प्रवीण राउत
काठमाडौँ, मंसिर १६
वैदेशिक रोजगारी सुरक्षित नहुँदा पछिल्लो समयमा साढे दुई सयभन्दा बढी युवाले विदेशी भूमिमा ज्यान गुमाउनुपरेको छ । वैदेशिक रोजगार बोर्डका अनुसार चालू आर्थिक वर्ष (२०७६/०७७) को पहिलो चौमासिक अवधि अर्थात् साउन, भदौ, असोज र कात्तिकमा गरी दुई सय ५१ जना युवाको विदेशी भूमिमा मृत्यु भएको छ । मृत्यु हुनेमा दुई सय ४३ जना पुरुष र आठ जना महिला रहेको बोर्डले जनाएको छ ।
उनीहरु वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकको साथै जापान, कोरिया र युरोपेली मुलुकमा रहँदा मृत्यु भएको बोर्डले जनाएको छ । खाडी मुलुक कतार, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, अफगानिस्तान, ओमान, मलेसिया, माल्दिभ्स, इजरायल, जापान, पोल्याण्ड, पोर्चुगललगायतका मुलुकमा नेपाली युवाहरुको मृत्यु भएको हो । मृत्यु हुने युवाको संख्या सबैभन्दा बढी मलेसिया र साउदी अरेबियामा रहेको छ ।
बोर्डका अनुसार चालू आवको पहिलो चार महिनामा विदेशमा कामका लागि गएका युवाहरुमध्ये मलेसियामा ७६ जना, साउदी अरेबियामा ५४ जना पुरुष र दुई जना महिला, कतारमा ४० जना, कुवेतमा १२ जना पुरुष तथा एक जना महिला, माल्दिभ्समा दुई जनाको मृत्यु भएको छ । त्यस्तै जापानमा दुई जना पुरुष, पोल्याण्डमा दुई जना पुरुष, पोर्चुगलमा एक जना, अफगानस्तिानमा दुई जना, ओमानमा दुई जना, दक्षिण कोरियामा पाँच जना, बहराइनमा दुई जना पुरुष र दुई जना महिला, इजरायलमा एक जना, संयुक्त अरब इमिरेट्समा ३९ जना पुरुष र दुई जना महिला गरी कुल दुई सय ४३ जना पुरुष र आठ जना महिलाको विदेशी भूमिमा मृत्यु भएको छ ।
साउनमा ५८ जना पुरुष तथा दुई जना महिला गरी ६० जना, भदौमा ६२ पुरुष दुई महिला गरी ६४ जना, असोजमा ४७ जना पुरुषको मृत्यु भएको बोर्डले जनाएको छ । बोर्डका अधिकारीहरुका अनुसार विदेशमा मृत्यु हुनुमा विभिन्न खालका दुर्घटना तथा स्वास्थ्यसम्बन्धी जानकारी अभाव हुनुलाई कारण मानिएको छ । त्यस्तै, ट्राफिक नियमहरु नजान्दा तथा बेवास्ता गर्दा सडक दुर्घटनामा परी मृत्यु हुने गरेको अधिकारीहरुको भनाइ छ । यस्तै स्वास्थ्यसम्बन्धी जानकारी नहुँदा दिनभरि काम गरेको मानिस बेडमा नै मृत्यु हुने गरेका छन् । खाडी मुलुकमा काम गर्ने युुवाहरु दिउँसो अत्यधिक तापक्रममा काम गर्नुपर्ने हुँदा शरीरमा पानी कम हुने र रातभरि एयर कन्डिसनर (एसी)मा सुत्दा ‘कार्डिक एरेष्ट’का कारण मृत्यु हुने गरेको पाइन्छ ।
यस्तै वैदेशिक रोजागरीको क्रममा गएका युवाहरुका समूह–समूह बीच हुने झगडा, अत्यधिक रक्सी सेवन तथा हृदयाघातलगायतका कारणले पनि मृत्यु हुने गरेको अधिकारीहरु बताउँछन् । यस्तै चालू आवको पहिलो चार महिनामा एक सय १९ जना युवाहरु बिरामी तथा घाइते भएका छन् । वैदेशिक रोजगारीका लागि नौवटा मुलुक पुगेका एक सय १९ जना युवाहरु विभिन्न दुर्घटनामा परी घाइते भएका छन् । बोर्डका अनुसार मकाउमा एक जना, कतारमा २७ जना, कुवेतमा चार जना, दक्षिण कोरियामा सात जना, बहराइनमा एक जना, मलेसियमा २५ जना, माल्दिभ्समा दुई जना, युएईमा ३४ जना साउदीमा १८ जना गरी कुल एक सय १७ जना पुरुष र दुई जना महिला कामको सिलसिलामा विदेशमा घाइते हुन पुगेका छन् ।
यस्तै साउनमा ४५ जना, भदौमा २५ जना, असोजमा २८ जना युवाहरु विदेशी भूमिमा घाइते भएका छन् । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन नसक्दा यस क्षेत्रमा अनगिन्ती समस्या रहेको छ । सरोकारवालाहरुका अनुसार वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेको अवस्थामा समेत सरकारले यसलाई व्यवस्थित बनाउनेतर्फ लागेको देखिँदैन । यसले गर्दा विदेश गएका नेपाली युवाहरुले मृत्यु जस्तो डरलाग्दो परिस्थितिको सामना गर्नुपरेको देखिन्छ ।
सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...
आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।
Setodewal Marg, Kupondole, Lalitpur
Tel : +977-1-5554236
Fax : +977-1-5523181
Email : aarthik.dainik@gmail.com
Marketing Email : marketing.arthikdainik@gmail.com