Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधस्वाब सङ्कलनमा ढिलासँगै जोखिम बढ्दो

स्वाब सङ्कलनमा ढिलासँगै जोखिम बढ्दो


सन्तोष पौडेल
वीरगञ्ज, जेठ ११
कोरोना सक्रमितहरूको कन्ट्याक्ट टे«सिङ गरेर सम्पर्कमा आएकाहरूको अविलम्ब स्वाब नमुना सङ्कलन गर्नुपर्नेमा निकै ढिला भएको छ । संक्रमित फेला परेसँगै कन्ट्याक्ट टे«सिङको लागि स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाको संयोजकत्वमा कार्यदल बनेको छ । पर्सा जिल्ला कोरोनाको उच्च जोखिममा रहेको छ । कार्यदलका संयोजक चौरसियाले कार्यदलले काम गरेर रिपोर्ट दिएको तर स्वाब नमुना सङ्कलन भए नभएको सम्पूर्ण जिम्मेवारी सम्बन्धित स्थानीय तह र नारायणी कोभिड अस्पतालको हुने बताए ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण महतोले महानगरमा देखिएका संक्रमितहरूको हकमा कन्ट्याक्ट टे«सिङमा परेकाहरूको स्वाब नमुना सङ्कलन पीसीआर किट र भीटीएम (स्वाब सङ्कलन गर्ने भाँडो)को अभावमा रोकिएको बताए । उनले बुधवार आठ सय पीसीआर किट आएपछि स्वाब नमूना सङ्कलन सुरू भएको बताए । आउँदो दिनमा पीसीआर किट र भिटिएमको अभावमा स्वाब नमुना सङ्कलन कार्य प्रभावित नहोस् भनेर महानगरपालिकाले सोको व्यवस्थापन गर्ने तयारी गरिरहेको उनले बताए । कन्ट्याक्टर ट्रेसिङमा परेकाहरूको स्वाब नमुना सङ्कलनमा ढिला हुँदा जोखिम बढिरहेको एकजना चिकित्सकले बताए । उनले संक्रमितको सम्पर्कमा रहेकाहरूको पहिचान हुन ढिला हुने गरेको र पहिचान भएकाहरूको पनि स्वाब नमूना सङ्कलनमा ढिला हुँदा संक्रमण बढ्ने खतरा रहेको बताए । वीरगञ्ज महानगरपालिकाको वडा नं ३ अहिले सबैभन्दा बढी संक्रमित भएको वडा हो ।

यो वडामा पछिल्लो समय चैत २४ गते र त्यसपछि जेठ १ गते संक्रमित फेला परेका थिए । त्यसअघि फेला परेका दुईजना संक्रमितको सम्पर्कमा आएका सबैको स्वाब नमूना सङ्कलन भए पनि चैत २४ र जेठ १ गते भेटिएका संक्रमितहरूको सम्पर्कमा आएका मानिसहरूको स्वाब नमुना सङ्कलन हुन सकेको छैन । सुरूका दिनमा सम्पर्कमा आएकाहरूले स्वाब दिन मानेनन् भने त्यसपछि पीसीआर किट र भिटिएमको अभाव रह्यो । अहिले पनि संक्रमित क्षेत्र वडा नं २, १६, छिपहरमाई गापालगायतका स्थानमा बुधवारदेखि स्वाब नमुना सङ्कलन भइरहेको तर वीरञ्ज–३ छपकैया जहाँ अहिलेसम्मकै सबैभन्दा बढी संक्रमितहरू छन्, त्यहाँ स्वाब नमुना सङ्कलन हुन सकेको छैन । संक्रमितको सम्पर्कमा रहेकाहरूको स्वाब नमुना सङ्कलन नभएकोले यो क्षेत्रमा संक्रमण बढ्न सक्ने चिकित्सकहरूले अनुमान लगाएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया