उपनिर्वाचनमा प्रतिपक्षभन्दा सत्ताधारी दोब्बर अगाडि

एक प्रदेशसभा गुमाउँदा अध्यक्ष/उपाध्यक्ष नेकपाले खोस्यो

काठमाडौँ, मंसिर १६
शनिबार सम्पन्न संघ, प्रदेश र स्थानीय तहको अधिकांश निर्वाचन परिणाम सार्वजनिक भएको छ । केही स्थानमा सत्ताधारी दल नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबीच पद खोसाखोस भए पनि परिणाम अघिल्लो निर्वाचनकै जस्तो देखिएको छ । सत्ताधारीले राम्रो काम नगरेको भनेर आलोचना भइरहेको बेला सत्ताधारी नै यसअघिकै ‘पोजिसन’मा देखिएका छन् । एउटा प्रदेशसभा गुमाए पनि सत्ताधारी नेकपाले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष भने विपक्षी पार्टीबाट खोस्न सफल भएको छ ।

वडाहरुमा भएको निर्वाचनमा नेकपा र कांग्रेसको उस्तै–उस्तै अवस्था देखिएको छ । यद्यपि तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि भएको निर्वाचनले नेकपालाई अझै ठूलो स्थान दिने अपेक्षा गरिए पनि पुरानै अवस्था देखिएको छ । केही गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपाले जित हासिल गरे पनि मतान्तर भने खासै बढाउन सकेन । ती दुई पार्टी भिन्नाभिन्नै भएर निर्वाचन लड्दाको अवस्थाजस्तै देखिएको छ । यसले नेकपामा चरम गुटबन्दी र पूर्वमाओवादीलाई पूर्वएमालेका मतदाताले स्थानीय तहमा सहज रुपमा स्वीकार नगरेको देखिएको छ ।

पार्टी एकता भए पनि प्रदेशसभामा भक्तपुरमा नेकपाले हार खाएको छ । अलोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाएको कारण पूर्वएमालेबाट मत नआएपछि नेकपाका डीपी ढकाल पराजित भएका छन् । त्यहाँ नेपाली कांग्रेसका कृष्णलाल भँडेल निर्वाचित भएका छन् । तर, नेकपाले कास्की २ मा भने शानदार विजय हासिल गरेको छ । नेकपाकी विद्या भट्टराईले २४ हजार तीन सय ९४ मत पाएर विजयी भएकी छिन् भने नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार नौ सय ९१ मत मात्र पाएका छन् । सो क्षेत्रमा जित्न कांग्रेसले ठूलो शक्ति परिचालन गरे पनि सफल हुन सकेन । साझा र विवेकशील नामका पार्टीले लज्जास्पद मत ल्याएका छन् भने पूर्वपञ्चहरुको समूहको पनि अस्तित्व मेटिने स्पष्ट संकेत देखिएको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद कांग्रेसबाट खोसेर नेकपाले लिएको छ । उपाध्यक्षमा नेकपाकी रुपा शाही विजयी भएकी छिन् । उनी यसअघिको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर पराजित भएकी थिइन् । त्यस्तै, राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरको गृह गाउँ महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका विक्रम चौधरी निर्वाचित भएका छन् । उनी यसअघिको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर पराजित भएका थिए । यसअघि सो गाउँपालिकामा राजपा विजयी भएको थियो । उपनिर्वाचनमा राजपमा तेस्रो भएको छ ।

संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन् । प्यूठानको ऐरावती गाउँपालिका–२ वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएर नेकपाका भिमेश कुमार घर्ती मगर विजयी भएका छन् । पार्टी केन्द्रले सो वडामा राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय गरे पनि स्थानीय नेता कार्यकर्ताले नमानेर नेकपाका उम्मेदवार उठाएर जिताएका हुन् । निर्वाचन आयोगले उनलाई स्वतन्त्र भने उनी नेकपाका उम्मेदवार हुन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पनि कांग्रेसबाट नेकपाले खोस्ने देखिएको छ । यसअघिको निर्वाचनमा सो गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । बाग्लुङ र दाङमा भएको प्रदेशसभा निर्वाचनमा पनि नेकपाको अग्रता छ भने धरान उपमहानगरपालिकामा नेकपा र कांग्रेसबीच प्रतिस्पर्धा छ । विद्रोहीसहित २५ वटा वडामा नेकपाका अध्यक्ष विजयी भएका छन् भने राजपा र कांग्रेसबाट अध्यक्ष र उपाध्यक्ष पनि नेकपाले खोसीसकेको छ । ११ वटा वडामा मात्र कांग्रेस विजयी भएको छ । धरान–७ को परिणम आइसकेको छैन ।

यस उपनिर्वाचनमा प्रतिनिधि सभातर्फ कास्की निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्यतर्फ भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ को १, बागलुङ जिल्ला क्षेत्र नं. २ को २, दाङ जिल्ला निर्वाचन क्षेत्र नं. ३ को २ गरी –३ जना र स्थानीय तहतर्फ धरान उपमहानगरपालिकाको प्रमुख–१, संखुवासभा जिल्ला मकालु गाउपालिकाको अध्यक्ष–१, पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष–१, महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष–१ गरी गाउँपालिका अध्यक्ष–३ जना, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष–१ र विभिन्न गाउँपालिका तथा नगरपालिकाका वडाअध्यक्ष–४३ गरी जम्मा ५२ रिक्त पदका लागि उपनिर्वाचन सम्पन्न भएको थियो । यस उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जना मतदाता रहेकोमा २ लाख ९७ हजार १ सय ३७ जनाले मतदान गरेको र यस उपनिर्वाचनमा सरदर ६५.४३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको थियो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com