Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधराष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक

राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक


काठमाडौं । केन्द्रीय तथ्यांक कार्यालयले राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण २०७९’ सार्वजनिक गरेको हो ।

सो सर्वेक्षण संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी)को सहयोगमा नेपालको सबै भूभागको वस्तुस्थितिमा आधारित भई तयार पारिएको बताइएको छ । कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेल र नेपालस्थित युएनडीपीका आवासीय उपप्रमुख जुलियन सेभिलार्डले सो सर्वेक्षण सार्वजनिक गरेका थिए । सर्वेक्षणले जलवायु परिवर्तनले पारेका असर न्यूनीकरण गर्नका लागि नीति निर्माण बनाउन कोशेढुङ्गा सावित हुने प्रमुख तथ्याङ्क अधिकारी पोखरेलले बताए । साथै, उनले जलवायु परिवर्तनले पारेका असर न्यूनीकरण गर्न तीनै तहका सरकार र विकास साझेदार संस्थाहरूलाई गम्भीर बन्न पनि आग्रह गरे ।

राष्ट्रिय तथ्याङ्क कार्यालयबाट सञ्चालित यो दोस्रो पारिवारिक सर्वेक्षण हो । यसअघि कार्यालयले सन् २०१६ मा साविक केन्द्रीय तथ्याङ्क विभागबाट सञ्चालन गरेको थियो । यो सर्वेक्षणमा देशैभरिबाट तथ्याङ्कीय विधिका आधारमा छनौट भएका तीन सय २६ गणना क्षेत्रका छ हजार पाँच सय आठ परिवारबाट तथ्याङ्क संकलन गरिएको कार्यालयले जनाएको छ । कार्यालयले २०७९ माघदेखि २०८० असारसम्म गरी पाँच महिना लगाएर सो तथ्याङ्क संकलन गरेको थियो । कम्तीमा २५ वर्ष एकै स्थानमा बसोबास गर्दै आएका ४५ वर्षमाथिका सर्वसाधारणलाई सोधिएको प्रश्नावलीका आधारमा प्रतिवेदन तयार गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ । यस्तै, सो तथ्याङ्क भौगोलिक क्षेत्र, उत्तरदाताको लिङ्ग, आम्दानी, शैक्षिक तह, जलवायु जोखिम तह आदिका आधारमा संकलन गरिएको हो ।

सर्वेक्षणअनुसार नेपालमा करिब ३६ प्रतिशत परिवारमा जलवायु परिवर्तनका बारेमा ज्ञान रहेको पाइएको छ । यस्तै, १० परिवारमध्ये नौ परिवारले विगत २५ वर्षको अवधिमा जलवायु परिवर्तनको अनुभूति गरेको पाइएको सर्वेक्षणमा उल्लेख छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x