Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध हेटौंडा उपमहानगरले सुरु ग-यो ड्रोन सर्वेक्षण

 हेटौंडा उपमहानगरले सुरु ग-यो ड्रोन सर्वेक्षण


हेटौंडा, जेठ ८  
हेटौंडा उपमहानगरले लकडाउनको समय सदुपयोग गर्दै १५ दिन आकाशमा मानवरहित हवाइ यन्त्र (ड्रोन)मार्फत सर्वे एवं नक्सांकन गर्ने भएको छ । उपमहानगरपालिको भवनमा बुधबार आयोजित एक कार्यक्रममा उपमहानगरका प्रमुख हरि बहादुर महतले ड्रोन सर्वेक्षणको शुभारम्भ गरेका हुन् । पहिलो चरणमा काठमाडौँ उपत्यकाको चाँगुनारायण नगरपालिकाबाट ड्रोन सर्वे एवं नक्सांकन सुरु गरेको यस परियोजनाले सहयोगस्वरुप वाग्मती प्रदेशको राजधानी हेटौंडामा समेत यस कार्यको सुरुवात गरेको छ ।

हेटौंडा उपमहानगरको पहिलो चरणमा वडा नं १, २, ४, ५, ७, ८, ९, १० बाट ड्रोन सर्वे एवं नक्साकंन सुरुवात गरिने भएको छ । यस परियोजनाको सुरुवातका लागि आवश्यक अनुमतिको प्रबन्ध तथा सहजीकरण हेटौंंडा उपमहानगरपालिकाले गरेको छ । ड्रोन सर्वेक्षणको शुभारम्भ गर्दै उपमहानगरप्रमुख महतले यस प्रकारको नक्साले उपमहानगरको सहरी विकास योजना, विपद् जोखिम व्यवस्थापन, घर नम्बर तथा स्ट्रिट ठेगाना निर्धारण, गुरुयोजना निर्माण, सडक स्तरीकरण, भौतिक पूर्वाधारको स्तरोन्नति, सडकको अवस्था, अतिक्रमित सरकारी जग्गाको तथ्यांक संकलन गर्न बलियो आधार निर्माण हुने बताए । यस नक्सांकन परियोजनाले विभिन्न जीआईएस विज्ञ, सहरी विकास योजनाविद्, ड्रोन पाइलट तथा सरकारी अधिकारीहरुलाई ऐक्यबद्ध गरेर निश्चित उपलब्धि हासिल गर्ने लक्ष्य राखेको छ ।

साथै, यस परियोजनाको मुख्य लक्ष्य उच्च स्केलको नक्सा प्राप्ति गर्र्ने र उच्च रिजोलुसनको फोटोको आधारमा विस्तृत सहरी विकास योजना तथा विपद् व्यवस्थापनमा सहयोग पु-याउने रहेको जानकारी यस परियोजनाका संयोजक इ. सुरज गौतमले दिए । साथै यस्तो परियोजना, मुलुकका अन्य स्थानीय तहबाट माग भएको अवस्थामा समेत सेवा प्रदान गर्न तयार रहेको उनको भनाइ छ ।

नेपाल इन्जिनियर्स एसोसिएसन वाग्मती प्रदेशले यस कार्यको लागि आवश्यक इन्जिनियरहरुको उपलब्धता र समन्वय गर्ने भएको छ । त्यस्तै, यस परियोजनामा फ्लाइट प्लानिङ र ड्रोन ह्यान्डलरका रुपमा ड्रोनेपालका इ. प्रविण लम्साल र इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सनका इ. सुदिप फुँयालको सहभागिता रहनेछ । ड्रोन सर्वेका लागि इनोभेटिभ घर नेपाल र नेपाल फ्लाइङ ल्याबले आवश्यक ड्रोनको सहयोग गरेको छ ।

त्यस्तै, इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, नक्सा प्रालि, युइन्सपायर नेपालले ड्रोनको डाटा प्रोसेसिङ, नक्सांकनसँगै नक्साको प्रयोगबाट विपद् जोखिम व्यवस्थापनमा गर्न सकिने कार्यहरुबारे सहयोग गर्नेे भएको छ । साथै, परियोजनाअन्तर्गत सम्पूर्ण समन्वय र सहजीकरणको भूमिका उपमहानगरपालिकाका स्वास्थ्य तथा वातावरण शाखा प्रमुख सुपेन्द्र कार्कीले गरेका छन् । नगरक्षेत्रको मुख्य बस्ती एवं सडकहरुको ड्रोनबाट सर्वेक्षण एवं नक्सांकनको सम्पूर्ण फोटो एवं भिडियो डाटाको गोपनीयता उपमहानगरपालिकाको नियन्त्रणमा हुनेछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया