Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रिय गौरवका आयोजनाको शीघ्र सञ्चालन तथा कार्यान्वयनलाई प्राथमिकता

राष्ट्रिय गौरवका आयोजनाको शीघ्र सञ्चालन तथा कार्यान्वयनलाई प्राथमिकता


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणअन्तर्गत रहेका राष्ट्रिय गौरवका आयोजनाको शीघ्र सञ्चालन तथा कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् ।

प्राधिकरणको महानिर्देशकमा नियुक्त भएका अधिकारीले बिहीबार बबरमहलस्थित प्राधिकरणको मुख्यालयमा पदभार ग्रहण गर्दै उनले निर्माणसम्पन्न भई सञ्चालनको तयारीमा रहेको भइरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटै सञ्चालनमा ल्याउने बताए । यस्तै निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चाँडो निर्माणसम्पन्न गरी सञ्चालनमा ल्याइने तथा बाराको निजगढमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बाँकी प्रक्रिया सकेर शीघ्र निर्माण अघि बढाइने बताए । ‘गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याइने र निजगढ विमानस्थलको निर्माण प्रक्रिया यथाशक्य अघि बढाउँछौँ’, उनले भने ।

यसैगरी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरीकरण गर्दै पूर्ण क्षमतायुक्त अन्तर्राष्ट्रिय मापदण्डको रूपमा विकास गर्नुका साथै देशका अन्य आन्तरिक विमानस्थलको पनि सुदृढीकरण र हवाइ सुरक्षाका विषयमा ध्यान केन्द्रित गर्ने बताए । गत सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले अधिकारीलाई चार वर्षको लागि प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको थियो । प्राधिकरणमै ११औँ तहका अधिकारी राष्ट्रिय गौरवका आयोजनाको आयोजना प्रमुखको रूपमा कार्यरत थिए ।

सिभिल इन्जिनियरको रूपमा सातौँ तहमा प्रवेश गरेका अधिकारीले आठौँ तह हुँदै एकै पटक ११औँ तहमा नाम निकालेर उपमहानिर्देशक बनेका थिए । यसअघिका महानिर्देशक राजकुमार क्षेत्रीले उमेर हदका कारण अवकाश लिएपछि झन्डै एक महिनादेखि महानिर्देशक पद रिक्त थियो । निमित्त महानिर्देशकको जिम्मेवारी प्राधिकरणकै १२औँ तहका उपमहानिर्देशक प्रेमनाथ ठाकुरलाई दिइएको थियो । महानिर्देशक अधिकारीले संस्थागत सुदृढीकरणका लागि प्रभावकारी काम गर्ने र सम्पूर्ण स्रोत साधनको भरपुर प्रयोग गरिने बताए । उनले प्राधिकरणको भूमिकालाई थप सबलीकरण गर्दै हाल बेहोरिरहेका समस्याको निकासका लागि सक्दो पहल गर्ने बताए ।

प्राधिकरणलाई विभाजन गरी नियामक र सेवा प्रदायक बनाउने गरी भिन्ना–भिन्नै विधेयक तयार गरी संघीय संसद्मा पेस गरिएको छ । युरोपी युनियन (इयू)को सुरक्षा चासोलाई मध्यनजर गर्दै संस्थागत संरचना सुधारको प्रक्रिया अघि बढाइएको छ । ईयूले अहिले पनि उसको आकाशमा नेपाली हवाइ जहाज उडानमाथि प्रतिबन्ध लगाएको छ । विगत सात वर्षदेखिको उडान प्रतिबन्धले नेपाली जहाज युरोपका आकाश भएर उड्न पाउँदैनन् । प्राधिकरणको संरचना परिवर्तनको प्रक्रिया अघिबढेसँगै प्राधिकरणभित्रका कर्मचारीले विरोध जनाउँदै आएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया