Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधउपभोक्ता समितिको नाममा ठेकेदारी 

उपभोक्ता समितिको नाममा ठेकेदारी 


सन्तोष पौडेल
बीरगञ्ज, असार २
स्थानीय र प्रदेश सरकारबाट उपभोक्ता समितिअन्तर्गत विभिन्न विकास योजनाका काम लिएका उपभोक्ता समितिले ठेकेदारमार्फत कमिसनमा काम गराइरहेका पाइएको छ । उपभोक्ता समिति बनाएर विकास निर्माणका काम गर्न स्थानीय तथा प्रदेश सरकारबाट विनियोजित रकम लिएका समितिहरूले ठेकेदारलाई कमिशनमा योजना बिक्री गर्ने गरेको पाइएको छ । ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिकाहरूमा उपभोक्ता समिति बनाएर स्थानीय र प्रदेश सरकारबाट काम लिएकाहरूले ठेकेदारलाई १० देखि २० प्रतिशत कमिसनमा ठेक्का दिने गरेको स्रोतले जनाएको छ ।

अहिले यो क्षेत्रमा उपभोक्ता समितिमार्फत भइरहेका अधिकांश निर्माणकार्य ठेकेदारले गरिरहेको बताइएको छ । ठेकेदारसँग कमिसन लिएर उपभोक्ता समितिहरूले कामको जिम्मेवारी सुम्पिने गरिएको छ । उपभोक्ता समिति आफैंले गर्ने काम राम्रो हुने गरेको स्थानीयहरू बताउँछन् । तर अहिले समितिहरू आफैंले काम नगरी कमिशन लिएर ठेकेदारलाई दिंदा कमसल निर्माण कार्य भइरहेको जीराभवानी गापाका सञ्जय चौधरीले बताए ।

निर्मलबस्तीका पूर्वगाविस अध्यक्ष लालबहादुर श्रेष्ठले उपभोक्ता समिति बनाएर काम लिएकाहरूको साइटमा अहिले अनुगमन गर्दा ठेकेदारले काम गरिरहेको पाइएको बताए । आर्थिक वर्षको समाप्तिमा उपभाोक्ता समितिले लिएको काम ठेक्कामार्फत गराउने प्रचलन झनै बढेको छ । अहिले यी क्षेत्रमा हुने गरेका कामहरूको अनुगमन गर्ने हो भने यस्ता थुप्रै प्रमाण फेला पर्ने पूर्वगाविस अध्यक्ष श्रेष्ठले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया