ईश्वरको अर्को अवतार हुन् कृषक

 

 

 

 

लक्ष्मण सिटौला
जब म सहरबाट गाउँ जान्थेँ,
हाम्रा कृषक बा कमान सिंह
कि आलु रोप्दै हुन्छन् वा नल काटदै
जब म बिरिनचोकबाट तल बेसी बारीतिर ओर्लिन्छु
उहाँ आफ्ना बारीमा हुर्किएका
गोलभेँडाका बोटहरुसँग बोल्दै हुन्छन्
उनी मुसार्छन् थाँक्रामा अडेस लागेर बसेका काँक्राहरुलाई
उनी बारी पुगेपछि जुरुक्क उठ्छन् लोलाएका सागहरु
उनको बोली सुनेपछि शीतले भिजेका फूलहरु पनि हास्न थाल्छन्
उनी सुन्तलासँग दुःखेसो पोख्छन् कि
मङ्सिर लागिसक्यो तिमीहरू किन अझैसम्म अमिलो भनेर
बारीका डिलहरुमा झुन्डिएर बसेका तने बोडिले भन्छन्
हामी लामा भइसक्यौँ, तपाईंकै हातले टिप्नुस्
हलुवावेदहरु रुखको टुप्पाबाट बोल्दछन्
कमान सिंह बा –
‘यो पालि त हामीलाई गोर्खाबजार लिएर जानु
खोरमा बसेका बाख्राहरु घुर्की लाउछन
हामी यो मुसेखरु मात्रै कति खाने चिउला घाँस ल्याइदिनु
हरेक बिरुवासँग हरेक फूलपातसँग
हरेक रातसँग हरेक जुनतारासँग
सबै पशुपन्छी र पहाडसँगको त्यो मित्रता अनवरत छ
आजसम्म एक्लै देखिन मैले उहाँलाई
किसान कहिले एक्लो हुँदैनन्
किसान कहिले हुँदैनन् व्यापारीजस्तै ठग
किसान कहिले हुँदैनन् तनावग्रस्त
कमान सिंह बाले विश्राम लिएको देखिन मैले
र अनुहार कहिले पनि अँध्यारो देखिन

 

कमान सिंह एउटा पहाडको नाम हो
कमान सिंह कर्मको कुरुक्षेत्रमा
गाण्डिव भिरेर हिँड्ने योद्धाको नाम हो
कमान सिंह हिउँदमा फुल्ने लालुपाते हुन्
कमान सिंह लेकमा फुल्ने गुराँस हुन्
कमान सिंह दरौदीका लहर हुन्
कमान सिंह सबेरै उज्यालो बोकेर झुल्किने घाम हुन्
कमान सिंह एउटा सामान्य किसान हुन्
हरेक सामान्यमा असमान्यता लुकेको हुन्छ
कमान सिंह ओठभरि हाँसो र हत्केलाभरि जाँगर बोकेर हिँड्ने
हरियो फाँटमा पहेँलपुर झुलेका समृद्धिका सपना हुन्
ईश्वरको विम्ब देख्छु म उहाँको मुहारमा

 

किसान भोजनका सर्जक हुन्। किसान छन् र पो त हाम्रो भान्सा थरिथरिका खानेकुराले सजिन्छन्। जुम्लाको मार्सी चामलको भात खाएको धक्कु लगाउने हाम्रा नेताहरुलाई थाहा छैन त्यो एक किलो मार्सी चामल उब्जाउन किसानले एक किलो नै श्रमको पसिनाले धरती भिजाएको छ भन्ने कुरा । किसान जति सोझो जिन्दगी मैले कतै भेटेको छैन। किसान उत्पादक हुन्। हामी तिनकै उत्पादन खाएर बाँचिरहेका छौँ। हाम्रा हरेक गाँसमा किसानको श्रम मिसिएको छ । हाम्रा हरेक भोकमा किसानका तृप्त खुसीहरु पग्लिएर आएका हुन्छन् र त हामी अघाउँछौँ। किसानका घरमा घामले बास माग्छन् । किसानका आँगनीमा जुनकिरी नाच्छन् । किसानका बारीमा इमानदारिताको मखमली फुलिरहेको हुन्छ । अनेकौं बाधा र अड्चनबीच पनि किसान मुस्कुराउँछन् । एउटा अबोध बालक र एउटा किसानको मन उस्तै देख्छु म ।

 

हरेक रात एउटा किसान समृद्धिको सपना देख्छ। किसान छल्दैन अरुले जस्तै । किसान व्यापार जान्दैन । आफ्नो सिर्जनाको मोल गर्दैन । आफ्नो उत्पादनको भाउ तोक्तैन। उसले कहिले हिम्मत गरेन आफूले उब्जाएको अन्नको मोल राख्न। व्यापारीले खोसेर लगेका छन् उसका आँखाका सपनाहरू । यो देशमा किसानलाई माया गर्ने कोही छैनन् । किसानहरु पहाडजस्तै सोझा छन् । पहाडलाई कुल्चेर हिँड्ने हजारौं छन् तर कहिले भनेन पहाडले दुख्यो भनेर। किसानलाई प्रेम गर्न फुर्सद छैन ।

 

किसानलाई मीठो खाने समय छैन । किसानलाई राम्रो लाउने बानी छैन। किसान आराम गर्दैन । आरनको खलाँतीजस्तै ऊ हतासले श्वास फेर्छ र हम्किदिन्छ आफुले हुर्काइरहेका बिरुवाहरुलाई । उसलाई न जाडो छ । उसलाई न गर्मी छ । उसलाई थाहै हुन्न ऋतु फेरिएको पनि । उसलाई सधैं असार छ । ऊ सधैं हतारमा छ । उसले बुझेको छ माटोको महत्व । धरतीको कोमलता उसका नाङ्गा पैतालालाई मात्रै थाहा छ । किसानको मर्म नबुझ्ने नेपालका नेतालाई के थाहा माटो के हो ? किसान र माटो यी दुवै एक अर्काका पर्याय हुन् ।

 

आजकल खेतीयोग्य जमिन बाझिन थालेका छन् । नेपालका किसानहरु आफ्ना सन्ततिलाई कृषि पेसा नअंगाल्न प्रेरित गरिरहेका छन् । कृषि पेसाले एउटा कृषकको परिवार समेत पालिन छोडेका छन् । कृषिप्रधान देशका सबै कृषकहरुलाई सम्मान होइन घृणाको नजरले हेरिन थालेको छ । एउटा नेताका झोले कार्यकर्ता मञ्चमा आसीन भएर सम्मानित हुँदा एउटा मिहिनेती भगवान्जस्तो कृषकका नाउँ समेत कोही लिन चाहन्नन यो देशमा । कृषिप्रधान देशमा कृषि पेसालाई आदर गर्न जानेको भए एक वर्षमा १८ अर्बको चामल भारतबाट किनेर खानु पर्दैनथ्यो होला । रक्सी बेच्नेको र भारतका कोठीमा नेपाली चेली बेच्नेको सम्मान होला यो देशमा तर कृषक सधैं कुनामा मैलो कछाड र कुर्कुच्चा फुटेको पैताला देखाएर बाँचिरहेको छ । यहाँ क्रान्ति राजनीतिमा मात्रै आउँछ, कृषिमा आएन । राजनीतिक परिवर्तनका लागि विशाल युद्ध भए । भयावह द्वन्द्व/प्रतिद्वन्द्व भए ।

 

खोइ के दियो त राजनीतिक परिवर्तनले जब कि चामल र पीठो समेत भारतबाट किनेर खानुपर्ने अवस्था छ। करोडमा निर्यात हुन्छ खर्बमा आयात हुन्छ । अनि कसरी हुन्छ व्यापार सन्तुलन ।

 

केवल राजनीतिक नारा र खोक्रा परिवर्तनले मात्रै देशको मुहार फेरिन्न । देशको मुहार त केवल उत्पादनले फेरिन्छन् । हामीसँग बेच्ने चिज केही छैन । हामी केवल किन्छौँ मात्रै । किसानले उब्जाएको अनमोल अन्नलाई बिचौलियाले मूल्यहीन बनाइदिन्छ र बाध्य बनाउँछ भारतसँग चामल किन्न। किसान दूध पोख्दै हिँड्ने उता दिन्दिनै भारत पाउडर दूधको मूल्य बढाइरहने । उताबाट जति महङ्गो भए पनि किन्न हुने यता आफ्ना कृषकहरुले उब्जाएका गोलभेँडामा थोरै भाउ बढ्यो भने हाहाकार गर्ने एउटा यस्तो समूह छन्, जसलाई नेपाल राष्ट्र भारतमा गाभिए पनि हुने भनेर कल्पना गर्छन् ।

 

अस्ति एउटा राजनीतिक कार्यक्रममा यस्तो एउटा झोले कार्यकर्ता भेटे कि नेपाल भारतमा गाभियो भने दुई लाखमा कार आउँथ्यो । भारतीय पासपोर्ट लिन पाइयो भने कति देशमा त फ्री आवतजावत गर्न पाइन्थ्यो रे ! यस्तो हन्डर र सास्ती त भोग्नुपर्दैनथ्यो रे ! मैले त्यो झोले कार्यकर्तालाई जवाफ फर्काउन बाध्य भए कि भाइ नेपाललाई भारतमा होइन, भारतलाई चाहिँ नेपालमा गाभ्नुपर्छ त्यसो हो भने तिनलाई पनि थाहा हुन्थ्यो नेपालीले भोगिरहेका दुःख र पीडाहरुको बारेमा ।

 

अलिकति उज्यालो नपोखिँदै धरतीमा किसान आफ्नै खेतमा इच्छाको धूपले आशाको बालीहरुलाई पुजा गर्छन् । कान्ला कान्लामा दौडिरहने गरा गरामा हिँडिरहने पहाडै पहाड चलिरहने एउटा अचम्मका धावक हुन् कृषक । पसिनाले भिजेको निधारमा कहिले देखिन मैले तिनको विरक्तिएको मुहार। दरौदी दौडिएजस्तै खुसीका लहरहरु ओठमा बोकेर बारीका कान्लै कान्ला घामजस्तै हामफाल्ने किसानलाई सधैं भरिलो देखेँ मैले। राज्यसँग कहिले केही नमाग्ने बरु राज्यलाई नै सधैं दिइरहने देवता हुन् किसान । यदि भगवान् कहीँ छन् भने किसानको आँखामा खोज्दा पाइन्छ। कोही इमानदार मानिस भेटिएनन् भने खेतमा हलो जोतिरहेको किसानलाई गएर भेट । सहरमा धर्म सकिएको धेरै वर्ष भयो।

 

गाउँका अबोध किसानको छातीमा धर्म र नैतिकता बास बसेको छ। गाउँबाट सहरले लगातार लुटेर लिए पनि तिनै लुटेराहरुको लात्रो भराइदिने काम गाउँले गरिरहेको छ । नेपालको राजनीतिले गाउँ सक्यायो । किसान सक्कायो। धर्म र नैतिकता सक्यायो। आचरण र चरित्र सक्यायो। इमानदारिता र देशभक्ति सक्यायो। एउटा किसानको चरित्रले धानेको छ नेपाल र नेपालीको पहिचान । टोपी फालेर आधुनिक बनिने भए सर्पले पनि समय–समयमा काँचुली त फेर्छ नै तर विष भएको थैली कहिले फेर्दैन किनकि उसको पहिचान हो त्यो । पहिचानजति विदेशीलाई सुम्पिएर खोक्रो राष्ट्रवादको नाराले हुनेवाला केही छैन । यो राज्यमा पानी नचल्ने जातका रूपमा किसानलाई राखिएको छ । तिनै किसानका भोटले आफू मन्त्री हुने नेताले कहिले सोधेनन् कि किसानको मर्म के हो ? कृषिलाई आधुनिकीकरण गर्ने परिकल्पनाकार नेपालमा कोही जन्मिएनन् ।

 

किसानलाई महत्व दिने नेता कोही भेट्न सकिएन । किसानका खोसेर खाने धेरै भेटिए तर किसानलाई दिने कोही भेटिएनन् । अमेरिका र भारतबाट आयातित भएका स्याउलाई किलोको सात सय तिरेर खाने अनि हाम्रा मुस्ताङ र मार्फाका स्याउ नबिकेर कुहाउनुपर्ने यो कन्तबिजोग कसले पा-यो यो देशमा । किसानका आँशुले बाटो पाउन्नन क्यारे यी राजनीति गर्नेहरूले । भाटभटेनी सुपर मार्केटले सिध्यायो नेपाली किसानलाई । एउटा सच्चा नेपाल आमालाई माया गर्ने सपुत यो देशको अर्थमन्त्री हुन्थ्यो भने चाइनाबाट आयात हुने गुन्द्रुक र च्याउमा बन्देज लगाउँथ्यो । अब त हुँदाहुँदै दुना टपरी पनि चाइनाबाट आउन थालेका छन् । नेपालीले सोही श्रद्धामा प्रयोग गर्ने सामग्री समेत चीनबाट आयात हुनथालेपछि हामीले यो शिर किन ऊँचो गरेर हिँड्ने । हामी किन विदेशीका आयातित सामानमा आगो लगाउँदैनौ ? हामी किन यति धेरै अनैतिक र हरामखोर हुँदै गएको ?

 

किसानलाई प्रोत्साहन खोइ ! किसानलाई सिँचाइको व्यवस्थापन खोइ ! किसानलाई तालिम खोइ ! किसानलाई बीउबीजन मलखादमा राज्यले दिने नैतिक सहयोग खोइ ! किसानले आफ्नो उत्पादनको उचित मूल्य पाएको खोइ ! एउटा जागिरेले पेन्सन पाउँछ तर किसानले भोलि काम गर्न नसकेको अवस्थामा भोकभोकै मर्नपर्छ । उसलाई पनि यो राज्यले विशेष कोषको व्यवस्थापन गरिदिएको खोइ ! किसानको बीमा खोइ ! किसानलाई सुरक्षा भत्ता खोइ ! राज्यले जागिरभन्दा कृषि पेसा अँगाल्नेलाई समर्थन गर्नुपर्छ त्यो खोइ !

 

खाद्य गोदाममा नेपाली कृषकले उब्जाएको अन्न कुहिने तर नेपालका सुपरमार्केटले प्लास्टिकका चामल बेचे पनि बिक्री हुने यो कहाँसम्मको अधोगति हो, हाम्रो र यस्तो भयग्रस्त समय त्रासदीको अन्त कहिले हुने ?

 

जब हामी सामान्य पसलबाट सुपरमार्केट संस्कृतिमा गयौँ अनि गु–मुत बिक्न थाले । किसानका अन्न कुहिन थाले। हामी प्याकिङ संस्कृतिमा रमाउन थाल्यौँ । हामीलाई चीन र भारतले तिनका आची झिलिक्क पारी प्याकिङ गरिदिए भने त्यसैलाई गुदपाक भनी किनेर खाइदिन्छौँ । हामी खोलमा र झोलमा डुब्यौँ । फुटेको पैताला र खुम्चेको निधार लिएर पसिना वासना आउने कृषकभन्दा आची नधुने विदेशी प्यारा लाग्नथाले। हामी आफैँ सक्किँदै गएको थाहा छैन । हामी अमृतको कुवालाई पुर्दै छौँ र विषको कुवालाई भर्दै छौँ । दूध फ्याँकिन्छन्, रक्सी राखिन्छन् ।

 

अर्थमन्त्रीज्यू ! तपाईंले बजेट बनाउनुअघि कहिले सोध्नुभयो टोपीको घेरा फाटेको एउटा गरिब किसानलाई आफ्नो दरबारमा बोलाएर कि तिम्रो समस्या के हो भनेर ? अबदेखि बजेट निर्माण गर्दा गाउँघर खेत–खेतमा गएर बारी–बारीमा गएर किसानलाई भेट्नुस् कि तिमीहरूलाई के सहयोग गरुँ भनेर ! नेपालीलाई आयातित कपडा लगाउन बन्देज लगाउनुस् त कपास र धागो उद्योग कसरी वृद्धि हुन्छ यहाँ ! नेपालीलाई चरित्रभन्दा स्वतन्त्रता र मनपरी बढी चाहिएको छ । बन्देज लगाउनुहोस् बन्देज लगाउनुस् आयातित संस्कृति र आयातित उपभोग्य वस्तुमा । मास र मस्याङ त हाम्रै बारीमा फल्छन् नि किन वार्षिक सत्ताइस करोडको भटमास किन्छौँ हामी भारत र चीनसँग ? 

 

हामी आफूबाट आफैँ मुक्त हुन सकिरहेका छैनौँ भने केको २१औँ शताब्दीको स्वतन्त्रताको कुरा हँ ? एउटा देशभक्त इमानदार हिटलर चाहिएको छ नेपाललाई । गर कि मरको अवस्था नआएसम्म नेपालीको उन्नति हुनेवाला छैन । गफै मात्रै गरेर खान पल्किएका फतुरहरु नसिद्धिएकै हुन् भने तिनलाई यो देशमा कुनै स्थान छैन । भाटभटेनी सुपरमार्केटमा किनेको गुन्द्रुकको झोलसँग प्लास्टिकको चामल खानेहरु फेरि देखिन्छन् लाइभ शो भन्दै फेसबुकमा र के–के बकबकाउँछन् कथाकुथुङ्ग्री ।

 

भाषणले बिग्रेको हो यो देश । थुतुनो बरु सुंगुरको राम्रो किनकि उसलाई एउटा गरिब किसानले पालेको छ । गाउँको खेती होइन फेसबुके खेती फस्टाएको छ आजकल नेपालमा । हामी केको आधुनिक ? जब जनैपूर्णिमामा बाहुनले लाउने जनै त चाइनाले बाटेर पठाइरहेको छ भने हामी सिल्लिसिल्पट । हामी आधुनिकताका अन्धभक्त। हामी कसरी आधुनिक ? कागजले आची पुसेर आधुनिक हुने भए किन टुक्राटुक्रा भएर विभाजन हुन्थ्यो रसिया । हिजो विश्व नै मेरो हो भनेर साम्राज्यवाद फैलाउने देश द ग्रेट ब्रिटेन अहिले एउटा सानो सहरमा किन खुम्चिएर बाच्नुपर्थ्यो र ? के आधुनिकता सबै कुरा हो र ? एक करोडको गाडीमा सयर गरेर हिँड्ने नेताभन्दा खुट्टामा कटुसका काँडा गोपेर हिँड्ने एउटा किसानको आँखामा हेर्नुस् त उज्यालो मुहार कसको हुन्छ ?

 

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com