दशैं : सन्दर्भ र सम्झना

उमेश राउत
घरभरि मीठो परिकार, रङ्गीचङ्गी नयाँ लुगा, निधारभरि टिका अनि शिरमा जमरा, आकासभरि चङ्गाहरू अनि सबैको हातमा त्यसको डोरी, चारैतिर हरीयाली, माइत, मावल अनि ससुराली जाने र पाहुनाहरूको हतारो, पिङमा मच्चिएका रमाइला क्षण । यी र यस्तै बिम्बहरूले हाम्रो मानस्पटलमा दशैँको याद दिलाउँछ । सबैका घरघरमा खुशी र उमङ्ग बोकेर वर्षदिनमा आउने नेपालीहरूको महान चाड बडादशैँले यतिबेला चारैतिरबाट घेरिसकेको छ । साँच्चिकै वडादशैँ खुशी र उमङ्गको सिङ्गो प्याकेज नै हो भन्दा पनि फरक नपर्ला ।

दशैँ नेपालीहरूको प्रमुख चाड हो । राष्ट्रिय चाडको रूपमा मनाइने यो चाड हिन्दु धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाको दिनदेखि नवमीसम्म शक्तिको आरधना गरी दशौँ दिन विहान दशमीका दिन टिका, जमरा र प्रसाद ग्रहण गरेपछि सकिन्छ । तर मान्यजनसँग टिका र जमराको आदनप्रदान भने पूर्णिमाको दिनसम्म गर्ने र मनाउने गर्छन् । आश्विन शुक्ल प्रतिपदा घटस्थापनाको दिन जमरा राखेपछि नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरकफरक देवीहरूको पूजा हुन्छ ।

सत्य युगमा महिषासुर नाम गरेको दैत्य सम्राटले देवताहरूको राजा इन्द्रलाई जितेर स्वर्गमा राज्य गरेपछि देवताहरूमाथि आतङ्क मच्चिन थाल्यो । देवताहरू डराएर ब्रम्हाको शरणमा गए । ब्रम्हाको सल्लाहअनुसार विष्णुसहित देवताहरू महादेवको शरणमा पुगे । सबै देवताहरूको छलफलपछि सबैका शक्तिपुञ्जहरू एकतृत भई शक्तिस्वरूपा नवदुर्गा भगवतीको रूप धारण ग¥यो । दैत्यसँग नवौँ दिनसम्म भएको युद्धमा नवदुर्गा भगवतीले सण्ड, मुण्ड र रक्तबीजसहित महिषासुरको बध गरिन् । अनि दशौँ दिनमा विजय उत्सव मनाए । त्यो समय आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म परेको थियो भन्ने कुरा देवी पुराणमा उल्लेख छ ।

त्यस्तै गरी अर्को किम्बदन्तीअनुसार राम र रावणको युद्धमा रामले दशटाउके रावणको बध गरेपछि सहस्र टाउके अहिरावण र महिरावणको समेत बध गर्ने प्रतिज्ञाअनुसार भएको घमासान युद्धमा रामसमेत उनका भाइहरू मुर्छित भए । यस्तो अवस्थामा नवदुर्गा भगवतीको रूप धारण गरी सहस्र टाउके रावणहरूको बध गरिन् । त्यो दिन पनि आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नवमीको दिन नै परेको थियो । अनि दशमीको दिनलाई विजय उत्सवको रूपमा मनाएका थिए ।

यी र यस्तै ऐतिहासिक तथा सामाजिक अस्तित्व बोकेर आएको दशैँको सुरुवात कहाँ र कहिले भयो भन्ने कुरा एकिन नभए पनि यसको इतिहास प्राचीन कालदेखि नै रहिआएको छ । सायद सबैलाई जोड्ने आस्थाको केन्द्र भएर होला हरेक वर्ष आउने दशैँ शब्दले मात्र पनि हामीलाई जुरुक्कै बोकेर हामीले मनाएका दशैँहरू विशेष गरेर बाल्यकालमा लगिदिन्छ । त्यो निर्दोष क्षण बालपन जहाँ नयाँ वर्षको पात्रो आएदेखि नै दशैंको दिनगन्ती सुरु हुन्थ्यो र हाम्रा सारा गफहरू दशैँकै केद्रमा घुमेका हुन्थे ।

परदेशबाट को–को घर आउने, टिकट कहिले खुल्छ, बाटोसम्म परदेशीहरूलाई लिन को जाने, नयाँ लुगा कस्ता आउने होलान्, कुन दिन मामाघर जाने, यसो गर्ने, उसो गर्नेलगायत घर रङ्ग्याउन माटो कमेरोको जोहो गर्ने, कुन खसी दशैँलाई राख्नेदेखि लिएर त्यसका लागि छुट्टै किलाको व्यवस्था हुने गथ्र्यो । लाग्थ्यो गाउँघरमा सबैजना दशैँकै लागि दुःख गरिरहेका छन् । सबैको पर्खाइ दशैँ हो । वर्षभरिका सबै कामको थकान र पीडा भुलेर सबैजना दशैँको पर्खाइमा छन् ।

नेपाल कृषि प्रधान देश हो । किसानले आफ्नो खेतबारीबाट बर्खे अन्नबाली थन्क्याएर घर भरिपूर्ण बनाएका हुन्छन् । खेतबारी हिउँदे बालीले हराभरा हुन्छ । अझ धान र कोदोको हराभरा बेग्लै किसिमको हुन्छ । हिमालतिरका डाँडाहरू हिउँले बिस्तारै भरिन थाल्छन् । हल्का चिसो मौसमको सुरुवातसँगै धान र कोदोको हरियाली नै दशैँको सङ्केत हो जस्तो मलाई अझै पनि लाग्ने गर्छ । यो क्षण किसानको लागि महत्वपूर्ण र अत्यन्त खुशीको क्षण हो । यही खुशीमा अरु खुशीहरू थप्न आउने दशैँ नेपालीहरूको लागि साँच्चिकै ठूलो उत्सव बनेर आउँछ ।

वर्षभरि अन्य काममा व्यस्त रहेर घरको स्याहार गर्न नभ्याउनेहरू पनि यस क्षणलाई सकेसम्म भव्य बनाउन घरमा अनेकौँ रङ्गले रङ्ग्याउनेदेखि लिएर पोत्ने, बुट्टा भर्ने काम गर्छन् । कपडाहरू धुनेदेखि बाहिर भित्र सरसफाई गर्ने काममा बडो मजाले मेहनतका साथ लाग्ने गर्छन् । आफ्नो बलबुतोले भ्याएसम्म सबैले यस पर्वलाई भव्य र सभ्य बनाउन कुनै कसर बाँकी राखेको देखिँदैन । अरु कुनै पनि पर्वमा यस्तो देखिँदैन जसरी वडादशैँको स्वागत भएको हुन्छ । यो दशैँको एउटा भिन्नै विशेषता हो र दशैँप्रतिको एउटा सद्भाव, माया र यसको अत्यधिक महत्वको प्रमाण पनि हो ।

प्राचीनकालमा राजाहरू यस दिन विजयको प्राथना गरेर रणयात्राका लागि प्रस्थान गर्थे । यस दिन ठाउँठाउँमा मेलाहरू लाग्ने गथ्र्यो । अहिले पनि भारतमा रामलीलाको आयोजना हुन्छ । विजया दशमी भगवान रामको विजयको रूपमा मनाइयोस् वा दुर्गाले दैत्यमाथि विजय प्राप्त गरेको उत्सवको रूपमा मनाइयोस् जे भए पनि यो असत्यमाथि सत्यले विजय प्राप्त गरेको दिन शक्तिको पूजा गरिने शक्तिपूजाको पर्व हो । यहाँ नारीशक्तिको पूजा गरिन्छ । वर्तमान समय नारी र पुरुषको भेदभाव र यसका झमेलामा अड्केको छ । यसको लागि हाम्रा यस्ता ऐतिहासिक पर्वबाट पनि सिक्नुपर्ने कुराहरू धेरै छन् । कसरी लिने भन्ने कुराको मात्र अभाव हो ।

दशैँ हर्ष, उमङ्ग र उत्सवको मात्र पर्व नभएर यो सारा नेपालीहरूलाई जोड्ने सद्भाव र एकताको पुल हो । युगका सारा असत्यमाथि सत्यले विजय हासिल गर्ने दिन र पर्व हो । मनका सबै दुःख, पीडा, रिस, राग र एकअर्कामा रहेको द्वेषको भावनाजस्ता मनका नराम्रा कल्मषहरूलाई भुलेर भाइचारा, सद्भाव, खुशी र उमङ्गहरू बाँड्दै लिङ्गेपिङ र रोगटे पिङमा रमाउने अनि चङ्गाझैँ पुलकित भएर माथिमाथि स्वच्छ, शान्त र नीलो आकासमा उड्दै रमाउने दिन हो । वर्षदिनका थकानलाई बिसाउने शीतल चौतारी पनि हो । दाजुभाइ अनि दिदीबहिनीहरू आफ्ना दौँतेरीहरूसँग भेटेर एकअर्काका बारेमा सबै हालखबर बुझ्ने र बुझाउने समय पनि यही हो जसले सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउन मदत गर्छ ।

पछिल्लो समयमा बुझाइको विविधताले गर्दा हाम्रो पर्वका बारेमा विभिन्न किसिमका कुराहरू आइरहेका छन् । अझ भन्नुपर्दा दशैँ बहिस्कारका कुरा समेत बजारमा देखिएका छन् । त्यस्ता कुराहरूलाई सकरात्मक प्रयासद्वारा हामी सबैले सही अर्थमा बुझाउन सक्नुपर्छ । हाम्रा पर्वहरू कसैको लागि नराम्रो गर्न या कसैलाई दबाउन अनि कसैलाई भने एकदमै राम्रो गर्नका लागि हैनन् ।

कसैको हित अनि कसैकोे अहित गर्न पर्वहरू मनाइन्न र मनाइनु पनि हुँदैन । कोही व्यक्ति र झुण्ड (जो अरुलाई लडाएर त्यसमा आफू रमाउँछन् अझ भन्नुपर्दा रमिता हेर्ने गर्छन्)विशेषका निहित स्वर्थको पछि लागेर हामीले आफ्नो अस्तित्व बेच्नु कदापि राम्रो कुरा हैन । यस्ता पर्वहरू हाम्रो संस्कार र जीवन पद्धतिसँग जोडिएर युगौँयुगदेखि रहँदै आएका र रहिरहने भएकाले समयानुकूल हुनेगरी सुधार्दै लैजान सकिए पनि यसको विरुद्धमा नै जान भने सकिन्न र जानु पनि हुन्न । यो मानव जातिकै विशेषताभित्र नपर्ने कुरा हो ।

अरुका कुरा सुनेर हामी त्यसको पछि लाग्नुको सट्टा आफैँले आफैँलाई चिन्न सक्नुपर्छ । यो पर्व जाति, धर्म, सम्प्रदायविशेषको मात्र नभएर हामी सारा नेपालीहरूको साझा पर्व र हाम्रो अमूल्य सम्पत्ति हो । यसमा सबैको हक र अधिकार उत्तिकै छ । यसलाई हामीले जोगाएर जस्ताको त्यस्तै रूपमा हाम्रा भावि सन्ततिहरूलाई सुम्पनु हाम्रो कर्तव्य हो ।

यसलाई हामी सबैले अरु केही नभएर सद्भाव, एकता र भाइचाराको भाव विकास गर्दै सत्यको लागि एकजुट हुने पर्वको रूपमा लिनुपर्छ र यही सन्देश हामीले हाम्रा सन्ततिहरूलाई दिन सक्नुपर्छ । पुर्खाहरूको अनेकौँ त्याग र तपस्याबाट प्राप्त आनि संरक्षित यस्ता हाम्रा पर्वहरू हामीले त्यही रूपमा अर्को पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जीवनको सबैभन्दा ठूलो दायित्व र धर्म हो ।

पछिल्लो समयमा विज्ञान र प्रविधिले मारेको फड्कोसँगै हाम्रो सामाजिक महत्व र गौरवसँग जोडिएका यस्ता चाडपर्वहरू मारमा पर्दै आएका छन् । जसरी र जेका लागि मानिनुपर्ने हो त्यसरी नमानिनु, हरेक कुरालाई सामान्यकीकरण या आफूअनुकूल बनाउँदै जानु, मान्छेहरू मोबाइल, ल्यपटप, टीभीलगायत अन्य ग्याजेटमा अलमलिएर यस्ता पर्वमा रमाउन छाड्नु अर्थात् कतिपय कुराहरू उनीहरूकै भाषामा भन्नुपर्दा झ्याउ लाग्नुजस्ता कुराहरू समस्याको रूपमा देखिएका छन् । काठमाडौँ सहरको आकासमा अचेल चङ्गाहरू उड्न छोडेका छन् ।

गाउँघरका पीङ, डाँडा र जमघट हुने ठाउँहरू रित्ता छन् । जमघटहरू भैहाले पनि फुस्रा बन्दै गएका छन् । टिकाजमरा लगाउन मामाघर जान झर्को लाग्न थालेको छ । पर्वका खुशीहरू रक्सीसँग मात्र साटिन थालिएका छन् । यस्ता पर्वहरूमा लगाइने विशेष नाचगानमा रमाउने मान्छे छैनन् । यी त सामान्य उदाहारण मात्र हुन् र अझ यी कुराहरू प्रविधिमा आएको विकासका लगभग दश वर्षभित्रका मात्र कुरा हुन् । समय र परिस्थिति यहीअनुसार चल्दै जाने हो भने के हाम्रा भावि सन्ततिहरूले हाम्रा अमूल्य चाडपर्वहरूको स्वाद चाख्न पाउलान् र ? नत्र ‘एकादेशमा राजा थिए अरे’ भनेझैँ हुन के बेर ?

हुन त हाम्रा कतिपय कुरा समयसँगै अगाडि बढ्न नसकेर पनि होला । यस बारेमा अध्ययन हुन जरुरी छ । यस्ता कुराहरू अहिले हामीलाई सामान्य लागे पनि यो हाम्रो संस्कृतिप्रतिको आक्रमण वा वितृक्ष्णाको यो सुरुवाती चरण हो । सबैको ध्यान समयमै पुगे अहिले पनि केही बिग्रीएको छैन । नत्र यसले पछि विकराल रूप लिन नसक्ला भन्न सकिन्न । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com