Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोना भाइरसबाट विश्वभर ९६ नेपालीको मृत्यु, करिब ७ हजार ६२ संक्रमित

कोरोना भाइरसबाट विश्वभर ९६ नेपालीको मृत्यु, करिब ७ हजार ६२ संक्रमित


काठमाडौं, जेठ ५
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ९६ जना गैरआवासीय नेपालीहरुको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिबारसम्म ९६ जनाको मृत्यु भएको हो । विश्वभर ३० देशका नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । सबैभन्दा बढी बेलायतमा ६३ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

यसैगरी संयुक्त अरब इमिरेट्स्ट (युएई)मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्विडेन १ र नेपाल १, जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जानकारी दिएको छ । कोरोना भाइरसका कारणले यो साता मात्र नेपालबाहेक १७ जनाले ज्यान गुमाएका हुन् । सो साता ज्यान गुमाउनेहरुको संख्यामा युके १२, युएई ३ र साउदी अरब २ जना रहेको स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै, एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोप १९, एसियामा ५, प्रतिशतमा संक्रमणमा देखिएको छ । अष्ट्रेलियामा १ प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छैन । संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । संयोजक सापकोटाले कोरोना संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन नेपाली समुदायलाई अनुरोध गरेका छन् । उनले कोरोना संक्रमणको शंका लागेका तुरुन्त आफ्नो चिकित्सकहाँ वा संघको स्वास्थ्य सेवा हटलाइनमा सम्पर्क गर्न आह्वान समेत गरेका छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार ११ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् । स्वास्थ्य समितिका अनुसार कतार २ हजार ५ सय, अमेरिका १ हजार ६ सय, युके १ हजार २ सय २१, बहराइनमा ३ सय ११, युएई २ सय, कुवेत ८४, साउदी अरबमा ६ सय ७४, मलेसिया ४९, पोर्चुगल २९, आयरल्याण्ड २२, स्पेन १३, क्यानाडा १३, अष्ट्रेलिया १२, जापान १०, माल्दिभ्स १०, बेल्जियम ६, स्विट्जरल्याण्ड ५, जर्मनी ४, फिनल्याण्ड ४, साईप्रस ३, न्युजिल्याण्ड ३, माल्टामा २, हङकङ २, पोल्याण्ड २, म्यानमार १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघले ’कोभिड १९’ बाट प्रभावित देशहरुमा राहत वितरण भइरहेको जनाएको छ । संघका महासचिव डा. हेमराज शर्माका अनुसार ४९ देशका ३ सय क्षेत्र (सहर)मा १ हजार ६ सयभन्दा बढी स्वयंसेवक र स्वास्थ्य सेवामा ७० भन्दा बढी मेडिकल चिकित्सकहरु परिचालन गरिएको छ । संघका अनुसार शनिबार साँझसम्म ३८ हजारभन्दा बढी गैरआवासीय नेपालीहरुले प्रत्यक्ष र ४० हजारभन्दा बढीले परामर्शसेवा प्राप्त गरेका छन् । मलेसिया, युएई, साउदी अरब, कुबेत, बहराइन, स्पेन, पोर्चुगल, इटाली, माल्टा, साइप्रसमा संघले करिब ५५ लाख रुपैयाँ आर्थिक सहयोग समेत पठाएको संघका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघ/संस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधार मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ । यसअघि संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा ‘कोभिड १९’ उच्चस्तरीय समिति गठन गरेर विभिन्न उपसमिति गठन गरी विश्वभर राहतको लागि अभियान सञ्चालन गरेको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया