Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपहुँचका आधारमा राहत वितरण

पहुँचका आधारमा राहत वितरण


धनगढी, वैशाख १५
कैलालीका स्थानीयहरूले त्यहाँको स्थानीय सरकारले पहुँचको आधारमा राहत वितरण गर्ने गरेको गुनासो गरेका छन् । दैनिक ज्यालादारीमा जिविकोपार्जन गर्दै आएका र लकडाउनले जिविकोपार्जन गर्न असहज भएको व्यक्तिलाई राहत वितरण गर्न सरकारले निर्देशन दिए पनि स्थानीय तहहरूले आफ्ना आफन्त र पार्टी कार्यकर्तालाई वितरण गर्ने गरेको स्थानीयको आरोप छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर–१३ उर्मिला थापा भाडामा बस्दै आएकी छिन् । उनको चार जनाको परिवार छ । सरकारले जारी गरेको लकडाउनपछि घरमै थन्किनु परेपछि दुई छाक टार्न गाह्रो भइरहेको छ । तर, उनले अहिलेसम्म कुनै पनि निकायबाट कुनै पनि किसिमको राहत पाउन सकेकी छैनन् । बाध्य भएर उनी गतशुक्रबार धनगढी उपमहानगरपालिका कार्यालय घेराउ गर्न पुगिन् । उनी भन्छिन् ‘म र मेरा श्रीमान् दैनिक ज्यालादारी गर्छौँ । लकडाउनपछि एक महिनादेखि कुनै काम भएको छैन । बालबच्चालाई के खुवाउने, कसरी पाल्ने ?’ शुक्रबार उनीसहित धनगढी उपमहानगरपालिका वडा नम्बर–१३ का अरु पनि घेराउ गर्न पुगेका थिए । घेराउ गर्न पुगेका वडा नम्बर–१३ बोराडाँडीका रिक्साचालक लालबहादुर कामीले भने, ‘रिक्सा चलाएर दैनिक खर्च चलेको थियो अहिले न रिक्सा चलाउन पाएको छु न अरु आम्दानीको स्रोत । घर भाडामा बसेको छु । स्थानीय सरकारले केही पनि दिएको छैन ।’

विश्वव्यापी कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउनले विपन्न, मजदुर, विद्यार्थीलगायतका वर्ग सबैभन्दा कठिनमा परेका छन् । तर, घरभाडामा बस्ने धेरैले आफूहरूले उपमहानगरपालिकाबाट कुनै राहत नपाएको गुनासो गरिरहेका छन् । वडा नम्बर १३ कै तुली नेपालीले स्थानीय सरकारले राहतमा राजनीति गरिरहेकोे आरोप लगाइन् । उनको पाँच जनाको परिवार रहेको छ । उनले भनिन– ‘रोगले भन्दा पनि भोकले सताइरहेको छ ।’ उनी पनि दैनिक ज्यालादारी गरी परिवारको जिविकोपार्जन गर्दै आएकी छिन् ।

धनगढी उपमहानगरपालिकाका पदाधिकारी र कर्मचारीहरूले आफन्त र आफ्ना कार्यकर्तालाई मात्र राहत वितरण गरेको भन्दै शुक्रबार कार्यालय घेराउ गर्न आएको धर्नाकारीले बताए । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष विजयराज जोशीले सबैलाई समानरूपमा राहत सामग्री वितरण गरिरहेको बताए । उनले भने, ‘हामीले रातहमा कुनै पनि किसिमको भेदभाव गरेका छैनौँ ।’

त्यस्तै टीकापुर नगरपालिका वडा नम्बर १ मा पनि राहत वितरणमा भेदभाव भएको भन्दै धेरैले असन्तुष्टी जनाएका छन् । नगरपालिकाले समेत राहत वितरण कार्यप्रति चित्त बुझाएको छैन । नगरपालिकाका केही जनप्रतिनिधि भन्छन्, ‘राहत वितरणमा केही कमजोरी भएको छ ।’ वडा कार्यालयले वडाध्यक्षको संयोजकत्वमा २७ सदस्यीय आपूर्ति समिति गठन गरेको छ । सो समितिले गाउँ टोलमा विपन्न घरपरिवारको तथ्यांक संकलन गर्न मान्छे खटाएको जनाएको छ ।

वडा कार्यालयले पहिलो चरणमा नौ हजार तीन सय जनाको नामावली संकलन गरेको छ । पुनः नामावली सम्प्रेषण गरी संख्या घटाएर चार हजार एक सय २३ मा झारिएको छ । नामावली संकलनमा वैदेशिक रोजगारमा रहेकाहरूको नामसमेत रहेको बताइएको छ । त्यस्तै, जागीरे तथा विभिन्न पेशा व्यवसायमा रहेकाहरूको नामसमेत संकलन गरिएको आरोप लागेको छ ।

त्यस्तै गोदावरी नगरपालिकाका विपन्नले पनि नगरपालिकाले पहुँचका आधारमा राहत वितरण गरिरहेको आरोप लगाएका छन् । वडा नम्बर २ का एक स्थानीयले भने, ‘नगरपालिकाले पहुँचका आधारमा राहत वितरण गरिरहेको छ ।’ वडाबाट दैनिक ज्यालादारीमा जिविकोपार्जन गर्दै आएका व्यक्तिको नाम सिफारिस भए पनि नगरपालिकाले भेदभाव गरिरहेको स्थानीयको आरोप छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया