Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबाँकेमा उपभोक्ता हित संरक्षणमा समिति सक्रिय, अनुगमनलाई निरन्तरता दिइने

बाँकेमा उपभोक्ता हित संरक्षणमा समिति सक्रिय, अनुगमनलाई निरन्तरता दिइने


बाँके, जेठ ३०
नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले उपभोक्ताको हितमा अझ बढी सक्रिय भै कार्य गर्ने निर्णय गरेको छ । समितिका संयोजक एवं उप्रमुख उमा थापा मगरको अध्यक्षमा बसेको समितिको बैठकले बजार अनुगमनको समीक्षा गर्दै कालोबजारी नियन्त्रण र उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनको कार्यलाई निरन्तरता दिने निर्णय गरेको समितिका सदस्य सचिव बिमल गुरुङ्गले जानकारी दिए । बैठकमा उपभोक्ता हित संरक्षण समितिअन्तर्गतको बजार अनुगमन टोलीबाट भएको बजार अनुगमन प्रतिवेदन उपर छलफल भएको थियो ।

बजार अनुगमनको तीव्रताका कारणले गर्दा कालोबजारी तथा मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुगेको र उपभोक्ता सचेततामा वृद्धि भई उपभोक्ताले उजुरी गर्न थालेको संमितिका संयोजक एवं उपप्रमुख उमा थापा मगरले बताइन् । यसैगरी समितिको बैठकले नेपालगञ्जस्थित स्थानीय सञ्चारमाध्यमबाट उपभोक्ता हितको बारेमा विभिन्न जनचेतनामूलक रेडियो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को लागि उपभोक्ता हित संरक्षण तथा सोसम्बन्धी वार्षिक कार्ययोजना योजनाको पेश गर्न नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक विकास समिति संयोजक मञ्जु नेपालीको संयोजकत्वमा ५ सदस्यीय वार्षिक कार्ययोजना निर्माण समिति गठन गरेको छ । समितिलाई एक हप्ताभित्र कार्ययोजना पेश गर्ने कार्यादेश दिइएको छ । समितिमा वाणिज्य कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, नेपालगञ्ज उद्योेग वाणिज्य संघका प्रतिनिधि सदस्य रहने र सदस्य सचिवमा नेपालगञ्ज उपमहानगरपालिका अधिकृत बिमल गुरुङ रहने निर्णय समितिले गरेको छ ।

उपभोक्ता हित संरक्षण समितिका अध्यक्षसमेत रहनु भएका उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरको अध्यक्षमा भएको बैठकमा आर्थिक विकास समिति सदस्य मञ्जु नेपाली, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य एवं समिति सदस्य अधिवक्ता वसन्त गौतम, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख कृष्ण पौड्याल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खगेन्द्रबहादुर मल्ल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य निरीक्षक नेत्रा बागेटी, नेपालगञ्ज उद्योग वाणिज्य संघका टंकबहादुर धामी र समितिका सदस्यसचिव नेपालगञ्ज उपमहानगरपालिका अधिकृत बिमल गुरुङलगायतको सहभागिता रहेको थियो ।

लकडाउनका समयमा बढी मुनाफा लिई उपभोक्ता ठगी हुन सक्ने कुरालाई मध्यनजर राख्दै नेपालगञ्जमा बजार अनुगमनको कार्यलाई निरन्तरता र नियमनकारी निकाय सक्रिय भै लाग्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतमले बताए । लकडाउनको मौका छोप्दै बजारमा स्वास्थ्यलगायतका सामग्रीको कृतिम अभाव देखाउने, दैनिक उपभोग्य खाद्य वस्तुहरुको बढी मुनाफा लिई उपभोक्ता ठग्ने कार्य बिरुद्धमा उपभोक्ता सचेत भई उजुरी र कारवाहीको प्रक्रियालाई तदारुकताका अगाडि बढाउनु पर्ने गौतमले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया