Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनागरिक उद्धारमा जस लिने होडबाजीमा मेयर र उपमेयर

नागरिक उद्धारमा जस लिने होडबाजीमा मेयर र उपमेयर


महेन्द्र शाही
सोलुखुम्बु, वैशाख १८
अहिले विश्वव्यापीरूपमा कोरोनाको महामारी फैलिएको छ । महामारीको यो आवस्थामा सबैले एक– अर्कामा साथ र सहयोगका साथ काम गर्नु पर्ने टडकारो आवश्यकता हो । लकडाउनको समयमा देशका सबै स्थानीय तहले आफ्ना नागरिकको उद्धार गरेका छन् । यो स्थानीय सरकारको दायित्व पनि हो आफ्ना नागरिकको उद्धार गर्नु । तर, सोलुखुम्बुमा भने दृश्य अलि फरक देखिएको छ । जिल्लाको एक मात्र नगरपालिकामा स्थानीयलाई उद्धार गर्ने विषयमा राजनीति गरिएको छ । नागरिक उद्धार गर्ने विषयमा नगरपालिकाले निर्णय गरेर काम सुरु गर्न सकेन । नगरपालिकाले निर्णय नगरेपछि मेयर र उपमेयरले आफ्नो पहलमा काठमाडौँमा रहेका स्थानीयलाई सोलुखुम्बु ल्याउन सुरु गरे । अहिले उनीहरूले उद्धार गरेका नागरिकमै विवाद बढेको छ ।

नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा र उपमेयर कल्पना राईबीच नागरिक उद्धारको जस कसले लिने भन्ने सवालमा विवाद देखिएको हो । मेयर र उपमेयरले विज्ञप्ति नै निकालेए एक–अर्कोलाई खुइल्याउन लागिपरेका छन् । उपमेयर कल्पना राईले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नेतृत्वमा खटिएको टोलीले लकडाउनमा अलपत्र छ सय ३३ जना नगरवासीको उद्धार गरेको दाबी गरेकी छिन् । सो विज्ञप्तिको खण्डन गर्दै मेयर नाम्गेल जाङबु शेर्पा पक्षले मगंलबार अर्को विज्ञप्ति जारी गरेको छ ।

नगरप्रवक्ता शारदा माया तामाङले हस्ताक्षर गरेको विज्ञप्तिमा ९६ जना आफ्नै पहलकदमीमा, ३ सय ६० जना निजी खर्चमा र चार सय ३९ जना मेयर नाम्गेल जाङ्बु शेर्पाको व्यक्तिगत खर्चबाट उद्धार गरी नगरपालिका ल्याइएको दाबी गरिएको छ । विपदको घडीमा सामूहिकरूपमा राहत र उद्धारमा खटिनुको सट्टा उपमेयर राईले कोठाभित्र बसेर ६३३ जनाको उद्धार गरेको भन्ने भ्रमपूर्ण र आधारहीन दाबी गरेको सो विज्ञप्तिमा उल्लेख छ ।

मेयर पक्षले आफूमाथि राजनीति प्रतिसोध साँधेपछि उपमेयर पक्षले उद्धार गरिएका नागरिकको सम्पूर्ण विवरण सार्वजनिक गर्ने जनाएको छ । नागरिकको उद्धार गरिरहँदा भएको सम्पुर्ण गतिविधिको प्रमाण पेश गर्न आफूहरू तयार रहेको उनीहरूको भनाइ छ । विपतको समयमा मिलेर अगाडि बढ्नु पर्ने स्थानीय सरकार दोहोरीमा उत्रिएपछि स्थानीय भने निराश बनेका छन् । यता संघीय सांसद हेमकुमार राईले जिल्लाको आठवटै स्थानीय तहको नागरिकलाई जिल्ला ल्याउने सवालमा आफूले विशेष पहल गरेको बताउँदै आएका छन् । उनका अनुसार करिब तीन हजार आठ सय नागरिकलाई जिल्ला ल्याइएको छ । अलपत्र नागरिकको उद्धार र राहतमा भएको खिचातानीले विपद्को मौकामा जनप्रतिनिधिमा निकै तल्लो हदको राजनीतिक संस्कार रहेको पुष्टि भएको नगरवासीहरू बताउँछन् ।

सोलुखुम्बुमा सोलुदुधकुण्ड नगरपालिकाले मात्रै अन्यत्र अलपत्र परेका नागरिक उद्धार गरेको होइन । आठवटा स्थानीय तह रहेको जिल्लाका सबै स्थानीय तहले आफ्ना नागरिकको उद्धार गरिरहेका छन् । जिल्लाका अरु सातवटा गाउँपालिकाले कार्यपालिका बैठकबाट निर्णय गराएरै स्थानीयको उद्धार र राहतमा काम गरिरहेका छन् । ती गाउँपालिकामा सोलुदुधकुण्डमा झैं राजनीतिक रडाको मच्चिएको छैन । अरु पालिकाहरूमा पनि फरक पार्टीबाट निर्वाचित पदाधिकारी रहेका छन् । तर, नगरपालिकाको जस्तो पक्ष विपक्षमा भने देखिएका छैनन् । जिल्लाका अन्य गाउँपालिकाहरूले कार्यपालिका बैठकबाटै निर्णय गरी उद्धार र राहतमा जुटे पनि सोलुदूधकुण्ड नगरपालिकाले यो काम गर्न कुनै औपचारिक निर्णय नै गरेको थिएन । अर्थात्, नागरिक उद्धारका नाममा एक–अर्को पक्षले जस लिन व्यवस्थित ढंगले काम नगरिएको आशंका व्यक्त गर्ने प्रशस्त ठाउँहरू रहेका छन् ।

गाउँपालिका केन्द्रसम्म सडक सञ्जाल नै नपुगेको खुम्बुपासाङल्हामु गाउँपालिकाले वैशाख ३ गते कार्यपालिकाको बैठक बोलाएर अन्यत्र अलपत्र नागरिकको उद्धार गर्ने निर्णय गरेको थियो । यो गाउँपालिकाको स्थानीय सरकारले अहिलेसम्म तीन सय ४० जनाको उद्धार गरिसकेको छ । यस्तै, थुलुङदूधकोशी गाउँपालिकाले पनि वैशाख ८ गते कार्यपालिका बैठक डाकेर पालिकाबाहिर असहज अवस्थामा रहेका नागरिकलाई उद्धार गर्ने निर्णय गरेको थियो । थुलुङदूधकोशी गाउँपालिकाले सबैभन्दा धेरै ११९८ जना नागरिकको उद्धार गरेको छ । आफूहरूले निकै व्यवस्थित ढंगबाट स्थानीय नागरिकको उद्धार गरेको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया