Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधएक लाख ३८ हजार मेट्रिक टन चामल मौज्दात

एक लाख ३८ हजार मेट्रिक टन चामल मौज्दात


काठमाडौँ, असार ४
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारी तथा निजी क्षेत्रका व्यवसायीसँग डेढ लाख मेट्रिक टन चामल मौज्दात रहेको जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग १५ हजार ५९ मेट्रिक टन र निजी क्षेत्रसँग एक लाख २३ हजार दुई सय ४५ मेट्रिक टन चामल मौज्दात रहेको छ ।

तथ्यांकअनुसार खाद्य कम्पनीसँग रहेको मौज्दात चामलमध्ये दुई हजार नौ सय ५३ मेट्रिक टन दुर्गमका २३ जिल्लामा रहेको छ । यसैगरी निजी क्षेत्रका उद्योगसँग ६० हजार मेट्रिक टन चामल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । निजी क्षेत्रसँग रहेको ९८ हजार ५४ मेट्रिक टन धानबाट ६३ हजार २ सय ४५ मेट्रिक टन चामल उत्पादन हुने अनुमान गरी निजी क्षेत्रसँग एक लाख २३ हजार दुई सय ४५ मेट्रिक टन चामल मौज्दात रहेको बताइएको छ ।

मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चामलसँगै छ सय ५१ क्वीन्टल फापर, ५ सय क्वीन्टल सिमी, पाँच सय ४३ मेट्रिक टन गहुँ खरिद गरी मौज्दात राखिएको छ भने १३ मेट्रिक टन दाल तथा गेडागुडी मौज्दात रहेको छ । धान र गहुँ खरिद प्रक्रियामा रहेको जनाइएको छ । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग दुर्गमका जिल्लामा दुई हजार सात सय ४८ मेट्रिक टन नुन मौज्दात रहेको र आयात प्रक्रियामा रहेको एक लाख ३६ हजार सात सय ७५ मेट्रिक टन नुन आयात प्रक्रियामा रहेको छ । साल्ट ट्रेडिङसँग दुई हजार एक सय ६८ मेट्रिक टन चिनी र निजी उद्योगसँग ३६ हजार चार सय ६६ गरी ३८ हजार छ सय ३४ मेट्रिक टन चिनी मौज्दात रहेको छ । निजी क्षेत्रका व्यापारीसँग दाल, केराउ तथा चना १६ हजार ८१ मेट्रिक टन मौज्दात रहेको छ भने ८३ हजार नौ सय ६७ मेट्रिक टन खानेतेल आयात प्रक्रियामा रहेको जनाइएको छ ।

तेल उद्योगसँग एक सय मेट्रिक टन पामआयल, दुई हजार आठ सय ६८ मेट्रिक टन पामोलिन तेल, एक हजार आठ सय ३० मेट्रिक टन सोयाविन तेल, एक हजार तीन सय ६५ मेट्रिक टन सूर्यमुखी तेल मौज्दात रहेको छ । यसैगरी छ हजार आठ सय ८४ मेट्रिक टन तेल आयातको प्रक्रियामा रहेको छ भने ५३ हजार दुई सय ६४ मेट्रिक टन तेल कोलकातामा मौज्दात छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल आयल निगमको थानकोट डिपोमा ३५ हजार नौ सय २८ किलोलिटर डिजेल, सात हजार ५८ किलोलिटर पेट्रोल र एक हजार तीन सय ६० किलोलिटर मट्टिलेत मौज्दात रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया