Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलकडाउन खुकुलो भएपछि तरकारी, माछामासु महंगियो

लकडाउन खुकुलो भएपछि तरकारी, माछामासु महंगियो


बीरगञ्ज, असार ७
लकडाउन खुकुलो भएसँगै हरियो तरकारी र माछामासुको मूल्यवृद्धि भएको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउनको करिब तीन महिनाको अवधिमा हरियो तरकारी र कुखुराको मासुको मूल्य घटेको थियो । लकडाउनको सुरुआतमा हरियो तरकारी बोडी, घिरौँला, रामतोरइ, करैला, बन्दा, कोभी, गोलभेँडा, खुर्सानी, परवलको मूल्य १० रूपैयाँ देखि ३० रूपैयाँ प्रतिकिलो थियो । पर्सा, बारामा उत्पादित तरकारी बाहिर नजाँदा वीरगञ्जलगायत जिल्लाका ग्रामीण क्षेत्रमा पनि निकै सस्तो भएको थियो । असार १ गतेदेखि लकडाउन खुकुलो भएसँगै हरियो तरकारीको मूल्य महंगो हुँदै गइरहेको छ ।

बाह्य जिल्ला र स्थानीय तहमा पनि एक ठाउँबाट अर्को ठाउँमा ढुवानी सहज भएको कारण हरियो तरकारी बाहिरिएपछि महंगो भएको हो । वीरगञ्ज तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष विदुर गुप्ताले ढुवानी सहज भएपछि तरकारी महंगो भएको बताए । यसैगरी लकडाउन सुरू भएपछि सस्तो भएको बोइलर कुखुराको मासुको मूल्य पनि अहिले महंगिएको छ । लकडाउनको कारण माछामासु बिक्रीमा रोक लागेपछि पर्सामा रहेका करिब पाँच सय कुखुरा फार्ममध्ये आधा बन्द भएका थिए । त्यसपछि बोइलर कुखुरा सस्तो भएको कारण थुप्रै फार्मले नयाँ चल्ला राखेनन् । जसको कारण अहिले उत्पादन थोरै भएपछि बोइलर कुखुरा महंगो भएको छ ।

लकडाउनताका प्रतिकेजी जिउँदो दुई सय रूपैयाँ र मासु दुई सय ५० रूपैयाँमा बिक्री हुने गरेको बोइलर कुखुरा अहिले प्रतिकेजी जिउँदो तीन सय रूपैयाँ र मासु चार सय ४० रूपैयाँमा बिक्री भइरहेको छ । कुखुरा व्यवसायी संघ पर्साका अध्यक्ष फिरोज आलमले उत्पादनमा कमी आएको र माग बढी भएको कारण बोइलर कुखुरा महंगो भएको बताए । उनले अहिले १० प्रतिशत फार्म मात्र सञ्चालनमा रहेको र तिनीहरूबाट उत्पादित बोइलर कुखुरा बजारमा माग अनुसार आपूर्ति हुन नसक्दा मूल्य बढेको बताए । यसैगरी, खसीको मासुको पनि मूल्य बढेको छ । वीरगञ्ज महानगरमा प्रतिकिलो नौ सय रूपैयाँ तोकिएको खसीको मासु लकडाउनदेखि नै हजार रूपैयाँ पुगेको थियो । अहिले पनि सोही दाममा बिक्री भइरहेको छ ।

माछामासु व्यवसायी संघका सचिव ग्यासुमियाँ देवानले संघले तोकेको दर नौ सय रूपैयाँ प्रतिकिलो रहेको तर बजारमा एक हजार रूपैयाँसम्म बिक्री भइरहेको बताए । उनले अहिले पनि ढुवानी सहज नभएकोले बाहिरबाट खसी ल्याउन नसक्दा महंगो भएको बताए । पर्सा जिल्लाका गाउँटोलमा भएका खसीहरू महंगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यकारी अवस्था भएकोले मासु महंगो भएको उनको तर्क छ ।

वीरगञ्ज महानगरमा प्रतिकिलो एक हजार रूपैयाँमा बिक्री भइरहेको खसीको मासु ग्रामीण क्षेत्रमा प्रतिकिलो आठ सय रूपैयाँमा बिक्री भइरहेको छ । ग्रामीण क्षेत्रमा पानी मिसाएको मासु प्रतिकिलो सात सय रूपैयाँ र पानी नमिसाएको प्रतिकिलो आठ सय रूपैयाँमा बिक्री भइरहेको छ । अहिले ग्रामीण क्षेत्रमा पनि बोइलर कुखुराबाहेक खसीको मासु खुलारूपमा बिक्री भइरहेको छैन । लकडाउनको समयदेखि खसीको मासु गाउँटोलमा भाग लगाएर बिक्री हुने प्रचलन अहिले पनि कायम छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया