Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलकडाउनमा पर्साका खोलाहरूको चरम दोहन

लकडाउनमा पर्साका खोलाहरूको चरम दोहन


सन्तोष पौडेल
बीरगञ्ज, जेठ २८
लकडाउनमा नदीजन्य पदार्थको उत्खनन् तीव्र गतिमा भइरहेको छ । पर्सा जिल्लामा भएका छवटै नदीमा अवैध रुपमा उत्खनन हुँदै आएको हो । केही खोलामा भने उत्खननको लागि ठेक्का लगाइएको छ । ठेक्कामा सञ्चालित पर्सागढी नगरपालिकाको कर्जनिया खोला, वीरगञ्ज महानगरको भेडाहा खोला र पटेर्वासुगौली गाउँपालिकाको गादी खोला हुन् । यसैगरी, पटेर्वासुगौली र जीराभवानी गापामा पर्ने भलुवाही, सखुवाप्रसौनी गापाको जमुनिया र जीराभवानी गापामा रहेको ओरिया खोलाको ठेक्का हुनसकेको छैन ।

वातावरणीय परीक्षण रिपोर्टमा ढिलाइ भएको र प्रदेश सरकारले रोक लगाएको कारण यस वर्ष ती खोलाहरूको ठेक्का हुन नसकेको हो । ठेक्का नभएका खोलाहरूबाट अवैध उत्खनन भइरहेको छ भने ठेक्का भएका खोलाहरूबाट पनि नियम, सम्झौताविपरीत उत्खनन भइरहेको छ । ठेक्का सम्झौतामा खोलाको दुवै किनारको दश÷दश मिटरभित्रबाट नदीजन्य पदार्थको उत्खनन गर्नुपर्ने र सो उत्खननमा प्रयोग हुने यन्त्रबाट तीन फिटभन्दा बढी गहिराइ गरी उत्खनन गर्न नपाउने प्रावधानविपरीत अहिले उत्खनन भइरहेको पाइएको छ । ठेक्का भएका खोलाहरूमा एक्स्काभेटरको प्रयोग गरी तीन फिटभन्दा बढी गहिरो गरी उत्खनन भइरहेको स्थानीयहरूले गुनासो गरेका छन् ।

यसैगरी, ठेक्का नभएका भलुवाही, जमुनिया र ओरिया नदीमा अवैध उत्खनन जारी छ । लकडाउनको अवसरमा प्रहरी र वन कर्मचारीलाई अवैध नदी उत्खनन कमाइखाने भाँडो बनेको छ । प्रतिट्र्याक्टर सयदेखि दुई सय रुपैयाँसम्म लिएर प्रहरी, वन कर्मचारीले अवैध उत्खननलाई बढावा दिएका छन् । यही कारण हो ठेक्का नभएका खोलाहरूमा सयौंका संख्यामा ट्र्याक्टरहरू प्रवेश गर्ने र बालुवा, गिट्टी, ढुङ्गाको ढुवानी गर्दै आएका छन् । खोला रहेका यी क्षेत्रमा दैनिक सयौंको संख्यामा ट्र्याक्टरको आवतजावत सहजै देख्न सकिन्छ । लकडाउन अढाई महिना लम्बिएको र जेठ मसान्तसम्म मात्र नदीजन्य पदार्थको उत्खनन गर्न पाउने प्रावधान भएकोले पनि अहिले अवैध उत्खनन बढेको छ ।

असारदेखि असोज १ गतेसम्मका लागि सबै खोलामा उत्खनन बन्द गरिन्छ । सो अवधिबाहेक वातावरणीय परीक्षण रिपोर्ट तयार भएर स्थानीय तहले ठेक्का लगाएका खोलाहरूबाट मात्र उत्खनन गरिन्छ । अहिले ठेक्का नलागेका खोलाहरूबाट सम्बन्धित स्थानीय तहले विकास निर्माणको लागि नदी उत्खननको लागि अघोषित इजाजत दिएको छ । स्थानीय तहअन्तर्गत निर्माण हुने ढलान, सडक, नाला, घर निर्माण आदिका लागि नदीजन्य पदार्थको उत्खनन गर्न दिइएको बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया