Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचामल खरिद प्रक्रिया अन्योलमा

चामल खरिद प्रक्रिया अन्योलमा


काठमाडौं, जेठ २१
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख क्वीन्टल चामल खरिदका लागि तेस्रो पटक सार्वजनिक बोलपत्र आह्वान गर्दा निवेदन नपरेपछि चामल खरिद नै अन्योलमा परेको छ । कम्पनीसँग मौज्दात चामल सकिनै लाग्दा नयाँ खरिदका लागि बोलपत्र आह्वान भएको करिब दुई महिना बितिसक्दा समेत खरिद प्रक्रिया सुरु हुन सकेको छैन ।

पहिलो र दोस्रो पटकको बोलपत्र आह्वानमा कुनै निवेदन नपरेपछि बजारको अवस्थानुसार दरमा केही परिमार्जन गरी पुनः तेस्रो पटक आह्वान गरिएको थियो । व्यवसायीको आग्रहअनुसार बोलपत्रमा परिमार्जन गरी तेस्रो पटक प्रकाशन गर्दा १५ निवेदन परे पनि छनौट हुन नसकेको कम्पनीले जनाएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार १५ जनाको आवेदन दर्ता भए पनि दर धेरै भएपछि छनोट हुन नसकेको हो ।

उनका अनुसार तेस्रो पटकको आह्वान समेत छनौट हुन नसकेपछि नयाँ विकल्पका बारेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलको तयारी गरिएको छ । चामल खरीदका लागि पहिलो पटक गत चैत ५ गते ३० दिनको समयसीमा राखेर बोलपत्र आह्वान गरिएको थियो । त्यसैगरी दोस्रो र तेस्रो पटक १५/१५ दिनको समय राखेर पुनः गत वैशाख १० र यही जेठ १ गते बोलपत्र आह्वान गरिएको थियो । तेस्रो बोलपत्रको समयसीमा जेठ १५ गते सकिएको छ ।

रोकियो गहुँ खरिद : खाद्य कम्पनीले तराईका दुई जिल्लामा किसानबाट गहुँ खरीद प्रक्रिया सुरु गरेकामा कोरोना संक्रमणको जोखिमले खरिद प्रक्रिया रोकिएको छ । गत वैशाख अन्तिम सातादेखि कैलाली (धनगढी) र बर्दिया (राजापुर) जिल्लामा किसानबाट गहुँ खरिद सुरु भएकामा उक्त क्षेत्रमा कोरोना संक्रमित बढेसँगै खरिद प्रक्रिया रोकिएको न्यौपानेले जानकारी दिए । उनका अनुसार उक्त क्षेत्रमा संक्रमित वृद्धि भएपछि प्रशासनको समन्वयमा खरिद प्रक्रिया रोकिएको हो । कम्पनीले धनगढी र राजापुरमा दश/दश हजार तथा बाँके(नेपालगञ्ज) र रूपन्देही (भैरहवा)मा पाँच/पाँच हजार गरी ३० हजार क्वीन्टल (तीन हजार टन) गहुँ खरिद गर्न चार जिल्लामा कोटा छुट्याएको थियो । लकडाउनका कारण नेपालगञ्ज र भैरहवामा खरिद प्रक्रिया सुुरु हुन सकेको छैन ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया