Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबैंक तथा वित्तीय संस्था परिसंघले दोस्रो संस्करणको नेपाल बिजनेस समिट आयोजना गर्ने

बैंक तथा वित्तीय संस्था परिसंघले दोस्रो संस्करणको नेपाल बिजनेस समिट आयोजना गर्ने


काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) बीच दोस्रो संस्करणको नेपाल व्यवसाय शिखर सम्मेलन, २०८१ आयोजना गर्ने समझदारी भएको छ । शिखर सम्मेलन आगामी असारमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेतको सहकार्यमा सिबिफिन र एनबीआईले संयुक्तरूपमा काठमाडौंमा आयोजना गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्मेलन आयोजनासम्बन्धी समझदारीपत्रमा बुधबार सिबिफिनका उपाध्यक्ष कुशप्रसाद मल्ली र एनबीआईको तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरे । सिबिफिनको कार्यालय सुन्धारामा सम्पन्न भएको हस्ताक्षर समारोहमा सिबिफिन महासचिव प्रचण्डबहादुर श्रेष्ठ र एनबीआईका कार्यक्रम निर्देशक धर्मराज रेग्मीको विशेष उपस्थिति रहेको थियो । निजी क्षेत्र र बैंक तथा वित्तीय क्षेत्रले भोगिरहेका वर्तमान समस्या, चुनौती र समाधानका उपायहरूबारे राष्ट्रियस्तरको संवाद गरी सुधारका लागि सम्बन्धित निकायहरू समक्ष सुझाव प्रतिवेदन पेश गर्ने तथा कार्यान्वयनका लागि पहल गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनले वित्तीय साक्षरता र पहुँच अभिवृद्धि गर्दै साना, मझौला, स्टार्टअप, महिला तथा युवा उद्यम प्रोत्साहित हुनेगरी नीति, कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्न, गराउन तीनै तहका सरकारलाई सुझाव दिने र कार्यान्वयन प्रक्रियामा सहजीकरण समेत गर्नेछ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै सिबिफिनका उपाध्यक्ष कुशप्रसाद मल्लीले तीन तहकै सरकारसँग हातेमालो गर्दै उत्पादन तथा उत्पादकत्व, रोजगारी र लगानी विस्तार, वित्तीय पँहुच अभिवृद्धि गर्न तथा उद्योग एवं उद्यमशीलता प्रवर्द्धन गर्न सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराए । त्यसैगरी सिबिफिनका महासचिव प्रचण्डबहादुर श्रेष्ठले काठमाडौं केन्द्रित भई निरन्तर समिट भइरहेको सन्दर्भमा आयोजना गरिने यस सम्मेलनले आर्थिक एवं बैंकिङ क्षेत्रको समग्र अवस्थाको चिरफार गर्दै उपलब्धिमूलक यात्राका लागि नेपाल सरकार र समग्र निजी क्षेत्रलाई दिशानिर्देश गर्ने अपेक्षा राखिएको बताए ।

यस्तै, कार्यक्रममा बोल्दै एनबीआईका कार्यकारी अध्यक्ष विशाल गैरेले स्थानीय र प्रदेशस्तरका व्यवसायका लागि उपयुक्त अवसरहरूको पहिचान गर्दै देशको अर्थव्यवस्था चलायमान बनाउनका लागि सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र वास्तविक उद्यमीहरूको उद्यममा सहजीकरण गर्ने उद्देश्य सम्मेलनको रहेको बताए । उक्त सम्मेलनमा प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातवटै प्रदेशका मुख्यमन्त्री, स्थानीय सरकारका प्रमुखहरू, विशिष्ट सरकारी कर्मचारी, स्वदेशी तथा विदेशी विषयविज्ञ, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रमा अग्रणी संस्थाका प्रतिनिधि, लब्धप्रतिष्ठित बैंकर्स तथा व्यवसायीसहित प्रदेशस्तरका उद्यमीहरूसहित करिब ४०० जनाको सहभागीता रहने सिबिफिनका निमित्त महानिर्देशक रोशन कोइरालाले जानकारी गराए ।

उक्त सम्मेलनको दौरानमा नेपाल सरकार र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको उपस्थितिमा उद्यम दर्ता, कर्जा लगानी तथा भुक्तानी, व्यावसायिक क्षमता अभिवृद्धि, जोखिम व्यवस्थापनलगायतका विषयमा परामर्श केन्द्र सञ्चालन गर्ने, बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाहका लागि सहजीकरण गर्ने, स्वदेशी उत्पादनको प्रदर्शनी तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्टलहरू समेत राखिने छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x