काठमाडौं, मंसिर १०
चीन तिब्बत–नेपाल ‘इकोनोमिक एन्ड ट्रेड फेयर’ सुरु भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा सोमबार चार दिने ट्रेड फेयर सुरु भएको हो । जनगणतन्त्र चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको ट्रेड डेभलपमेन्ट ब्युरो र चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको आयोजना तथा नेपाल–चीन उद्योग वाणिज्य संघको सहकार्यमा एकदेशीय व्यापार मेला सुरु भएको हो । आयोजक तिब्बत बोर्डर ट्रेड चेम्बरका अध्यक्ष लावा छिलेका अनुसार मेलामा चीनका ५० भन्दा बढी प्रदर्शकले स्टल राखेका छन् ।
मंसिर १२ गतेसम्म चल्ने मेलामा जौबाट बनेका खाद्य सामग्री, दूग्धपदार्थ, मदिरा, वाइन, तिब्बती औषधि, हस्तकला, स्किन केयरसम्बन्धी उत्पादन, खेलकुद, कपडा, भवनका सामग्री, साइकललगायतको स्टल राखिएको छ । नेपालमा लगानीको अवसर पहिचान गर्न चाहने चिनियाँ कम्पनीहरू पनि मेलामा सहभागी भएको अध्यक्ष छिलेले जानकारी दिए । नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले मेलामा व्यवसायी–व्यवसायीबीच (बीटुबी) छलफल, समझदारीपत्रमा हस्ताक्षरलगायत कार्यक्रम रहेको बताए ।
मेलाको उद्देश्य उपभोक्तालाई वस्तु बिक्री गर्नेभन्दा पनि चिनियाँ वस्तुको क्रेता (बायर)लक्षित प्रदर्शनी गर्नु रहेको उनले बताए । त्यसैले चिनियाँ व्यवसायीले नेपाली व्यवसायीसँग आयात–निर्यात अभिवृद्धि, लगानीलगायत विषयमा अन्तरक्रिया गर्ने लक्ष्य लिएको तुलाधरको भनाइ छ । दुई चेम्बरबीच सन् २०१४ मा भएको समझदारीअनुसार दुवै मुलुकका उद्यमी, व्यवसायीले पालैपालो आफ्ना वस्तु अर्को मुलुकमा लगेर प्रदर्शन गरी दुई पक्षीय व्यापारको आकार बढाउन यसपालि चिनियाँ व्यवसायी नेपाल आएको बताइएको छ ।
आगामी अप्रिलतिर नेपाली व्यवसायीले तिब्बतमा आयोजना हुने यस्तै प्रकारको प्रदर्शनीमा स्टल राख्ने योजना छ । मेलामा सहभागी चिनियाँ व्यवसायीले नेपालमा उत्पादन गरेर चीन निर्यात गर्न सकिने वस्तुबारे पनि अध्ययन गर्ने उद्देश्य राखेको तुलाधरले जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल प्रमुख अतिथि रहेको उद्घाटन समारोहमा नेपालका लागि चिनियाँ दूतावासका वाणिज्य सचिव, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतको सहभागिता थियो ।
सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...
आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।
Setodewal Marg, Kupondole, Lalitpur
Tel : +977-1-5554236
Fax : +977-1-5523181
Email : aarthik.dainik@gmail.com
Marketing Email : marketing.arthikdainik@gmail.com