएमा त्यहाँका कर्मचारी, उपभोक्ता, समाज, सरकार र लगानीकर्ता सबैलाई फाइदा हुन्छ । त्यसैले भनिन्छ, एउटा सफल उद्यमीले पैसा कमाउँदैन, उसले त पैसा बनाउँछ ।

उद्यमीहरू आफू र आफ्नो परिवारको भविष्यलाई समेत जोखिममा राखेर आफ्नो सपनाको लागि अघि बढेका हुन्छन् । सुख र सुरक्षाको घेराबाट बाहिर निस्कन सक्ने, जोखम लिन सक्ने, परिस्थितिअनुसार आफूलाई बदल्न सक्ने, दूरदृष्टि भएको, मेहनती, ऊर्जाशील, क्रियाशील, हिम्मतिलो र कुशल नेतृत्वकर्ता नै एउटा सफल उद्यमी बन्न सक्छ । उद्यमशीलता भाग्यले बनाउने कुरा होइन । उद्यमशीलता कसैको दया, माया र कृपाले बनाउने कुरा होइन । यसको लागि त सही कर्म, सही समय र सही मार्गको चयन गर्न सक्नुपर्छ । धेरैजसो अवस्थामा साना उद्यमीहरू पुँजीको अभावले गर्दा लामो समयसम्म व्यवसाय टिकाउन नसकेर असफल हुन्छन् । तर कतिपय अवस्थामा भने पुँजी पर्याप्त हुँदा पनि कमजोर व्यवस्थापन, अपारदर्शिता, अदूरदर्शिता, संस्थापकहरूबीच वैचारिक मतभेद, निर्णयमा गैरजिम्मेवारीपना, स्पष्ट लक्ष्यको अभाव, जोखिम लिन तत्पर नहुनु, अतिरिक्त मेहनत नगर्नु, व्यक्तिगत र व्यावसायिक जीवनबीचको सन्तुलन मिलाउन नसक्नु, समयको उचित व्यवस्थापन नगर्नु, धैर्यता गुमाउनु र कम्पनी बनाउनेभन्दा पनि आफू बन्नेतिर बढी ध्यान केन्द्रित गर्नाले व्यवसाय कमजोर हुन पुग्छ ।

क्तिगत र आन्तरिक कारण धेरै हदसम्म जिम्मेवार भए पनि कहिलेकाहीँ केही गर्छु भन्ने अठोट र हौसला लिएर हिँडेका उद्यमीहरूमा बाह्य कारणले गर्दा पनि व्यवसाय धरापमा परेको देखिन्छ । बाह्य कारणहरूमा कमाजोर अर्थतन्त्र, राजनीतिक अस्थिरता, प्रशासनिक झन्झट, पूर्वाधारको अभाव र भ्रष्ट नियामक निकायले गर्दा उद्यमीहरूमा एक खालको निराशा छाउने गरेको छ । सरकारले यस्ता समस्याहरूलाई समयमै पहिचान गरी समाधानतर्फ अघि बढ्नुको विकल्प छैन । साथै एन्जल इन्भेष्टर, भेन्चर क्यापिटल र बैंक तथा वित्तीय संस्थाहरूलाई पनि साना उद्यमीहरूमा लगानी गर्न प्रेरित गर्नुपर्छ ।

कति उद्यमीहरूलाई भने आफ्नो वस्तु तथा सेवाको गुणस्तर बढाउनुभन्दा पनि प्रचार–प्रसार धेरै गर्न सकेमा सफल भइन्छ भन्ने भ्रम छ । विज्ञापन र प्रचार–प्रसारमा धेरै पैसा खर्च गर्दैमा व्यवसाय सफल हुने होइन । त्यसो त सन २००९ मा सुरु भएको सोसल इ–कमर्स प्लेटफर्म ‘सगुन’ को चर्चा त्यो समयमा सगरमाथाको शिखरमा पुगेको थियो । चर्चित हुँदैमा र मिडिया कभरेज हुँदैमा कुनै एउटा प्रडक्ट सफल हुन्छ भन्ने होइन । झन् सोसल इ–कमर्स प्लेटफर्म त अझ संवेदनशील हुन्छ । उपभोक्ताहरू अति नै सरल, सहज र सुरक्षित प्लेटफर्म खोजिरहेका हुन्छन् । जब कुनै वस्तु तथा सेवाले उपभोक्ताको समस्यालाई समाधान गर्न सक्दैन र उपभोक्ताको अनुभवमा उत्साह छाउन सक्दैन तब त्यो जति नै चर्चा किन नहोस् एक न एक दिन असफलता हात लागिहाल्छ ।

नेपालमा साना उद्यमीहरू हजारौँको संख्यामा असफल भएका छन् । पछिल्लो समय च्याउझैँ उम्रेका अनलाइन सपिङ कम्पनीहरू त झन् लगभग धेरै असफल भएका छन् । ठूलो लगानीको आडमा ‘दराज डट कम’को भने बजारमा राम्रै उपस्थिति छ । त्यसैगरी अनलाइन पत्रपत्रिकाहरू पनि सयौँको संख्यामा छन् तर नाम र दाम चलेका भने अांँैलामा गन्न सकिने मात्र छन् । बजारमा तिनै व्यवसाय सफल भएका छन् जसलाई ठूला व्यावसायिक घरानाको साथ मिलेको छ । यसको पछाडि पुँजी मात्र नभएर अन्य महत्वपूर्ण कारणहरू पनि छन् । जस्तो कि ठूला र अनुभवी व्यवसायीहरू लगानी गर्नुभन्दा पहिला गहिरो अध्ययन गर्छन् र एक पटक लागानी गरिसकेपछि उक्त कम्पनीलाई सिस्टममा चलाउँछन् । उनीहरू पैसा लागनी गरेर मात्र छोड्दैनन् त्यस कम्पनीको सबै गतिविधिमा लगातार निगरानी राख्छन् । नेपालका ठूला व्यवसायीहरू समयको अभावमा पनि आफूले लगानी गरेका सबै कम्पनीमा सुक्ष्म निगरानी राख्छन् भने एउटा सानो उद्यमीले आफ्नो व्यवसायलाई कति ख्याल गर्नु पर्ला । यो त सबै स्टार्टअपले सोच्ने कुरा हो ।

कतिपय साना उद्यमीहरू आफूले गरेको व्यवयायको नीतिगत व्यवस्था, कर प्रणाली र प्रशासनिक प्रक्रियाको कत्ति पनि ज्ञान लिन चाहँदैनन् । उनीहरू आफूलाई एक स्थापित उद्यमी सम्झेर सबै कुरा कर्मचारीमा भर पर्दा व्यवसायको रणनीतिक पक्ष कमजोर हुन पुग्छ । एउटा सानो उद्यमीले सुरु–सुरुका दिनमा अफिसका सबै काम आफैँले गर्न हिच्कीचाउनु हँुदैन । जब कारोबार धेरै हुन्छ अनि मात्र कर्मचारी थप्दै जाने हो तर यहाँ त एक पटक लगानी गर्ने र त्यही कम्पनीको पैसामा सुटपाइन्ट लगाएर पाँचतारे होटलका सेमिनारहरूमा भाग लिन जाने, ठूलाठूला कुरा गर्ने र फोनमा कर्मचारीलाई थर्काउने प्रवृत्ति छ । सेमिनारहरूमा भाग लिनु नराम्रो होइन तर व्यवसाय सुरु गर्न पाएको छैन, सिस्टम बसाल्न सकेको छैन, कर्मचारीलाई नियममित तलब दिन सकेको छैन तर आफू भने प्रमुख कार्यकारी अधिकृत हुँ भन्दै ठूला कुरा गर्दै हिँड्ने हो भने व्यवसायलाई अगाडि बढाउन कठिन हुन्छ । एउटा उद्यमीले त हरेक कामको नेतृत्व गर्न सक्नुपर्छ । अरुलाई मार्गनिर्देशन गर्न सक्नुपर्छ । अन्य कर्मचारीभन्दा आफू धेरै समय खटिनु पर्छ । आफूले नखाएर भए पनि कर्मचारीलाई खुवाउनु पर्छ, आफू रोएर भए पनि अरुलाई हँसाउनु पर्छ । किनकि एउटा उद्यमी परिवर्तनको लागि बाँचेको हुन्छ, आफ्नो मात्र नभएर अरुको पनि सपना पूरा गर्न बाँचेको हुन्छ ।

कतिपय युवाहरू त उद्यमी बन्ने इच्छाशक्ति नहुँदा पनि अरुको देखासिकीमा व्यवसाय सुरु गर्छन् । अरुको लहैलहैमा लागेर, लाखौँको जागीर छोडेर, मिले जति सबै साथीभाई र इष्टमित्रसँग ऋण लिएर कम्पनी सुरु गर्छन् । कतिपयले त आफू बस्ने घर नै धितो राखेर ऋण लिन्छन् । तर पूर्वतयारीबिना अरुको देखासिकीमा व्यवसाय सफल हुनै सक्दैन । एउटा गाडी चलाउन त एक महिनाको अभ्यास चाहिन्छ भने एउटा व्यवसायलाई सफलतापूर्वक चलाउन कति ज्ञान, सीप, अनुभव र दक्षता चाहिएला ? त्यसको कुनै अनुमान नगरी सिधै उद्यमशीलताको समुद्रमा हामफाल्ने व्यक्तिहरू आफू मात्र डुब्दैनन् अरुलाई पनि डुबाउँछन् । अचम्मको कुरा त, त्यसरी असफल भइसक्दा पनि उनीहरूमा अझै चेत पलाउँदैन । उनीहरू असफलताको जिम्मेवारी लिनै चाहन्नन् र अरुलाई दोष दिएर उम्कन खोज्छन् । कोही भन्छन् पार्टनरले धोका दियो, कसैलाई परिवारले, कसैलाई बैंकले, कसैलाई लगानीकर्ताले, कसैलाई कर्मचारीले त कसैलाई उपभोक्ताले । यसरी आफू असफल हुँदा अरुलाई दोष दिनेले कहिले पाठ सिक्ला । जबसम्म विगतका गल्ती र कमजोरीलाई आत्मसात गरेर पाठ सिकिदैन तबसम्म कहिल्यै सफलता प्राप्त गर्न सकिँदैन । अझ व्यवसाय गर्ने व्यक्तिहरूमा त जिम्मेवारी लिने र नेतृत्व गर्ने क्षमता अझ धेरै हुनुपर्छ । अरुलाई दोष दिएर असफलतालाई पन्छाउनु भनेको फेरि अर्को असफलताको ढोका ढक्ढकाउनुजस्तै हो ।

व्यवसाय गर्दा कहिले सफल भइन्छ त कहिले असफल । असफल भइयो भनेर कहिल्यै हरेश खानु हुँदैन । असफलता पनि आफैँमा एउटा उपलब्धि हो किनकी कोही मानिस असफल हुन्छ भने उसले केही न केही त सुरुवात गरेको रहेछ भन्ने बुझिन्छ । केही पनि नगर्ने मानिस चाहेर पनि असफल हुन सक्दैन । नेपाली उखानै छ कि, घोडा चढ्ने लड्छ । तर धैर्यताको अभावमा धेरै जसो उद्यमीहरू असफलतालाई सिकाइभन्दा पनि भोगाइको रुपमा लिन्छन् र निराश हुन्छन् । यदि आफू हिँडेको बाटो ठीक छ भने समय आएपछि अवश्य गन्तव्यमा पुगिन्छ तर त्यसको लागि निरन्तर मेहनत, गहिरो आत्मविश्वास र धैर्यता चाहिन्छ । नेपालमा पनि यस्ता धेरै व्यवसाय छन् जो लामो समय घाटा सहेर पनि आफूलाई बचाई राख्न सक्षम भए र अहिले आएर राम्रो व्यवसाय गरेका छन् । उदाहरणको लागि विभिन्न होटलबाट खाना सप्लाइ गर्ने ‘फुडमान्डु’ सुरुको चार वर्षसम्म घाटामा थियो तर अहिले राम्रो अवस्थामा छ । त्यसैगरी सुरुको पाँच वर्षसम्म घाटा सहेको ‘सस्तो डिल डट कम’ अहिले नाफामा गएको छ । यस्ता अरु पनि साना कम्पनीहरू छन् जो सुरु–सुरुमा घाटा सहेर पनि आफ्नो कारोबार बन्द गरेनन् र अहिले बजारमा स्थापित भएका छन् । साना व्यवसाय मात्र नभएर अहिले देशकै ठूला व्यापारिक घरानाहरूको पनि सुरुवात संघर्षमै बितेको थियो । भाटभोटेनीका संस्थापक मिनबहादुर गुरूङ, आइएमई गु्रपमा अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रभु गु्रपका अध्यक्ष देवीप्रकाश भट्टचन, हिमालयन जाभाका संस्थापक गगन प्रधान, पूर्व एनआरएन अध्यक्ष जीवा लामिछाने, र अष्टे«लियाकै ८१औँ धनी शेष घले यस्ता पात्रहरू छन् जो कुनै पैतृक सम्पत्तिबिना खाली हात व्यवसाय सुरु गरेर आज ठूला व्यवसायी बनेका छन् । तसर्थ साना उद्यमीहरूले पनि उहाँहरूबाटै प्रेरणा लिएर अघि बढ्नुपर्छ र सानातिना समस्याहरूबाट विचलित नभई आफ्नो लक्ष्यमा केन्द्रित हुनुपर्छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com