Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुदूरपश्चिममा एक हप्तामा करिब दश हजार भित्रिए, चेकजाँज गर्ने किटको अभाव

सुदूरपश्चिममा एक हप्तामा करिब दश हजार भित्रिए, चेकजाँज गर्ने किटको अभाव


धनबहादुर, जप्रेल
कञ्चनपुर, जेठ ११
भारत गएका नेपालीहरू सुदूरपश्चिमबाट मात्रै एक हप्तामा करिब दश हजार नेपाल प्रवेश गरेका छन् । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका कारण जीवनयापनमा समस्या भए पनि भारतमा गएका हजारौँ नेपालीहरू घर फर्किने क्रम नरोकिएको हो । सुदूरपश्चिमका कैलालीको गौरीफण्डा नाका, कञ्चनपुरका ब्रह्मदेब र दोधाराको झोलुंगे पुलको नाकाबाट करिब दश हजार बढी व्यक्तिहरू भित्रिएका छन् । उनीहरूलाई सम्बन्धित स्थानीय तहसँगको समन्वयमा स्थानीय तहकै क्वारेन्टाइनमा १४ दिन राख्ने गरेर प्रवेश दिइएको छ ।

पछिल्लो एक हप्ताको अवधिमा गौरीफन्टा नाकाबाट मात्रै छ हजार तीन सयभन्दा बढी नेपालीहरू भित्रिएका छन् । तर, अधिकांशको परीक्षण भने हुन सकेको छैन । किट अभावका कारण उनीहरूको कोरोना परीक्षण हुन नसकको बताइएको छ । धनगढीमै दुईवटा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको भए पनि प्रयोगशालामा आवश्यक मात्रामा किट नहुँदा ठूलो संख्यामा विदेशबाट फर्किनेको परीक्षण हुन सकेको छैन । वेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दका अनुसार भारतबाट एक हप्ताको अबधिमा गौरीफण्टा नाका कैलालीबाट ६ हजार तीन सय २० जना, दोधारा चादनी र ब्रह्महदेव नाका कञ्चनपुरबाट तीन हजार दुई सय ७१ जना गरी नौ हजार पाँच सय ९१ जना नेपाली देश भित्रिएका हुन् । अझै धेरै ठूलो संख्यामा नेपालीहरू नेपाल आइरहेका छन् । अरु जिल्लाका नाकाबाट पनि सुप प्रदेश प्रवेश गरेका धेरै नेपाली रहेका छन् ।

गत जेठ २ र ३ गते कैलालीमा नौ सय ५०, ७ गते आठ सय ५८ र ८ गते दुई हजार चार सय ९८ जनाको उद्धार थियो । स्थानीय प्रशासनले दिएको जानकारी अनुसार २ र ३ गते भित्रिएका नौ सय ५० जनाको भने -यापिड टेस्ट गरिएको थियो । महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षणसमेत गरिएको थियो । यसैगरी जेठ ७ गते आएका आठ सय ५८ जनालाई -यापिड टेस्टसमेत नगरी गाउँ पठाइएको छ । ८ गते आएका दुई हजार चार सय ९८ जनामध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ ।

गत एक हप्ताको अवधिमा झन्डै साढे छ हजार नेपाली परीक्षणविना नै गौरीफन्टा नाकाबाट भित्रिएका छन् । भने चार हजार बढी कञ्चनपुरबाट भित्रिएका छन् । भारतबाट आउनेहरूलाई सीमामा व्यवस्थापन गर्ने हम्मे पर्ने अवस्था आएको सुरक्षाकर्मीको भनाइ छ । स्थानीय प्रशासनले उद्धारका लागि समन्वय गरे पनि स्थानीय र प्रदेश सरकारले परीक्षणको व्यवस्थापन गर्न नसक्दा समस्या भएको हो । परीक्षणका लागि पर्याप्त किट नहुँदा परीक्षण गर्न समस्या आएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

कोरोना परीक्षण किटको अभाव : सुदूरपश्चिममा कोरोना परिक्षणको लागि आवश्यक पीसीआर टेष्टको अभाव भएको बताइएको छ । केन्द्र सरकारले गत वैशाखमा पठाएको पीसीआर किट सकिएपछि कोरोना परिक्षण गर्ने भीटिएम किट र आरडीटीको अभाव भएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशका लागि गत वैशाखमा संघीय सरकारले एक हजार भीटीएम किट पठाइएको थियो तर हाल भारतबाट आएका लगायत शंकास्पद व्यक्तिहरूको संख्या बढेपछि उक्त किट सकिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका प्रमख नरेन्द्र सिंह कार्कीले बताए । हाल कैलाली र कञ्चनपुरबाट भित्रिरहेका व्यक्तिलाई उहाँहरूको सम्बन्धित स्थानीय तहको समन्वयमा नाकाबाट सिधै स्थानीय तहले बनाएको क्वारेन्टाइनमा १४ दिन राख्ने गरी उद्धार भइरहेको र उहाँहरू १४ दिन क्वारेन्टाइन बसिसकेपछि मात्रै चेकजाँज गरिने मन्त्रालयका जनस्वास्थ्य महाशाखाका प्रमुख कार्कीले बताए । त्यो समयसम्म किट आइसक्ने उनले बताए ।

सुदूरपश्चिममा जोखिम बढ्यो : नेपाल भित्रिएका सबैको कोरोना परीक्षण नहुँदा सुदूरपश्चिममा जोखिम बढेको छ । प्रदेशमा भारतबाट हजारौंको उद्धार भए पनि परीक्ष भने सयौंको मात्रै हुँदा जोखिम बढेको हो । सीमा क्षेत्रमा हजारौंको संख्यामा परीक्षणविना नै नेपाल भित्रिएकाले सुदूरपश्चिमा जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए । ‘सीमा तीनजना मात्रै स्वास्थ्यकर्मी हुनुहुन्थ्यो ।

भारतबाटै धेरै संख्यामा नेपाली दाजुभाइहरू आउनुभयो ।’ उनले भने, ‘त्यस कारणले सबैको चेकजाँच गर्न सकिएन । तर, हरेक जिल्लामा तीन–चार सय आरडिटी किट मौज्दात छ ।’ उनले भारतबाट नेपाल भित्रिएका सबैको कोरोना परीक्षण हुने दाबी गरे । सीमा क्षेत्रबाट भित्रिएका सबैको स्वास्थ्य परीक्षण गर्न पहल भइरहेकोसमेत जानकारी दिए । भारतबाट आउने व्यक्तिहरू उच्च जोखिम मोलेर आइरहेकाले सुदूरपश्चिममा पनि कोरोनाको धेरै नै जोखिम रहेको निर्देशक अवस्थीको भनाइ छ । ‘हाम्रो प्रदेशमा अब धेरै जोखिम छ । अहिले भारतबाट आउनेहरू अत्यन्तै उच्च जोखिम मोलेर आउँदै छन् ।’ उनले भने, ‘त्यसले गर्दा सुदूरपश्चिममा जोखिम बढ्यो ।’


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया