पेरिस, मंसिर १६
फ्रान्स, बेलायत र जर्मनीले इरानसँग वस्तु–विनिमयका आधारमा व्यापार गर्न छवटा नयाँ युरोपेली राष्ट्रहरुले देखाएको तत्परतालाई शनिबार स्वागत गरेका छन् । हाल फ्रान्स, बेलायत र जर्मनीले इरानसँगको व्यापारका लागि वस्तु–विनियम प्रणाली स्थापना गरेका छन् । इरानविरुद्ध अमेरिकी आर्थिक प्रतिबन्ध रहेका कारण युरोपेली राष्ट्रहरुले अमेरिकी डलरको सट्टा वस्तु–विनिमयका आधारमा सीमित व्यापार गर्न चाहेका छन् । इन्स्टेक्स नाम दिइएको यस नयाँ व्यापार प्रणालीमा सहभागी हुन बेल्जियम, डेनमार्क, फिनल्याण्ड, नेदरल्याण्ड्स, नर्वे र स्वीडेनका सरकारहरुले सहमति जनाएका छन् ।
पेरिसस्थित मुख्यालय रहेको इन्स्टेक्सले इरानले आफ्नो तेल युरोपेली मुलुकलाई बेच्न सक्ने र त्यसको बदलामा युरोपेली मुलुकबाट सामान वा सेवाहरु खरिद गर्न सक्नेगरी क्लियरिङ एजेन्टको रुपमा कार्य गर्दछ । हालसम्म यस प्रणालीमार्फत कारोबार हुन थालेको छैन । इरानसँग सन् २०१५ मा भएको बहुपक्षीय आणविक अप्रसार सन्धिबाट संयुक्तराज्य अमेरिका सन् २०१८ मा एकपक्षीय रुपमा हटेको थियो । इरानले सम्झौता बमोजिमका शर्तहरु पालना नगरेको आरोप लगाउँदै अमेरिकी ट्रम्प प्रशासनले इरानविरुद्ध कठोर आर्थिक प्रतिबन्धहरु लगाएको छ ।
फ्रान्स, जर्मनी र बेलायतका तर्फबाट जारी पछिल्लो संयुक्त विज्ञप्तिमा इन्स्टेक्समा नयाँ छ वटा युरोपेली राष्ट्रहरु जोडिएकामा स्वागत गर्दै यसबाट इरानसँग युरोपेली मुलुकको व्यापारलाई सहजीकरण गर्न तथा इरानी आणविक कार्यक्रमलाई स्थगित राख्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । वक्तव्यमा इरानले पनि विगतको आणविक अप्रसार सन्धि बमोजिमका शर्तहरु पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ । उक्त सन्धिबाट अलग्गिएको अमेरिकाले आफूविरुद्ध आर्थिक नाकाबन्दी लगाएको भन्दै इरानले आणविक प्रशोधनका कार्यहरुलाई अघि बढाउने धम्की दिइरहेको छ ।
सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...
आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।
Setodewal Marg, Kupondole, Lalitpur
Tel : +977-1-5554236
Fax : +977-1-5523181
Email : aarthik.dainik@gmail.com
Marketing Email : marketing.arthikdainik@gmail.com