नेपालका जाति, भाषा र संस्कृति – २८

 

 

शिरिष अर्ज्याल
नेपाल एक बहुजातीय बहुल सांस्कृतिक तथा भौगोलिक विविधताले युक्त राज्य हो । समय क्रममा यहाँ भिन्न–भिन्न जातिहरुको आगमन हुँदै आइरहेको देखिन्छ । हिमाली क्षेत्रका जातजातिहरुको आ–आफ्नै केही जातीय संस्कारहरु रहेका छन् भने पहाडी भू–भागहरुमा सदियौँदेखि विभिन्न जातिहरुले मौलिक भाषा संस्कृति र संस्कारहरुको विकास गरेको पाइन्छ । यस्तै तराई वा मधेश क्षेत्रमा विभिन्न जातिहरुको उपस्थितिले विभिन्न जाति तथा तिनका रहनसहन, चालचलन एवं मौलिक परम्पराहरुलाई जीवन्तता दिई आइरहेको पाइन्छ ।

मुख्यगरी नेपालमा युगौँदेखि हिन्दू धर्म र बौद्ध धर्मले समान रुपमा सम्मान पाउँदै आइरहेको तथा हिन्दू भाषा, धर्म र संस्कृतिसँगै समान रुपमा रहेको बौद्ध धर्ममा नेपालका हिन्दूहरुको आस्था प्रगाढ रुपमा रहिआइरहेको छ । यति भए पनि भूगोल इतिहास र क्षेत्रका कारणले विकसित भएका नेपालका विभिन्न जातिहरुले आ–आफ्ना परम्परा र संस्कृतिहरुलाई निर्बाध रुपमा निर्वाह अथवा पालना गर्दै आएको हामी पाउँछौँ ।

यसै क्रममा नेपालका तराईका भू–भागहरुमा विभिन्न जातजातिहरुको बसोबास रहिआएकाले हिन्दूधर्मको समान सांस्कृतिक धर्ममा विभिन्न जातिहरुबीच सांस्कृतिक एकता रहँदै आएको देखिन्छ । यसैगरी मुसलमान धर्मावलम्बीहरुले पनि निर्बाध रुपमा आफ्नो धर्म र संस्कृतिलाई निरन्तरता दिँदै आइरहेका छन् ।

तराई तथा मधेश क्षेत्रमा अनकौँ जातजातिहरुको बसोबास वा उपस्थिति पाइन्छ । ती जातिमध्येका कायस्थ जाति पनि तराईका प्रभावशाली एक प्रमुख जातिका रुपमा गणना गरिन्छ । कायस्थ जातिको सम्बन्ध सिधै वैदिक तथा पौराणिक यु््गसँग जोडिएको छ । शास्त्र, पुराण तथा अन्य धार्मिक ग्रन्थहरु र धार्मिक साहित्यमा कायस्थ जातिको उल्लेख, वर्णन आदिले यी जातिको प्राचीनतालाई स्पष्ट गर्छ ।

केही हदसम्म विरोधाभाषले वर्णित एक अर्का धार्मिक साहित्यहरुमा स्पष्ट रुपमा कायस्थ जातिबारे उल्लेख गरिनाले कायस्थ जातिको धार्मिक तथा ऐतिहासिक भूमिका बारेको महत्वलाई दर्शाउँछ । ब्रह्मपुराण, पद्म पुराण, विज्ञान तन्त्र आदिलगायत हिन्दू ग्रन्थ साहित्यादि कायस्थ जातिविना अपूरो छ ।

कायस्थ जातिले आफ्नो मूल पुरुष वा देवता यमलोकका चित्र गुप्तलाई मान्दछन् । तदनुसार लेखनी, लेखपढ, शिक्षा, हिसाबकिताबको लेखाजोखा आदिलाई कायस्थ जातिले आफ्नो परम्परागत जातीय पेसाका रुपमा मानी परापूर्वकालदेखि अपनाउँदै आइरहेका छन् । ब्राह्मणले झैँ लेखपढ पेशा अपनाई आइरहेता पनि धार्मिक तथा सामाजिक संस्कार तथा जातीय भिन्नताले कायस्थ जातिले ब्राह्मणहरुले झैँ सम्मान वा प्रतिष्ठा पाउनसकेका छैनन् । अनिवार्य अक्षराम्भ गर्नुपर्ने जातीय संस्कारका कारण कायस्थ जातिमा निरक्षर व्यक्ति नगन्य भेटिन्छन् ।

कायस्थ जातिबारे धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार भगवान् ब्रह्माको कायबाट उत्पन्न भएको भन्ने रहेको छ । तदनुसार विस्मित तथा आनन्दविभोर भएका ब्रह्माले आफ्नो कायबाट उत्पत्ति गरेकाले कायस्थ वर्ण तथा आफ्नो चित्तमा विष्णु भगवानको ध्यान गुप्त रुपले गरेकाले उनको नाम चित्रगुप्त भनेर राखियो । यसपश्चात् मृत्युलोकमा जनसंख्या अत्यधिक बढेकाले ब्रह्माद्वारा मनुष्यलाई मृत्युपश्चात् यमराजसमक्ष उपस्थित गराउने व्यवस्था गरियो । सोही मृत्युपश्चात्को कर्मको लेखाजोखा गराउनलाई चित्रगुप्तलाई उत्पत्ति गराइएकाले चित्रगुप्तले यमलोकमा यमराजका सहायक भई लेखाजोखा राख्न थालेको भन्ने धार्मिक कथन रहेको छ । तिनै चित्रगुप्तका सन्तान यही कायस्थ जातिलाई मानिँदै आइएको हो ।

चित्रगुप्तका १२ सन्तान विभिन्न ठाउँमा गई बस्न थालेकाले तिनै सन्तानहरुका नाममा कायस्थका समूह बने भन्ने धार्मिक कथन रहेको छ । कालान्तरमा तिनै समूहका सन्ततिहरु विभिन्न ठाउँम बस्न थालेको ठाउँअनुसार बाह्र उपजातिका रुपमा ठाउँ वा स्थानका नामले कायस्थ जातिका उपसमूहहरु चिनिन थाले ।

कर्णाटकी वा कर्णाटबाट आएका कायस्थहरु कर्ण कायस्थ कहलिए भने मथुरा छेउछाउका कायस्थ माथुर भए । यसैगरी अन्य सकसेना, भटनागर, निगम, कुल श्रेष्ठ, सूर्यध्वज, गोड, श्रीवास्तव, अम्बष्ठ, अष्ठाना, वाल्मीकि आदि कहलिए । कर्ण कायस्थमध्ये पनि एक समूह मिथिलामा आई बस्न थालेकाले मैथिली कर्ण कायस्थ तथा अर्का गयामा गई बस्न थालेकाले गयावाला कर्ण भनिन थालिए ।

नेपालका कायस्थहरुमा तराई क्षेत्रका कायस्थहरुबाहेक नेवार कायस्थ काठमाडौंका तीन जिल्लाहरुमा मल्लकालदेखि नै बसोबास गरी आइरहेकाले ती नेवार जातिमा पूर्णतया समाहित भई नेवार कायस्थका रुपमा चिनिन्छ । ती नेवार कायस्थहरुको इतिहास सिम्रोन गढसँग जोडिन आउनुका साथै कायस्थहरुका वंशावलीले पनि सोही कुरालाई पुष्टि गर्छ । उनीहरुको आगमन नेपाल खाल्डोमा कसरी भयो भन्दा सिम्रोनगढका कर्णाटवंशी राजा नान्यदेवका सन्तान हरिसिंह देवका पालासम्म पनि सिम्रोनगढ एक शक्तिशाली राज्य रहेको थियो । तिनै हरिसिंहदेवको राज्यलाई गयाशुद्धिन तुगलक भन्ने मुसलमान लडाका सरदारले तहसनहस पारिदिए ।

गयाशुद्धिन आफ्नो राज्य सिम्रोनगढ आक्रमण गर्न आएको हो भन्ने भ्रममा हरिसिंह देवको फौज तुगलकको फौजसँग जाई लाग्दा परिणाम तह नराम्ररी पराजय मात्र खेप्नुपरेन राज्य छाडी ज्यान जोगाई राजा आफ्ना रानीको मार्फत भक्तपुरमा शरण लिई रानी देवलदेवीका साथ भक्तपुर राज्यमा आई बस्न थाले । यिनै देवल देवीका साथ शासन व्यवस्था हेर्न कायस्थहरुको आगमन भएको भन्ने विश्वास गरिन्छ । कर्णाटवंशी नान्यदेवको पालामा सिम्रौनगढमा हाडा, राठौर आदि थरका राजपुतहरु पनि रहेकाले पछि तिनै थरका वंश भक्तपुरमा नेवार राठौर (गंगोल), हाडाहरु (बिजुक्क्षे)लगायत कायस्थहरु रहेका थिए । राजा हरिसिंहदेवका साथ त्यस बखत आएका छ थर भनी उल्लेख गरिएकामा १) टोनेल जोन्छें (द्योंजु, वजिमय, वाटाजु), २) मोनेल (मूलः) ३) राणा (सत्ता) ४) राठौर (गोंगल दजा पाएका उजात थाँछे । ५) हाडा (बिजुुक्क्षे) ६) कुचुवा (गहिठीका जोशीहरु) रहेका छन् ।

हरिसिहंदेवको नातिनी ज्वाइ नेवार सम्राट जयस्थिति मल्लको दरबारमा झा, मिश्रजस्ता मैथिली ब्राह्मणहरु विद्वानमन्त्री तथा राजाका सल्लाहकार तथा हाडा राठौरजस्ता सेना नायकमन्त्री आदि हुने गर्थे भने कायस्थ थरका व्यक्तिहरुको भूमिका पनि त्यसैगरी उच्च पदासीन रहने गर्दथ्यो । त्यसैगरी गौड ब्राह्मण (आचाजु) खड्गी, नेवार धोबी आदि मिथिलाका आर्यहरुको हरिसिंह देवसँग नेपाल खाल्डोमा आगमनले पहिल्यैदेखि बसोबास गरिरहेका नेवार किराँत, लिच्छवी, खस बाहुल्य समाजमा मिसिन पुगी शात शिवमार्गी वैदिक संस्कृतिको सम्मिश्रण गराई समन्वयवादी, उदार र उन्नत संस्कृतिको निर्माण हुन पुग्यो । यसैगरी नेवार वैद्यहरुको वंशावली पनि राजा हरिसिंह देवसँग आएका ब्राह्मण, आचाजु, षङ्गी, रजिक, वैद्य, नेयार देशका छ थरहरु र तेली आएको कुरा उल्लेख गरिएको छ ।

भक्तपुरमा बसोबास गर्ने कायस्थहरुका पुर्खा हरिसिंह देवकी रानी देवलदेवीसँग भित्रिएका हुन् । ती कर्णाटवंशी कायस्थहरुलाई नेवारी भाषामा कसजु भनेर पनि भन्न थालियो । मल्ल राजाहरुका पालामा भक्तपुर राज्यको राजसभामा जोशी, अमात्य, राज भण्डारी, पक्वा, भंडेल र कसजु (कायस्थ)हरु रहने गर्थे । ती कायस्थहरु ब्राह्म्य सम्पर्कको अभाव, भौगोलिक विकटता, सजातीय वैवाहिक सम्बन्धमा कठिनाइ आदि कारणले पुरापुरी नेवारी समाजमा विलीन हुन पुगे । नेपाल खाल्डोमा मात्र होइन अपि तु गोरखाका राजा पृथ्वीपति शाहका बखतको दस्तावेजमा पनि कायस्थ जातिले उल्लेख गर्ने कैथि मिति तथा कैथि भाषाको प्रयोग गरिएको देखिन्छ । यसैगरी मोरङ्ग विजयपुरगढीको सेन राज्यमा सम्पूर्ण लेखापढीको कार्य नायब दिवान प्रबोधदास कायस्थले गरेको उल्लेख छ जुन मैथिली भाषामा रहेको छ ।

कायस्थ जातको उत्पत्तिबारे हिन्दुहरुका धार्मिक ग्रन्थहरुले नै पुष्टि गर्छन् भने सोहीअनुसार विभिन्न ठाउँमा छरिएर बसेका कायस्थहरुले आफ्नो परम्परागत पेसा, संस्कृति, धर्म तथा रीतिस्थिति मान्दै आइरहेका छन् । नेपाल तराईका कायस्थहरुका सुनिएका थरहरुमा कर्ण, दास, लाल, निधि, कष्ठ, मल्लिक, दत्त, लाभ, बर्मा, कौशिक, शर्मा, सिंह आदि छन् भने श्रीवास्तव कायस्थका थरहरुमा श्रीवस्तव, सिन्हा, बर्मा आदि रहेका छन् ।

कायस्थ जातिका सामाजिक संस्कारहरुमा व्रत, पर्व आदिको अत्यन्त महत्व रहने गर्छ । धेरैजसो शुभ कार्यको अघिदेखि वर्त बस्ने अथवा माछामासु कसै कसैले लसुन प्याजसम्म पनि बारेर बस्ने गर्छन् । कायस्थ जातिको विशेषताका रुपमा इंगित गर्न पर्ने पूजामा चित्रगुप्तको पूजालाई लिन सकिन्छ भने कुल देवता वा कुल देवीको पूजाको पनि कायस्थ जातिमा विशेष महत्व रहेको छ ।

यसैगरी मेधु श्रावणी, तीज, वरसाती, तिला सङ्क्रान्ति, भतराशि, गौड, तुसारी, साँझ पूजन जस्ता पूजा तथा पर्वलाई सौभाग्यको कामनासहित मनाइन्छ भने दाजुभाइका निमित्त दिदीबहिनी एवं दिदीबहिनीका निमित्त दाजुभाइद्वारा दीर्घायु, मंगल कामना र सुख समृद्धिका लागि गरिने पर्वहरुमा भ्रातृ द्वितीया (भाइटीका), रक्षाबन्धन, सामाचकेवा आदि मनाउने गरिन्छ । यसैगरी दश दिन दशमी तिथिसम्म मनाइने दशमी पर्व दीपावली (तिहार), कृष्णाष्टमी, वसन्त पञ्चमी, नागपञ्चमी, शिवरात्रि, रामनवमी, होली आदि पर्व धुमधामका साथ मनाउने गरिन्छ ।

कायस्थ जातिमा चाडपर्वको विशेष महत्व रहनाले चउरजन (गणेश चतुर्थी) जितिया पर्व, जुड शीतल, अन्नत चतुर्दशी, छठ (छठी पव), देव उठाउन एकादशी, डिहवार पूजन, सत्यनारायण भगवानको पूजन, महादेव पूजन, सोमबारे वर्त, लवान, अक्षय नवमी आदि जस्ता वर्त, त्यौहार, पर्वहरु विशेष श्रद्धाका साथ मनाउने गरिन्छ ।

मिथिला चित्रकलाका रुपमा विश्वविख्यात भएको ‘अरिपन’ चित्रकलालाई मांगलिक कार्यहरुमा कायस्थ जातिले प्रयोग गर्ने गर्छन् । यसमा विशेषतः स्वस्तिक, सर्वतो भद्र, अष्टदल, षष्ठदल, आदि मांगलिक आकार दिइन्छ भने घरका भित्ताहरुमा मानव जीवनका विभिन्न आयामहरुलाई झल्काउने मिथिला चित्रका नामले प्रसिद्ध परम्परागत चित्रहरु बनाउने गरिन्छ ।

कायस्थ जातिमा नवजात शिशुको जन्म भएको आधा घण्टापश्चात् आमाको दूध खुवाउने गरिन्छ भने बालक जन्म लिएको घरलाई सोइरी घर भनेर भन्ने गरिनुका साथै बालकलाई चिल्का तथा बालकको आमालाई चिल्काउ भनेर भन्ने गरिन्छ । बालकले जन्म लिएको छैठौँ दिनमा मनाउने छटिहार विधि जसमा मार्कण्डेयरुपी गोबरलाई राखी कलम वा चक समाउन दिइन्छ । ब्रह्माले सोही कलममसीले शिशुको भाग्य लेख्छन् भन्ने विश्वास कायस्थ जातिमा रहेको पाइन्छ ।

विशेषतः केटो बालकलाई मात्र गरिने मुण्डन प्रथा बालक तीन वा पाँच वर्षको भएपश्चात् गरिन्छ । मुण्डनका दिन बिहान सबेरैदेखि गोसाउनीका गीत गाउने गरिन्छ । यसपछि आउने कर्म संस्कारमा चुडाकरण अर्थात् व्रतबन्ध पर्छ । कायस्थ जातिमा विवाह अघि पन्जी–प्रथा अर्थात् पञ्जीकारले रक्त शुद्धि, स–जात गोत्र नातेदार रहेको कुरा वर पक्षको सात पुस्ता तथा वधु पक्षको पाँच पुस्ता विचार गरी प्रमाणित गरेपश्चात् विवाहको निश्चित गर्ने गरिन्छ ।

विवाह ‘लहछु’ भन्ने एक विशेष विधि पनि सम्पन्न गरिन्छ । जसअनुसार कन्यालाई कपाल काट्ने नाई वा हजामले औँलाबाट केही थोपा रगत निकाली कपासमा दलिन्छ । यस्तै विवाह गर्ने केटो वा वरलाई पनि सोही विधि गरिन्छ । यस प्रकार ‘लहछु’ विधिद्वारा निकालिएको रगत मिश्रित कपास विवाहको चतुर्थी विधिपूर्वक नै खिरमा हाली बेहुलाबेहुली दुवैलाई खुवाउने गरिन्छ ।

कायस्थ जातिको अन्तिम सामाजिक संस्कारमा अत्येष्टि गरिन्छ । कायस्थ जातिका मानिसको मृत्यु भएको १३ दिनमा श्राद्ध क्रिया गरी चोखिने गरिन्छ भने कर्ण कायस्थहरुमा श्राद्ध कर्म गरेपश्चात् सोही तिथिमा छाया श्राद्धकर्म एक वर्षसम्म तथा पाँच वर्षसम्म बरखी वा वर्षी एवं वार्षिक रुपमा सोह्र श्राद्ध गर्ने गरिन्छ ।

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com