म्याद गुज्रेको करिब डेढ वर्षमा पनि पुलको काम अधुरै

 

खेमराज अधिकारी
खोटाङ, असोज १४
ठेकेदारको चरम ढिलासुस्तीले जिल्लास्थित पंखुखोलाको पुलको निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने निर्धारित समयावधि गुज्रेको करिब डेढ वर्ष हुन लाग्दासम्म अधुरै रहेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–चखेवाभञ्ज्याङ–दिक्तेल खण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ को बुवालुङ र लामिडाँडा जोड्ने पंखुखोलाको मोटरेवल पुल म्याद गुज्रेको वर्षदिन बितिसक्दा समेत दाँयाबाँया दुईवटा पिल्लर उठाउनेबाहेक अरु प्रगति हुन सकेको छैन् ।

२०७५ साल असार मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्नेगरी ४० मिटर लम्बाइको मोटरेवल पुल ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सनले जिम्मा लिएको थियो । सडक विभागको दुई करोड २९ लाखको लागतमा २०७२ साल असोज सात गते ठेक्का सम्झौता गरेको थियो । सडक विभाग र ठकेदारबीच भएको तत्कालीन सम्झौताअनुसार १५ महिना अगाडि अर्थात् गत २०७५ साल असारभित्रै उक्त पुलको निर्माणकार्य सम्पन्न गरिसक्नुपर्ने थियो । ठेकेदारले पुलको निर्माण कार्य सुरु गरेको यतिखेर चार वर्ष पुग्न आँटेको छ ।

पुलको दुवैतर्फ पिलर उठाउने काम सकेलगतै बाँकी काम अधुरै छाडेर त्यसपछि निर्माणस्थलमा ठेकेदार नदेखिएको स्थानीयवासीले बताएका छन् । पुल अलपत्र छाडेर महिनौदेखि सम्पर्कविहीन बनेको उक्त ठेकेदार कम्पनीलाई कारबाहीको प्रकृयामा लगिने भएपछि गत चैतमा पुल निर्माणलाई निरन्तरता दिने प्रतिबद्धता गरेसँगै काममा फर्किसकेको उक्त सडकखण्ड हेर्ने पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय धुलिखेलका इन्जिनियर दिपक खड्काले बताए । उनले भने, ‘जेठ तेस्रो हप्ताबाटै काममा फर्किएको ठेकेदार कम्पनीले पुल निर्माणको कार्यलाई निरन्तरता दिन थालेको छ, हाल पुलको ४० प्रतिशत काम सकिएकाले पुल ढलानको ६० प्रतिशत काम मात्रै बाँकी छ, ठेकेदारले कामलाई तीव्रता दिए पुल सम्पन्न गर्न धेरै समय लाग्दैन ।’ खड्काका अनुसार ठेकेदारले काम सुरु गरिसके पनि लगातारको वर्षाले निर्माण कार्यमा अवरोध भइरहेको छ ।

ठेकेदार कम्पनीले आगामी पुससम्ममा पुल निर्माण कार्य सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाएको छ । यद्यपि स्थानीयले भने निर्माणस्थलमा निर्माण सामग्री थुपार्नेबाहेक अन्य काम खासै नदेखिएकाले ठेकेदारको ढिलासुस्ती कायमै रहेको बताएका छन् । सो कम्पनीले यसअघि नै ४० प्रतिशत भुक्तानी लगिसकेको जनाइएको छ । भोजपुर–दिक्तेलका लागि प्रमुख तथा छोटो दुरीको मानिएको मध्यपहाडी लोकमार्गमा पर्ने पंखुखोलामा पुल निर्माणमा ढिलासुस्ती हुँदा वर्षायाममा भोजपुर–चखेवाभञ्ज्याङ–दिक्तेल सडकखण्डमा आवतजावत गर्ने यात्रु तथा सवारी साधनहरू जोखिम मोलेर खोला पार गर्न बाध्य छन् । मध्यपहाडीका लोकमार्गमा पर्ने अधिकांश खोलाहरूमा पुललगायत आवश्यक संरचना निर्माण भइसके पनि जोखिमपूर्ण मानिएको पंखु खोलामा हालसम्म पुल निर्माण नसकिँदा यो सडकखण्ड हिउँदभर सञ्चालन भए पनि वर्षा लागेसँगै बन्द हुने बाध्यता रहेको छ ।

पुल निर्माणमा व्यापक ढिलासुस्ती गरेका कारण जिल्लामा उक्त ठेकेदार कम्पनी आलोचित हुँदै आइरहेको छ । यस्तै सोही सडकखण्डमा पर्ने भुल्के खोला, मेवा खोला, छेपेखोला र भालु खोलाको पुल कहिले सुरु हुन्छ भन्ने अत्तोपत्तो छैन । उक्त खोलाहरूमध्ये भुल्के खोलाको पुलले धार्मिक तथा पर्यटकीय स्थल भुलभुले देउधामलाई असर पुग्ने देखिएपछि पुनः डिजाइनका कारण ढिलाइ भएको छ । मेवा, छेपे र भालुखोलाको पुल पनि डिजाइनको प्रकृयामा रहेकोले केही महिनापछि ठेक्का खोलिने स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com