युरोपेली पर्यटक आकर्षणका आधार

कृष्ण अधिकारी
नेपाल भ्रमणमा आउने पर्यटकमा ठूलो हिस्सा ओगट्ने युरोपेली मुलुकका पर्यटकलाई लक्षित गरी कार्यक्रमहरू सञ्चालन गर्न सकेमा ‘नेपाल भ्रमण वर्ष २०२०’मा २० लाख पर्यटक भित्र्याउन सकिने देखिन्छ । युरोपेली मुलुकहरूबाट सन २०१८ मा दुई लाख ४३ हजार दुई सय ८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने यस वर्षको छ महिनाको अवधिमा यो संख्या एक लाख चार हजार सात सय ८३ रहेको छ ।

नेपाललाई एक आकर्षक, सुरक्षित र मनोरम पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गरी विश्व पर्यटन बजारमा स्थापित गराउन सकिन्छ । हवाई सेवाको सुरक्षा, विश्वसनीयता र पर्यटकीय सेवा सुविधाको गणुस्तर वृद्धि, नयाँ गन्तव्यहरूको पहिचान र विविधीकरण तथा पूर्वाधार विकासमा जोड दिन सकिएमा भ्रमण वर्ष सफल हुनुको साथै त्यसपछिको पर्यटन बजारलाई अझ फराकिलो बनाउन सकिन्छ । यसले नयाँ पर्यटक आगमनमा वृद्धि ल्याउन सक्छ ।

नेपाल भ्रमण गरी फर्किएका पर्यटकले नेपालको बारेमा दिने सन्देश तथा विदेशस्थित नेपाली दूतावास र गैर आवासीय नेपाली(एनआरएन)को भूमिकाले बढीभन्दा बढी पर्यटक भित्र्याउने बलियो आधार बन्न सक्ने भएकाले भ्रमण वर्ष मनाइरहँदा यस पक्षलाई महत्व दिनुपर्ने हुन्छ । युरोपका प्रायः सबैजसो मुलुकमा नेपाली दूतावासको संयन्त्र रहेको र गैर आवासीय नेपाली सङ्घको पनि गठन भइसकेको सन्दर्भमा उनीहरूमार्फत नेपालमा बढीभन्दा बढी पर्यटक पठाउन सकिने सम्भावना प्रशस्त रहेको छ । ती आधारहरू पहिल्याउन सकिएमा भ्रमण वर्षलाई सफल तुल्याउन युरोपेली पर्यटक मुख्य आधार हुनसक्छ ।

युरोपस्थित नेपाली कुटनीतिक नियोगका प्रतिनिधिहरूले पनि भ्रमण वर्षलाई सफल तुल्याउन आ–आफ्नो देशमा प्रवद्र्धनात्मक क्रियाकलापहरू सञ्चालन गरिएको र वर्षभरि नै विभिन्न कार्यक्रमहरू राखिएको बताएका छन् । वर्षाैँदेखि साहसिक पर्यटकलाई मात्र महत्व दिने गरिँदा नेपालमा गुणस्तरीय र खर्चालु पर्यटक भित्र्याउन नसकिएकाले आगामी दिनामा बढी पैसा खर्च गर्नसक्ने, लामो अवधि बस्न रुचाउने र फुर्सदिला खासगरी जेष्ठ उमेरका पर्यटकलाई लक्षित गरी भ्रमण ‘प्याकेज’हरू तयार गर्नु आवश्यक छ ।

नेपालको ‘हिन्दू किङ्डम’ बारेमा पुस्तक लेख्ने सिल्भा लेभी, हनी हन्टर फिल्म बनाउने यरिक भेली, अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो युरोपेली मौरिस हर्जोग, विश्वका आठ हजारभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने डा क्रिस्टिना जाना, नेपालको बारेमा विश्वभर प्रचार गराउने टोनी हेगनजस्ता व्यक्तित्वहरूको योगदानका बारेमा मात्रै प्रचार गराउन सकिएमा पनि ठूलो संख्यामा युरोपेली पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

फ्रान्समा कूल जनसंख्याको झण्डै डेढ गुणा बढी पर्यटकले भ्रमण गर्ने र विश्वका अधिकांश मुलुकका कूटनीतिक नियोगहरू राजधानी पेरिसमा रहेकाले नेपालका बारेमा गरिने प्रवर्द्धनात्मक कार्य बढी प्रभावकारी हुने हुँदा युरोपेली मुलुकहरूमा रहेका दूतावासहरूको भूमिका निश्चय नै महत्वपूर्ण रहन्छ । उदाहरणको रूपमा फ्रान्समा ६०/७० वटा नेपाली रेस्टुराँ रहेको र तीमध्ये आधाभन्दा बढी पेरिस सहरमै रहेकाले त्यहाँ खान जाने पर्यटकलाई नेपालका बारेमा परिचय गराउन सकिने सम्भावना रहेको छ । युरोपका अन्य मुलुकहरूमा पनि नेपाली रेस्टुराँहरूको संख्या निकै रहेको छ ।

नेपालले पर्यटनको कुरा गरेको धेरै वर्ष भए पनि अहिलेसम्म रणनीतिक ढङ्गबाट बजारीकरण हुन नसक्दा युरोपबाट जति संख्यामा पर्यटकले नेपाल भ्रमण गर्नुपर्ने हो त्यो हुनसकेको देखिँदैन । अहिलेसम्म पनि हामीले युरोपेली पर्यटकको रुचिका बारेमा बुझ्ने कोशिस गरेका छैनौँ । कुनै अध्ययन भएको छैन । एउटै देशभित्र पनि फरकफरक रुची राख्ने पर्यटक हुने हुँदा उनीहरूको चाहनाअनुसार प्रवर्द्धनात्मक रणनीति बनाउने हो भने धेरै युरोपेली नेपाल भ्रमणमा जानेछन् ।

युरोपबाट नेपाल जान हवाई भाडा महँगो पर्ने, सिधा हवाई उडान नभएको, नेपाल गोर्खा भूकम्पले ध्वस्त भई पुनर्निर्माणमा जुटेको छ भन्नेजस्ता तर्क गर्ने गरिन्छ । यो कुनै तर्क होइन । हवाई भाडा केही महँगो भए पनि यहाँँ खाना र बस्न सस्तो छ, सिधा उडान नभए पनि ‘कनेक्सन’ उडान प्रयोग गर्न सकिन्छ र भूकम्पले पर्यटन क्षेत्रमा कुनै असर नपारेको भन्नेजस्ता सन्देश विस्तार गर्न सकिएमा नेपाल भ्रमण गर्न कोही पनि पर्यटकले हिच्किचाउने अवस्था छैन ।

नेपाली आकास सुरक्षित हुननसक्दा पनि युरोपेली टुर अप्रेटरहरूले नेपाललाई रोजाइमा राखेका छैनन् । युरोपेली कमिसनको सेफ्टी मापदण्ड पूरा गर्न नेपालले सुधार गर्दै गएको भन्दै सन २०२० मा मनाउन लागिएको भिजिट नेपाललाई सहयोग पु-याउन कालोसूचीबाट हटाइदिन पटकपटक आग्रह गरिए पनि अझै पूरा हुन सकेको छैन । नेपालले हवाई क्षेत्रमा केही सुधार गरे पनि पर्याप्त नभएकाले युरोपेली आकाश खुला गर्न नसकिने तर्क रहँदै आएको छ ।

सन् २०१३ मा अन्तरर्राष्ट्रिय नागरिक उड्ड्यन संगठन(आईकाओ)ले नेपालको हवाई आकाश असुरक्षित भएको भन्दै गम्भीर सुरक्षा चासोमा राखेपछि सन २०१४ मा गरेको युरोपियन कमिसनको अनसाइट अडिट भ्रमणले नेपालको आईकाओले देखाएका सुरक्षा चासोहरू सम्बोधन नभएसम्म सुरक्षा लिस्टमा राख्नुपर्ने सुझाव दिएको थियो । सन् २०१७ मै आईकाओले नेपाली आकाशलाई सुरक्षा चासोबाट मुक्त गरिसकेको भए पनि इयुले भने कायमै रोखेको छ । युरोपियन युनियनले नेपाली आकाशलाई कालो सूचीमा राख्दा त्यसको प्रत्यक्ष असर राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई परेको छ ।

युरोपका अधिकांश मुलुकहरूसँग नेपालको कुटनीतिक सम्बन्ध स्थापित भएको धेरै वर्ष बितेको छ । नेपालले पर्यटकलाई आर्थिक विकासको मुख्य आधार मान्दै आएको पनि धेरै वर्ष भएको छ तर युरोपका पर्यटकका लागि नेपाल एक मुख्य गन्तव्यस्थल बन्न सक्दछ भन्ने पक्षलाई त्यति महत्व दिएको पाइँदैन । पर्यटकीय पूर्वाधार, सुरक्षा र नयाँ सम्पदाहरूको प्रवर्द्धन हुन सकेमा ठूलो संख्यामा युरोपिय पर्यटक आउने सम्भावना रहेको छ । जर्मनीबाट मात्र हाल वर्षमा करिब १७÷१८ हजार पर्यटक नेपाल जाने गरेको र यसलाई दोब्बर बनाउन सकिने प्रशस्त आधारहरू छन् ।

विश्वका ८० भन्दा बढी देशमा बसोबास गर्ने गैर आवासीय नेपालीहरू आफ्नो जन्मभूमिको विकासप्रति निकै अभिप्रेरित रहेको बताउँदै ती देशहरूमा रहेका गैर सरकारी संस्थाहरूसँग सहकार्य गरी नेपाल भ्रमणमा जान पर्यटकलाई अभिप्रेरित गराउने क्रियाकलापमा एनआरएनएको पनि उत्तिकै योगदान रहन सक्दछ । नेपालमा युरोपेली पर्यटकको आगमन बढाउन नेपाल पर्यटन बोर्डले सन् २०१७ लाई ‘भिजिट नेपाल युरोप इयर २०१७’ का रूपमा मनाएको थियो । युरोपका विभिन्न देशमा रहेका जनसम्पर्क प्रतिनिधि र एनआरएनलाई परिचालन गर्दै यो अभियान सञ्चालन गरिएको थियो । यसको परिणाम सन २०१७ को तुलनामा सन् २०१८ मा युरोपेली पर्यटको आगमन संख्यामा ३७ हजार पाँच सय चारले वृद्धि भएको थियो ।

युरोपका प्रायः सबैजसो देशमा नेपाली पुगेका छन् र अधिकांशले रेस्टुराँ व्यवसाय सञ्चालन गरेका छन् । नेपालीले सञ्चालन गरेका रेस्टुराँमा ‘मिनी नेपाल’को झल्को आउने हुँदा खानेकुरादेखि आतिथ्य सत्कारमा नेपालीपन देखाउन सक्नुपर्दछ । ती रेस्टुराँमा नेपाल झल्किने पर्चा–पम्लेट राख्ने र पर्यटकलाई नेपाली हस्तकलाका सामग्री उपहार दिने गरिएमा त्यसले सकारात्मक सन्देश जानेछ ।

नेपाल भ्रमण गरी फर्केका वा नेपाली खानाको स्वाद लिइसकेका युरोपेली नागरिकहरू नेपाली रेस्टुराँमा खान जाने वा नेपाली उत्पादनहरू खरिद गर्न रुचाउने हुँदा उनीहरूको आवश्यकताअनुसार युरोपभरि नै नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्न सकिन्छ । नेपाली वस्तुको अलग्गै ‘ब्राण्ड’ बनाउन सकिएमा यसले पनि नेपालको पहिचान बढाउन सकिन्छ ।” नेपालका मम, वियर, चाउचाउ, सेलरोटीलगायतका केही वस्तुको मात्रै ‘ब्राण्डिङ’ गर्न सकिए पनि धेरै पर्यटकलाई आकर्षित गर्न सकिन्छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com