अमेरिकी, स्विस र रसियन दूतावासले पर्खाल भत्काउन नदिने





आर्थिक सम्बाददाता,
काठमाडौं, वैशाख २,


 
काठमाडौंस्थित अमेरिकी, स्विस र रसियन दूतावासले नेपाल सरकारको सडक विस्तार कार्यलाई सहयोग गर्न नसक्ने जानकारी दिएका छन् । सुरक्षाको कारण देखाउँदै नेपाल सरकारले बनाएको सडकसम्बन्धी मापदण्ड स्वीकार गर्न नसक्ने जानकारी ती दूतावासले परराष्ट्र मन्त्रालयलाई गराएका छन् । रसियन दूतावासले आफ्नो पर्खाल बाहिरको फुटपाथलाई नै तारबारले घेरेर सर्वसाधारणलाई हिँड्न प्रतिबन्ध लगाएको छ भने अमेरिकी र स्विस दूतावासले फुटपाथ बन्द नगरे पनि सडक विस्तारमा अवरोध गरेका छन् ।


 
परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता अर्जुनबहादुर थापाले दिनुभएको जानकारीअनुसार ती दूतावासलाई मनाउने प्रक्रिया सरकारले जारी राखेको छ । भियना ‘कन्भेन्सन’ अनुसार कुनै पनि दूतावासले सम्बन्धित मुलुकको कानुन उल्लंघन गर्न पाउँदैनन् भने सोही प्रावधानअनुसार नेपालले पनि जवर्जस्त सडक विस्तार गर्न सक्तैन । सोही कारण सरकारले कूटनीतिक प्रयास जारी राखेको हो । ‘कूटनीतिक प्रयास जारी छ’, सोमबार सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता थापाले भन्नुभयो, ‘सायद सहमतिको बिन्दु भेटिन्छ होला ।’
सरकारले भने काठमाडौं उपत्यकाको सडक विस्तार कार्यलाई उच्च प्राथमिकतामा राखेको बताउँदै कानुनको नजरमा सबै समान हुने बताइरहेको छ । अमेरिकी दूतावाससँगै रहेको पूर्वराजा ज्ञानेन्द्र शाहले भने सडक विस्तारलाई सहयोग गर्दै निर्मल निवासको पर्खाल आफैंले हटाएका थिए । अन्य देशका दूतावासले भने सडक विस्तारमा सहयोग गरेको थापाको भनाइ छ । 
सरकारले ती दूतावासहरुलाई सडक मिचिएको पर्खाल आफैं हटाउन आग्रह गर्दै आएको छ । अमेरिकी दूतावासले आफ्नो पर्खालमा विस्फोटक पदार्थले भरिएको ट्रक ल्याएर ठोकाउँदा पनि दूतावासमा कुनै क्षति नपुग्ने गरी बनाइएको कारण भत्काउन नसकिने जानकारी दिएको छ । अमेरिकी दूतावासले पर्खाल बनाउन मात्रै करोडौं रुपैयाँ लागेको बताएको छ । अहिलेको पर्खाल भत्काउँदा भवनसमेत सार्नुपर्ने तर्क अमेरिकी दूतावासको छ । पर्खाल र भवनको दूरी मिलाएर बनाइएको र अब पर्खाल सार्दा सडकबाट मूल भवन नजिक पर्ने भएको भन्दै अमेरिकी दूतावासले पर्खाल भत्काउन आनाकानी गरेको हो । 


 
सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाको कारण सडक साँघुरो भएको भन्दै सरकारले व्यक्तिगत घर टहरा भत्काउँदै आएको छ । तर विदेशी दूतावासको पर्खाल सरकारले जवरजस्ती भत्काउन सक्ने अवस्था नरहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् । कूटनीतिक पहलबिना दूतावासको पर्खाल भत्काउने कार्य हुन नसक्ने सरकारी अधिकारीहरु बताउँछन् । 
यसैबीच मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तारलाई तीव्रताका साथ निरन्तरता दिन निर्देशन दिनुभएको छ । रेग्मीले सार्वजनिक यातायातका साधन, विदेशी पाहुना, पर्यटक र सर्वसाधारणले प्रयोग गर्ने मूल सडकलाई पहिलो प्राथमिकतामा राखी काम गर्न निर्देशन दिनुभएको हो । अध्यक्ष रेग्मीले उच्चस्तरीय सडक अनुगमन समितिका पदाधिकारीसँगको बैठकमा यस्तो निर्देशन दिनुभएको हो । 


 
‘सडक विस्तारका लागि सडक छेउमा रहेका भौतिक संरचना भत्काउन तत्परता देखाएझै सडक छिटो निर्माण गर्नुप¥यो’– अध्यक्ष रेग्मीले भन्नुभयो– काममा ढिला गर्ने निर्माण व्यवसायीमाथि कठोर कारबाही गर्न पनि पछि पर्नु भएन । अध्यक्ष रेग्मीले एकीकृत सोचका साथ कामलाई अगाडि बढाउन, सडक निर्माण भइसकेपछि तुरुन्तै खम्बा हटाउने व्यवस्था मिलाउन तथा रातबिरात निजी संरचना तोडफोड नगरी सर्वसाधारणलाई सम्झाइबुझाइ गरेर न्यून क्षति हुनेगरी सडक विस्तारको कामलाई अभियानकै रुपमा सञ्चालन गर्न निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 


 
अध्यक्ष रेग्मीले पुरातात्विक वस्तुको संरक्षण गर्न, अदालतको आदेशको पालना गर्न, काठमाडौं उपत्यकाभित्र हरियाली प्रवद्र्धन गर्न र प्रत्येक महिनामा नियमित समीक्षा बैठक गर्न आग्रह गर्नुभयो । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री छविराज पन्तले गुणस्तरीय सडक निर्माणमा जोड दिनुभयो । उच्चस्तरीय अनुगमन समितिका संयोजक एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले हाल करिब २ सय किमि सडक विस्तारको क्रममा रहेको र यस आवको अन्त्यसम्म करिब ९० प्रतिशत काम सम्पन्न हुने अनुमान रहेको बताउनुभयो । सचिव बाँस्कोटाले भत्काउँदा निस्किएको फोहोर तीन दिनभित्र हटाउने, बत्ती, टेलिफोन र खानेपानीको तार र पाइप दायाँ र बायाँतर्फ निर्माण गरी जनतामा सेवा प्रवाह गर्न र बटुवाका लागि पेटी निर्माणको कामलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । 
 

 
उहाँले प्रत्येक सडकमा होडिङ बोर्ड राख्नुपर्ने, सम्भव भएसम्मका स्थानमा अपाङ्गमैत्री सडक निर्माण गर्ने, चौडा सडकमा साइकल लेन राख्ने, मूल सडकको अग्रभागमा पर्ने घरले सौन्दर्य कायम गर्नुपर्ने तथा ढिलो काम गर्ने ठेकेदारलाई कालोसूचीमा राख्नुपर्नेमा जोड दिनुभयो । सचिव बाँस्कोटाले राजधानीको सडक विस्तार कार्यमा सरकारीतर्फबाट १० अर्ब र निजी क्षेत्रका तर्फबाट ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान प्रस्तुत गर्नुभयो । सो अवसरमा गुणस्तरीय सडक निर्माण गर्ने, यात्रु ओराल्ने र झार्ने गरी बिसौनी निर्माण गर्ने, सालिक र मन्दिरलाई व्यवस्थित गर्ने तथा कूटनीतिक नियोगका संरचनालाई पनि व्यवस्थित गर्न पहल भइरहेको जानकारी दिइयो । काठमाडौंको एउटा गुरुयोजना तयार  हुनुपर्ने, बहुतले भवनको अवधारणमा जानुपर्ने, ठाउँठाउँमा पुल थप्नुपर्ने, फ्लाइओभर ब्रिज निर्माण गर्नुपर्ने, काठमाडौंमा मेट्रो सञ्चालन गर्नुपर्ने, यथासक्दो छिटो चक्रपथ पनि चौडा गर्नुपर्ने र सडक विस्तारका काममा साधन र स्रोतको अभाव हुन नहुनेमा जोड दिइएको थियो ।


 
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौला, गृहसचिव नवीन घिमिरे, सूचना तथा सञ्चार सचिव ध्रुवप्रसाद शर्मा, सहरी विकास सचिव किशोर थापा, परराष्ट्र सचिव दुर्गा भट्टराई, ऊर्जासचिव हरिराम कोइराला, अर्थसचिव शान्तराज सुवेदी र काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त केशव स्थापितलगायतले आआफ्नो विचार व्यक्त गर्नु भएको थियो । यसैबीच एकअर्काे कार्यक्रममा सचिव सिटौलाले राजधानीका १ सय ८४ वटा सडकको १ सय ८८ किलोमिटर खण्ड विस्तार गरिने लक्ष्य रहेको जानकारी दिनुभयो । भत्काइएका सडकमध्ये हालसम्म १५ किमि कालोपत्रे गरिसकिएको र यही वैशाखभित्र ५० किलोमटिर थप कालोपत्रे गरिने सचिव सिटौलाले बताउनुभयो । खानेपानी विभागका महानिर्देशक ईश्वरीप्रसाद पौडेलले राजधानीलाई सभ्य, सुन्दर र हराभरा बनाउन सडक विस्तारलाई छिटो सम्पन्न गर्नुपर्ने बताउनुभयो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माले सडक विस्तारको कामले तीव्रता नपाउँदा राजधानीवासीले हिउँदमा धूलो र वर्षामा हिलो भोग्न बाध्य रहेकाले सडक विस्तारको अभियानलाई छिटो सक्नका लागि आइपर्ने शान्तिसुरक्षाको व्यवस्था गर्न प्रशासन कटिबद्व छ भन्नुभयो ।

प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com