सुबास बस्नेत
दोलखा, मंसिर १५
लामोसाँघु जिरी सडकअन्तर्गतको मुडे–चरीकोट सडक खण्ड निर्माणकार्यमा ढिलासुस्ती गरेको भन्दै दोलखा जिल्लाबासीले ठेकेदारको नाममा शंख फुकेर विरोध कार्यक्रम गरेका छन् । नागरिक समाजको अगुवाइमा जारी आन्दोलनअन्तर्गत शनिबार जिल्लाबासीले ठेकेदारको नाममा शंख फुक्ने कार्यक्रम गरेका हुन् ।
सडक निर्माणकार्य छिटो सम्पन्न गराउन दबाबस्वरुप जिल्लाबासी ठकेदार कम्पनीविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेका छन् । जसअन्तर्गत शनिबार शंख फुकेर दबाबमूलक कार्यक्रम गरेका हुन् । यसअघि स्थानीयले चार वर्षदेखि काम अलपत्र पारेर जनतालाई दुःख दिने मुडे–चरीकोट सडक विस्तार तथा स्तरोन्नतिको जिम्मेवारी पाएको ठेकेदार दिपक सापकोटाको फोटो सार्वजनिक गरेका थिए । त्यस्तै गत शनिबार स्थानीयले मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका थिए ।
चार घण्टा लाग्ने बाटोमा १० घण्टा लाग्ने हुँदा पनि सम्बन्धित निकायले मर्मतका लागि चासो नदेखाएको स्थानीयको आरोप छ । उनीहरुले राजनीतिक दलका नेता तथा सरकारमा रहेको व्यक्तिहरुलाई समेत जिल्ला प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् । उनीहरुले सार्वजनिक बसहरुमा ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाका प्रबन्धनिर्देशक दिपक सापकोटाको तीनथर फोटो सार्वजनिक गर्दै नैतिक दबाब अभियान सुरु गरेका थिए । अभियानमा सक्रिय नागरिक समाजका अगुवाले गोकर्ण प्रसाद भण्डारीले मुख्य सडक मुडे चरीकोट पाँच वर्षसम्म पनि कालोपत्रे नहुँदा दोलखा आवतजावत गर्ने पर्यटकसँगै स्थानीयले समेत सास्ती भोग्नुपरेको बताए ।
सडक निर्माणको मुख्य जिम्मेवार निकाय ठेकेदार भए पनि सडक निर्माणमा सरकारी उदासीनताका कारण पनि समयमा नै कालोपत्रे हुन नसकेको भण्डारीको आरोप छ । त्यस्तै नागरिक समाजका अगुवा रमेश खतिवडाले स्थानीयले सडक विस्तारको काम समयमै सक्न पटक पटक दबाब दिँदा समेत बेवास्ता गरिएको भन्दै सबै स्थानीय आक्रोश पोख्दै सडकमा उत्रिनुपरेको उनले बताए । भारतीय एक्जिम बैंकको झण्डै एक अर्ब २४ करोड ऋण सहयोगमा ५५ किलोमिटरको लामोसाँघु चरीकोट सडक विस्तारको क्रममा विभिन्न ठाउँमा थुपारिएको माटो र खाल्डाखुल्डीको कारण यातायात सञ्चालनमा समस्या देखिएको छ ।
सडक विस्तारमा भएको लापरबाहीकै कारण काठमाडौँ चरीकोटको एक सय ३३ किलोमिटरको दूरी तय गर्न १२ घण्टाभन्दा बढी समय लाग्ने गरेको विरोध कार्यक्रममा सहभागी सिर्जन कुमार घिमिरेले बताए । लामोसाँघु–चरीकोट सडक विस्तार कार्यक्रमअन्तर्गत लामोसाँघु–मुडे २५ किलोमिटर सडक विस्तार र मूडे–चरीकोट ३० किलोमिटर सडक विस्तारको कामको सम्झौता २०७२ भदौमा भएको थियो । दुवै कामको सम्पन्न अवधि दुई वर्षको थियो । तर सम्पन्न अवधि सकिएर दुई वर्ष नाघिसक्दा समेत दुवै कामको प्रगति हुनसकेको छैन ।
लामोसाँगु मूडे सडक खण्डअन्तर्गत चेनेज शून्यदेखि २५ किमिसम्म लामोसाँघु–मुडे सडक खण्डको काम सिमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ति जेभीले गरिरहेको छ भने चेनेज २५ किमिदेखि ५५ किमिसम्म मूडे–चरीकोट सडक खण्डको काम शकिल हेदर, शंकरमाली, सुनौला खिम्ति जेभीले अहिले गरिरहेकोे छ । सडक आयोजनाका नयाँ प्रमुख दिप वाराही सडक विस्तार तथा स्तरउन्नतिको काम वर्षात्अघि नै सक्ने गरी अगाडि बढाउन आफूले दुवै खण्डको निर्माण कम्पनीलाई निर्देशन दिएको र उनीहरुले काम सुरु गरेकोले चाँडै यो समस्या समाधान हुने बताउँदै आएका छन् । यता चरीकोटका स्थानीयले भने बाटोको कामले गति नलिएसम्म सडकमा यस्ता दबाबमूलक विरोध कार्यक्रम निरन्तर गरिरहने बताएका छन् ।
सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...
आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।
Setodewal Marg, Kupondole, Lalitpur
Tel : +977-1-5554236
Fax : +977-1-5523181
Email : aarthik.dainik@gmail.com
Marketing Email : marketing.arthikdainik@gmail.com