Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुनकोशी मरिन डाइभर्सन आयोजना अगाडि बढ्ने

सुनकोशी मरिन डाइभर्सन आयोजना अगाडि बढ्ने


काठमाडौं, जेठ १६
सरकारले सुनकोशी मरिन डाइभर्सन आयोजना अगाडि बढाउने भएको छ । सरकारले नदी पथान्तरण आयोजनालाई विशेषरूपमा अगाडि बढाइरहेका सन्दर्भमा तराई–मधेशमा सिँचाइ सुविधा उपलब्ध गराउने सुनकोशी मरिन डाइभर्सन परियोजनाका लागि बजेट विनियोजन गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सुनकोशी मरिन डाइभर्सन आयोजनाका लागि दुई अर्ब ४६ करोड बराबरको बजेट विनियोजन गरेका छन् । सो रकम सुरुङमार्ग निर्माणलगायतका काममा खर्च गरिने भएको छ ।

आयोजनाको चालू आवमा नै प्रारम्भिक काम सुरु भइसकेको छ । सो आयोजनाबाट प्रदेश नं २ का बारा, पर्सा, रौतहटलगायतका जिल्लाका एक लाख २१ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ । स्रोत तथा सिँचाइ विभागले अघि बढाइरहेको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । आयोजनाको सुरुङको डिटेल डिजाइन निर्माण कार्यसमेत सकिन लागेको बताइएको छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन निर्माणको अन्तिम चरणमा छ । आयोजनाको सुरुङ खन्न प्रयोग गरिने टनेल बोरिङ मेसिन (टीबीएम)को डिजाइनसमेत निर्माण भइरहेको बताइएको छ ।

सुनकोशीको पानी मरिनमा सुरुङमार्फत लगेर जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनामा कुल ४६ अर्ब १९ करोड लाग्ने अनुमान गरिएको छ । यस्तै बाँकी संरचना निर्माण गर्नका लागि झण्डै ३० अर्ब लाग्ने बताइएको छ । आयोजनाबाट कुल २८ मेगावाट विद्युत् उत्पादन हुने जनाइएको छ ।सिन्धुलीको सुनकोशी गाउँपालिका–६ को कानढुंग्री नजिक सुनकोशी नदीमा १२ मिटर उचाइको बाँध राखी ६७ क्युविक प्रतिसेकेन्ड पानी १३ दशमलव एक किलोमिटर सुरुङबाट कमलामाई नगरपालिका–२ को कुसुमटारस्थित मरिन खोलामा पानी खसाल्ने गरी डिजाइन गरिएको छ । चालू आवमा समेत सो आयोजनाका लागि दुई अर्ब पाँच करोड बजेट विनियोजन गरिएको छ ।

स्वास्थ्य क्षेत्रको बजेट ९० अर्ब ६९ करोड : सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ ।संघीय संसद्मा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वृद्धि गरी ९० अर्ब ६९ करोड पुयाएको बताए । चालू वर्षको लागिगत वर्ष ६८ अर्ब ७८ करोडरूपैयाँ विनियोजन गरिएको थियो । चालू वर्षभन्दा आगामी वर्षको लागि सरकारले स्वास्थ्य क्षेत्रमा २२ अर्ब ९१ करोड रूपैयाँ बढी विनियोजन गरेको हो । सबै नेपालीमा स्वास्थ्य सेवा पु¥याउन, गुणस्तरीय स्वास्थ्य सेवा राख्न, स्वास्थ्य क्षेत्रको दायरा विस्तार गर्न, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण, स्तरोन्नति गर्न, स्वास्थ्य जनशक्ति विकास गर्न तथा कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नका लागि ९० अर्ब ६९ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

साथै उनले नेपाल खुला दिसामुक्त भएको समेत जानकारी दिए । बिरामीले सहज र सुलभ तरिकाले एम्बुलेन्स पाउने गरी एउटै नम्बरमा फोन गरी पाउने व्यवस्था बजेटमा व्यवस्था गरिएको उनले बताए । सबै अस्पताललाई एकीकृतरूपमा सञ्चालन गर्नका लागि एकीकृत छाता ऐन ल्याउने बजेटमा उल्लेख गरिएको छ । स्वास्थ्यकर्मीको विद्यमान दरबन्दीलाई पुनरावलोक गरी स्वास्थ्यकर्मी थप गर्न सेन्टर फर डिजिट कन्ट्रोल स्थापना र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण गठनको प्रारम्भिक कार्य गर्नका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

भूकम्पपछिको पुनर्निर्माण आगामी वर्ष सक्ने : २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भौतिक पूर्वाधार र निजी आवास पुनर्निर्माणका काम सरकारले आगामी वर्षभित्र सक्ने जनाएको छ । भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम सक्न गरकारले ५५ अर्ब बजेट छुट्याएको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले पुनर्निर्माणका बाँकी कामका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए । ‘निर्माणाधीन धरहरा, रानीपोखरी, सिंहदरबारको मूल भवन लगायत भूकम्पपछिको पुनर्निर्माणका काम आगामी आर्थिक वर्ष सम्पन्न गरिनेछ’, अर्थमन्त्री खतिवडाले भने, ‘निजी, आवास, पुरातात्विक सम्पदा, विद्यालय भवन स्वास्थ्य संस्था, सरकारी भवन तथा अन्य क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि ५५ अर्ब विनियोजन गरिएको छ ।’ उनका अनुसार विद्यालय भवन पुनर्निर्माणका बाँकी कार्य सम्पन गर्न सम्बन्धित स्थानीय तहको साझेदारीमा स्थानीय आवश्यकताअनुसार डिजाइन गरी विद्यालय व्यवस्थापन समितिबाट निर्माण गरिनेछ । सरकारले भूकम्पपछिको पुनर्निर्माणको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत गराइरहेको छ ।

युवा तथा खेलकुद मन्त्रालयलाई दुई अर्ब ३६ करोड रकम : सरकारले कोरानाका कारण अन्य क्षेत्रलाई प्राथमिकता राख्दै युवा तथा खेलकुद क्षेत्रका लागि बजेट घटाएको छ । आगामी आर्थिक वर्षको लागि सरकारले युवा तथा खेलकुद क्षेत्रमा दुई अर्ब ३६ करोड रकम विनियोजन गरेको छ । यो बजेट चालू आर्थिक वर्षको भन्दा एक अर्ब ६३ करोडले कम हो । उक्त रकमले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि खर्च गरिने अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । युवा परिचालनदेखि खेलकुद पूर्वाधार निर्माण, नवौं राष्ट्रिय खेलकद आयोजना, कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको लागि बजेटको व्यवस्था गरिएको उनले बताए ।जुम्लामा उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्न बजेट विनियोजन गरिएको छ । यस्तै बजेटमा युवा उद्यमशीलता विकासका लागि सबै प्रदेशमा युवा प्रवद्र्धन केन्द्र स्थापना गरिने उल्लेख छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया