Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलाखौं नेपाली स्वदेश फर्किने प्रतीक्षामा सरकारले थाल्यो तयारी

लाखौं नेपाली स्वदेश फर्किने प्रतीक्षामा सरकारले थाल्यो तयारी


काठमाडौँ, जेठ २१
सरकारले विदेशमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउने भएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित नोवल कोरोनाभाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भारतबाहेक तेस्रो मुलुकबाट आउने नागरिकलाई तत्काल आउन दिने निर्णय गरेसँगै युवाहरु नेपाल फर्किन पाउने भएका हुन् ।
कोभिड १९ विपद् व्यपस्थापन केन्द्र (सीसीएमसी)ले भारत र अन्य मुलुकका गरी १३ लाखभन्दा बढी नेपाली स्वदेश फर्किन चाहेको बताउँदै आएको छ । समितिको सो निर्णयसँगै लाखौं नेपाली घर फर्किन पाउने भएका छन् ।

गृहकार्यस्वरुप परराष्ट्र मन्त्रालयले भने विदेशस्थित फर्किन चाहने नेपाली नागरिकको वर्गीकरण गरी अत्यावश्यक अर्थात् गर्भवती, आममाफी पाएका तथा महिलालाई पहिलो प्राथमिकतामा राखेको छ । यसअघि पनि सरकारले विदेशस्थित नेपाली नियोगहरुलाई स्वदेश फर्किन चाहने नेपालीको विवरण संकलन गर्न निर्देशन दिएको थियो भने नियोगहरुले समेत सो कार्यलाई अघि बढाएको बताउँदै आएका छन् ।

भारतबाहेक तेस्रो मुलुकबाट आउन नेपालीको लागि उडान अनुमति दिने समितिले निर्णय गरेको छ भने यसको लागि मुख्य जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मेवारी दिएको छ भने सहायक जिम्मेवारीको रुपमा परराष्ट्र र गृह (अध्यागमन)लाई जिम्मेवारी दिएको छ । यस्तै समितिले भारत तथा तेस्रो मुलुकबाट आउने नागरिकले हवाइ उडान, यातायात र होटल क्वारेन्टाइन खर्च स्वयं यात्रुले व्यहोर्नुपर्ने बताएको छ ।

समितिका सदस्य एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिँडारीले नेपाली नागरिकहरुलाई स्वदेश ल्याउनको लागि सहजीकरण गर्ने, स्वदेश आएपछिको विभिन्न चरणको व्यवस्थापनको लागि सम्बन्धित मन्त्रालय, विभाग तथा निकायहरुलाई मुख्य जिम्मेवारी र सहायक जिम्मेवारीको रुपमा कार्य गर्नको लागि नेतृत्व प्रदान गरेको बताए ।

समितिले हवाइ उडानबाट आउने व्यक्तिको निजले साथमा लिई आएको हवाइ उडानअघि सात दिनभित्रको स्वास्थ्य परीक्षण प्रमाणको चेकजाँच गरिनेछ भने यसको जिम्मेवारी स्वास्थ्य मन्त्रालय तथा त्रिभुवन विमानस्थलमा खटाइएका टोलीलाई प्रदान गरिएको छ भने गृह, पर्यटन मन्त्रालयले समेत यसमा सहयोग गर्नेछ । जसले गर्दा स्वदेश फर्किन चाहने नेपाली नागरिकले कोरोना चेकजाँच गरेको अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । यस्तै स्वदेश ल्याउने र स्वदेश फिर्तापछिको सम्पूर्ण कार्यको सञ्चालन अनुगमन, नियन्त्रण र निर्देशन भने सीसीएमसीले गर्नेछ ।

होटल क्वारेन्टाइनको छनौट गरी निर्धारण गर्ने साथै क्वारेन्टाइन प्रयोजनका लागि तोकिएको होटलको विवरण वेबसाइटमा राख्ने व्यवस्था मिलाउने जिम्मेवारी भने सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीलाई प्रदान गरिएको छ । यसरी विभिन्न मन्त्रालय र निकायलाई सम्बन्धित नेतृत्व दिँदा फर्किएका नेपालीको व्यवस्थापनमा सहज हुनुको साथै कोरोना नियन्त्रणमा सहज हुने समितिको भनाइ छ ।

भारतबाहेक तेस्रो मुलुकबाट आउने नेपाली नागरिकको पहिचान, प्राथमिकीकरण, विवरण संकलन तथा सरोकारका निकायहरुमा उपलबध गराउनको लागि विदेशीस्थित नेपाली नियोगलाई दश दिनको समय दिएको छ भने नेपाल–भारत सीमाका प्रवेश विन्दु व्यवस्थापन तत्काल व्यवस्थापन गर्नको लागि जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई जिम्मेवारी दिएको छ ।

यता नेपाल–भारत सीमाका प्रवेश विन्दुमा नेपाली नागरिक आएपछि होल्डिङ सेन्टरमा निजको ठेगानासहितको व्यक्तिगत विवरण तयार गर्ने प्रशासन र स्थानीय तहलाई जिम्मेवारी दिएको छ । त्यस्तै होल्डिड सेन्टरको छनौट गरी निर्धारण गर्ने र प्रदेशगत रुपमा व्यवस्थापन गर्नको लागि पनि प्रशासन कार्यालय, प्रदेश सरकार, नेपाली सेनालगायतलाई जिम्मेवारी दिएको छ भने प्र्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिड सेन्टरमा पु-याई होल्डिङ सेन्टरबाट होटल क्वारेन्टाइन वा स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनमा पु-याउन आवश्यक यातायातको साधनको व्यवस्था गर्न समेत सम्बन्धित निकायलाई जिम्मेवारी दिएको छ ।

भारतबाट आउनेलाई होल्डिङ सेन्टर र तेस्रो मुलुकबाट आउनेलाई विमानस्थलमा स्वास्थ्य स्वघोषणा फारम (एसएचडीएफ) भर्न लगाउने र ज्वरो मापन गर्नुपर्ने व्यवस्था गरिएको छ । मोबाइलको सिमकार्ड निःशुल्क उपलब्ध गराउने, स्वदेश फर्किनेले हाम्रो स्वास्थ्य एप्स डाउनलोड गरी स्वास्थ्य अवस्था नियमितरुपमा अद्यावधिक गर्नुपर्नेलगायतको व्यवस्था समितिले गरको छ । फर्किएका नागरिकहरुलाई खरिपाटी इचंगु आवास क्षेत्र, मनमोहन अस्पताल दहचोक, केएमसी दुवाकोटमा तोकिएको बेड संख्यासहितको क्वारेन्टाइन तथा अन्य स्थानीय तहको हकमा समेत क्वारेन्टाइनको व्यवस्था गरिने भएको छ । स्थनीय तहलाई क्वारेन्टाइनको बन्दोबस्ती र क्वारेन्टाइनमा रहँदाको खाना खर्चबापत प्रतिदिन प्रतिव्यक्ति एक सय ७५ रुपैयाँका दरले १४ दिनका लागि हुने खर्चबापतको रकम उपलब्ध गराउने भएको छ ।

क्वारेन्टाइनसम्बन्धी समग्र कार्यका लागि प्रदेशका मन्त्रीलाई जिम्मेवारी दिइएको छ । भारत तथा अन्य मुलुकबाट स्वदेश आएकालाई जिल्ला सदरमुकाम हुँदै सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पु-याउनुपर्ने हुन्छ । क्वारेन्टाइनमा बसेकाको स्वास्थ्य परीक्षण तथा होम क्वारेन्टाइनमा रहेकाको अनुगमन समेत गरिनेछ । यस्तै रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएकाहरुको शव नेपाल ल्याई शव व्यवस्थापन गरिने भएको छ । विदेशमा सयभन्दा बढीको मृत्यु भई शव रहेकोमध्ये कतिपयको भने आफन्तको सहमतिमा विदेशमै दाहसंस्कार गरिएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया