Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोना प्रभावितका लागि धुर्मुस सुन्तली फाउण्डेसनको सहयोग

कोरोना प्रभावितका लागि धुर्मुस सुन्तली फाउण्डेसनको सहयोग


काठमाडौं, वैशाख २४
अहिले विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ । सबै नेपाली लकडाउनको प्रभावमा छन् । कोरोना प्रभावितहरुका लागि विभिन्न सामाजिक संस्था तथा समाजसेवीहरु सक्रिय रुपमा राहतका प्याकेज वितरण गरिरहेका छन् । विभिन्न राहतका प्याकेज वितरण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनले अहिले निःशुल्क भोजन सुरु गरेको छ । सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर, असहाय तथा विपन्न परिवारहरुको समस्यालाई मध्यनजर गरी फाउण्डेसनले ललितपुरको थसिखेलमा निःशुल्क भोजनको व्यवस्था गरेको हो । ललितपुरस्थित प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा फाउण्डेसनले प्रतिभा सहकारीको भवनअगाडि भोजनको व्यवस्था गरेको हो ।

अशक्त तथा विपन्न वर्गका पीडितहरु बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म निःशुल्क भोजनका लागि त्यहाँ जान सक्नेछन् । फाउण्डेसनले आवश्यक पीडितहरु उक्त स्थानमा आई भोजनमा सहभागी हुन अनुरोध समेत गरेको छ । विभिन्न स्थानमा रहेका नेपालीहरुलाई सहयोग गर्न धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले सबैलाई अनुरोध समेत गरेका छन् ।

महाभूकम्पपछि निरन्तर सामाजिक कार्यमा सक्रिय सामाजिक संस्था धुर्मुस सुन्तली फाउण्डेसनले कोरोना प्रभावित नेपालीहरुका लागि विभिन्न राहत सामग्री वितरण गरिरहेको छ । कोरोनाको महामारीले विभिन्न स्थानमा अलपत्र परेका नेपाली तथा बिहान बेलुका खाना खान समेत समस्या भएका नेपालीहरुका लागि फाउण्डेसनले विभिन्न तरिकाले सहयोग गरिरहेको छ ।

फाउण्डेसनले पहिलो चरणमा उद्धार कार्य र दोस्रो चरणमा राहत वितरण गर्दै अहिले निःशुल्क भोजनको व्यवस्था गरेको छ । गत वैशाख ९ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत २ सय जना विद्यार्थीहरुका लागि राहत वितरणसँगै कोरोना प्रभावितहरु पहिचान गरी निरन्तर सहयोग गरिरहेको छ ।

त्रिभुवन विश्वविद्यालयका दुई सय विद्यार्थीहरुका लागि फाउण्डेसनले दुई सय बोरा चामल, छ सय किलो दाल, दुई सय पाकेट नुन, दुई सय लिटर तेल र दुई सय कार्टुन बिस्कुटसहित खाद्यान्न सहयोग प्रदान गरेको हो । त्यससँगै झापामा अलपत्र चितवनका २४ विद्यार्थीहरुलाई चितवन र ललितपुरमा अलपत्र ९५ जना मजदुरहरुलाई दुईवटा बस रिजर्भ गरी उनीहरुको गृहजिल्ला दाङ पठाएको थियो ।

धुर्मुस र सुन्तलीको प्रत्यक्ष सहभागितामा काठमाडौं, ललितपुर तथा भक्तपुरमा रहेका विभिन्न विपन्न, गरिब, विभिन्न रोगीहरु, ज्याला मजदुरी गरी गुजारा गर्ने मजदुरहरु, अशक्त, विद्यार्थी, वृद्ध, गर्भवती महिलालगायत पीडित पहिचान गरी अवस्थाअनुसार आर्थिक सहयोग समेत गरेको छ ।

आमाको मुख हेर्ने दिनको अवसरमा कट्टेलले विभिन्न पीडामा रहेका कोरोना प्रभावित आमाहरुलाई आर्थिक सहयोग गरेका थिए । उनले आमाहरुलाई गरेको सहयोगको भिडियो थुप्रैपटक सेयर समेत भएको छ । फाउण्डेसनका अध्यक्ष कट्टेलका अनुसार कोरोना प्रभावितका लागि हालसम्म ११ लाखबराबरको राहत वितरण गरिसकिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया