सस्तो पाएपछि सरकारी खसी र च्याङ्ग्राको बिक्री बढ्यो

प्रवीण राउत
काठमाडौं, असोज १७
मासुको चाडको रुपमा समेत हेरिने दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री बढेको छ । नागरिकलाई राहत होस् भनेर खाद्य संस्थानले केही दिनयता काठमाडौं उपत्यकामा खसी, बोका तथा च्याङ्ग्रा बिक्रीवितरण सुरु गरेको थियो । असोज १३ देखि खसी, बोका तथा च्याङ्ग्राको बिक्रीवितरण थालेको संस्थानले बिहीबार बेलुकी साढे ६ बजेसम्ममा १६ सय ३८ वटा खसी, बोका तथा च्याङ्ग्रा वितरण गरेको संस्थानका अञ्चल प्रबन्धक रणबहादुर बुढाथोकीले बताए । संस्थानले दशैंमा बिक्रीवितरण गर्ने भनेर खसी, बोका तथा च्याङ्ग्रा गरेर २९ सय सातवटा ल्याएको थियो ।

दशैंमा काठमाडौंमा बिक्रीवितरण गर्न उद्देश्यका साथ संस्थानले दाङ तुलसीपुरबाट खसी र बोका गरेर चार सय र एक हजारवटा च्याङ्ग्रा मुस्ताङबाट ल्याएका हो । बाहिर अर्थात् बजारभन्दा सस्तो मूल्यमा पाएकोले बिक्रीवितरण छिटो भएको उनले बताए । ‘बाहिरभन्दा करिब प्रतिकिलो तीन/चार सय रुपैयाँ सस्तो छ’, उनले भने, ‘त्यसैले गर्दा उपभोक्ता दिनहुँ बढेका छन् ।’

संस्थानले खसी र बोकाको मासुको प्रतिकिलो पाँच सय ५० रुपैयाँ र च्याङ्ग्राको प्रतिकिलो सात सय ३० रुपैयाँमा बिक्रीवितरण गरेको जनाएको छ । ‘खसी र बोकामा तथा च्याङ्ग्राको मासुमा प्रतिकिलो १० प्रतिशत छुट दिँदा सो मूल्यमा मासु बिक्रीवितरण गरिएको हो’, उनले भने । गत वर्ष (२०७५) मा करिब खसी र बोका चार सय तथा च्याङ्ग्रा हजारवटा गरी जम्मा १४ सयवटा खसी, बोका तथा च्याङ्ग्रा बिक्रीवितरण गरेको संस्थानले जनाएको छ ।

संस्थानले सकेसम्म दशैंभरको समयमा नभए सप्तमीको दिनसम्म खसी, बोका तथा च्याङ्ग्रा बिक्रीवितरण गर्ने जनाएको छ । कृषकबाट खसीबोका प्रतिकिलो पाँच सय ६० देखि पाँच सय ७० रुपैयाँमा किनेर ल्याएको संस्थानले ग्राहकलाई बिक्री गर्दा भने सोभन्दा कम मूल्यमा बिक्री गरेको छ । ‘हो, हामीले किनेको मूल्यभन्दा कम मूल्यमा बेचेका छौं’, उनले भने, ‘हामीलाई मन्त्रालयबाट अनुदान आउँछ, सोही कारणले गर्दा कम मूल्यमा बेच्न सकेका हौँ ।’

खसीको तुलनामा च्याङ्ग्राको बिक्री कम रहेको छ । खसीबोका बिक्री हुन्छ, च्याङ्ग्रा भने बाँकी रहनसक्ने संस्थानले जनाएको छ । संस्थानले मासुजन्य पदार्थ बिक्रीवितरण गरेकोमा सर्वसाधारणबाट राम्रो प्रतिक्रिया दिएको प्रबन्धक बुढाथोकीले बताए । सर्वसाधारणले छुट प्रतिशतमा वृद्धि हुनुपर्ने धारणा राखेको संस्थानले जनाएको छ ।

संस्थानमा भेटिएका जीवन थापाले बाहिरभन्दा कम मूल्यमा पाएको बताए । ‘बाहिर आठ सय नौ सय प्रतिकिलो रहेको छ, यहाँ त्योभन्दा संस्था रहेको छ’, थापाले भने ।
संस्थानले विभिन्न स्थानबाट खसीबोका च्याङ्ग्रा ल्याएर काठमाडौंमा राख्दा समस्या हुने गरेको जनाएको छ । विभिन्न स्थानबाट ल्याउँदा हावापानी नमिल्दा खसीबोका तथा च्याङ्ग्राको स्वास्थ्यमा समस्या हुने गरेका संस्थानका कर्मचारी बताँउछन् । खसीबोका तथा च्याङ्ग्राको स्वास्थ्यमा समस्या हुँदा रोगी हुने र मर्न सक्ने भन्दै संस्थानले पशु विभागसँग समन्वय गरी पशु चिकित्सक समेत संस्थानमा उपलब्ध गराइएको कर्मचारीले बताए ।

चाडबाडमा मात्र नभएर संस्थानले सदैव मासुजन्य पदार्थ तथा खाद्यान्नको लागि सहुलियत बिक्रीवितरण केन्द्र सञ्चालन गर्न सकिने कर्मचारीहरु बताँउछन् । ‘बिक्री केन्द्र सञ्चालनको लागि आवश्यक कर्मचारी राख्ने तथा उनीहरुको खर्च सञ्चालन दिने हो भने दशैं तिहार मात्र नभएर अन्य समयमा समेत सहुलियत पसल सञ्चालन गर्न सकिन्छ’, प्रबन्धक बुढाथोकीले भने, ‘यस्ता केन्द्रले गर्दा बजार मूल्य समायोजन गर्नको लागि मद्दत मिल्छ ।’ बाहिरभन्दा सस्तो मूल्यमा मासुजन्य पदार्थ तथा खाद्यान्न संस्थानले बिक्री गर्दा निजी पसलेहरुलाई समेत मूल्य समायोजन गर्न बाध्य हुने संस्थानको भनाइ उनको छ ।

२१ टन खाद्यान्न बिक्री : संस्थानले बिहीबारसम्म २१ टन खाद्यान्न बिक्री भएको जनाएको छ । संस्थानले खाद्यान्न अर्थात् सात प्रकारको चामल, गेडागुडी, तितेफापर लगायतका सामग्री गरेर २१ टन खाद्यान्न बिक्री गरेको हो । संस्थानले इन्डक्सन चुलो समेत बिक्री गरेको जनाएको छ । करिब भदौको अन्तिम सातादेखि संस्थानले खाद्यान्न बिक्रीवितरण गर्न सहुलियत पसल सञ्चालनमा ल्याएको हो । संस्थानले उपत्यकाका विभिन्न पाँच स्थानमा सहुलियत पसल समेत सञ्चालन गरेको छ । संस्थानले थापाथली, रामशाहपथ, जावलाखेल, सूर्यविनायक र नख्खुमा सञ्चालन गरेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com