Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसामाजिक सुरक्षा कार्यक्रमले आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नगारिकलाई संरक्षण प्रदान गर्छ : प्रधानमन्त्री ओली

सामाजिक सुरक्षा कार्यक्रमले आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नगारिकलाई संरक्षण प्रदान गर्छ : प्रधानमन्त्री ओली


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कार्यक्रमले आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकलाई संरक्षण प्रदान गर्ने बताए । बिहीबार तेस्रो सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक सुरक्षा कोष (एसएसएफ) सँग आबद्ध रोजगारदाता, यसका योगदानकर्ता तथा कोष परिवारलाई शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस कार्यक्रमले आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकलाई संरक्षण प्रदान गर्दै सुदृढ सामाजिक सुरक्षा प्रणालीले औद्योगिक शान्ति र स्थायित्व कायम गरी उत्पादकत्व बढाउने र थप रोजगारी समेत सिर्जना गर्ने राज्यको नीतिलाई आत्मसात् गरेको बताए ।

मन्त्रालयले कोभिड १९ महामारीको कारण कुनै औपचारिक कार्यक्रम नगरी भर्चुअल माध्यमबाट कार्यक्रम गरेको थियो । सामाजिक सुरक्षा कार्यक्रम सरकारले प्राप्त गर्न खोजेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न सुरु गरिएको कार्यक्रम भएको बताउँदै उनले यस कार्यक्रमले जनताको अप्ठ्यारो अवस्थामा राज्य छ, राज्यका निकायहरु छन् र तिनले राज्यले निर्वाह गर्नुपर्ने अभिभार वहन गर्दछन् भन्ने विश्वास आम नागरिकमा जगाउन अवश्य सहयोग पुग्ने बताए ।

‘कार्यक्रमको सफल अभ्यासबाट नागरिक कल्याणलाई सुनिश्चित गर्दै देशलाई कल्याणकारी लोकतन्त्रको पथमा अगाडि बढाउन सकिन्छ भन्ने कुरामा सरकार स्पष्ट रहेको छ’, उनले भने, ‘कोषका योगदानकर्ता लक्षित औषधि उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजनाहरु एकै साथ सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दछु ।’

आमनागरिक विशेषगरी श्रमजीवी वर्गको सुविधा सरकारको मात्र हैन सरकारसँगै हातेमालो गर्ने निजी क्षेत्रको समेत चिन्ताको विषय हो । असल श्रम अभ्यासमार्फत श्रमिकको उत्पादकत्वमा समेत वृद्धि गर्दै आर्थिक प्रगतिको मार्गप्रशस्त गर्न सामाजिक सुरक्षालाई सिद्धान्त मात्र होइन व्यवहारको रुपमा अवलम्बन गर्नु आवश्यक छ । ‘तसर्थ सरकारले सुरु गरेको कार्यक्रमलाई समर्थन जनाउँदै सहकार्य गरिरहेको निजी क्षेत्र आगामी दिनमा झन् जिम्मेवारी बोधका साथ अगाडि बढ्नेछन् भन्ने सरकारले विश्वास गरेको छ’, प्रधानमन्त्री ओलीले भने ।

आगामी दिनमा सामाजिक सुरक्षा कोषलाई सबैले अपनत्व बोध गर्ने कोषको रुपमा विकास गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पु-याउन गर्नुपर्ने समन्वय तथा सहयोग गर्ने कुरा सरकारको तर्फबाट विश्वास दिलाउन चाहेको बताए । यस्तै उनले सामाजिक सुरक्षा दिवसले कोष परिवारमा थप ऊर्जा प्राप्त भई आगामी दिनमा अझ मजबुत बन्दै जाओस् र कोषका गतिविधिहरु अपेक्षाअनुरुप गुणस्तरीय बन्दै जानुपर्ने बताए ।

कार्यक्रममा श्रममन्त्री रामेश्वर राय यादवले कोषमार्फत प्रदान गरिने गुणस्तरीय सेवालाई प्रविधिमा आधारित बनाउँदै वित्तीय सेवालाई कुशलतापूर्वक सञ्चालन गर्न कोष अविच्छिन्न रुपमा अघि बढेको बताए । सेवाकालमा जोखिम न्यूनीकरण र अवकाशपछि सुरक्षा प्रदान गर्नु कोषको उद्देश्य रहेको बताउँदै उनले योगदानकर्तालाई कुशल व्यवस्थापन गर्न कोष कटिबद्ध छ । ‘योगदानकर्ताले कोषमा राखेको रकम दिगो प्रतिफल दिनको लागि सुरक्षित लगानीमार्फत दिगो प्रतिफल दिने गरी कोषद्वारा तयार गरिएको लगानी कार्यविधि स्वीकृत गर्ने चरणमा रहेको छ’, मन्त्री यादवले भने, ‘कोषमा रहेका पुँजीलाई पूर्वाधार निर्माणमा लगानी गर्नु आवश्यक रहेको छ ।’

उनले निजी संगठित क्षेत्रलाई कोषमा आबद्ध गराउन निजी संगठित क्षेत्रको सामाजिक सुरक्षा योजना कार्यविधि २०७५ संशोधनको चरणमा रहेको बताए । यस्तै कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले संस्थागत सुशासनको पालना आन्तरिक नियन्त्रण प्रणालीको असल कार्यान्वयन तथा योगदानकर्ता एवं रोजगारदाता मैत्री सेवाप्रवाह गर्दै अगाडि बढ्नेमा कोष प्रतिबद्ध रहेको बताए ।

कोषको स्थापना २०६७ चैत ७ गते भए पनि नेपालको संविधान २०७२ ले संवैधानिक हकको रुपमा श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा स्थापित गरेपश्चात् जारी भएको श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ लगायत अन्य कानुनी पूर्वाधारहरूको व्यवस्था भएपश्चात् २०७५ मंसिर ११ मा योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रुपमा सञ्चालनमा आएको हो  ।

मंसिर १० सम्ममा कोषमा सूचीकृत प्रतिष्ठानहरूको संख्या १२ हजार नौ सय १५ पुगेको छ । त्यसैगरी कोषमा सूचीकृत योगदानकर्ताहरूको संख्या २०७६ को सोही अवधिमा रहेको १ लाख २३ हजार ५ सयबाट बढेर १ लाख ७९ हजार ७ सय ९१ पुगेको छ । पछिल्लो समय सूचीकरणका साथसाथै नियमित योगदान गर्ने योगदानकर्ताहरूको संख्यामा समेत उल्लेख्य सुधार भई २०७७ कात्तिक मसान्तसम्ममा यो संख्या ७२ हजार पुगेको छ भने यसै अवधिमा कोषले तीन अर्ब १० करोडभन्दा बढी योगदान रकम संकलन गरेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया