Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभारतबाहेकका देशबाट सात हजारको उद्धार

भारतबाहेकका देशबाट सात हजारको उद्धार


काठमाडौं, असार ११
सरकारले पहिलो चरणमा गत जेठ २१ गतेदेखि भारतबाहेकका देशमा अलपत्र परेका सात हजार नेपाली नागरिकको उद्धार गरेको छ । जेठ २१ गते मलेसियाबाट एक जनालाई ल्याइएको थियो । हालसम्म सात हजार ११ जनालाई स्वदेश फर्काइसकिएको छ । विदेशमा अलपत्र नेपालीको उद्धारको लागि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जिम्मेवारी पाएएको छ । केन्द्रले मंगलबारसम्म सात हजार ११ जनालाई स्वदेश ल्याएको र उनीहरुमध्ये चार हजार छ सय ४५ जनालाई सम्बन्धित प्रदेशमा पठाएको छ ।

केन्द्रका सदस्य एवं गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले सरकारले केन्द्रलाई दिएको अधिकारअनुरुप विदेशबाट फर्किएकालाई उपत्यकाको होल्डिङ सेन्टरमा राखिने र आवश्यक प्रक्रिया पूरा गरेपछि आ—आफ्ना प्रदेशमा पठाउने गरिएको बताए । ‘हामीले कुन प्रदेशका कति नागरिक आए र उनीहरुको स्वास्थ्यावस्था कस्तो छ भनी जाँचपछि मात्र प्रदेश सरकारलाई हस्तान्तरण गर्ने गरेका छौँ’, उनले भने, ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको निर्णयअनुरुप केन्द्रले कार्य सञ्चालन गरिरहेको छ ।’

सरकारले विदेशबाट उद्धार गरेर ल्याएका नागरिकहरुलाई विमानस्थलबाट सोझै उपत्यकाको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको होल्डिङ सेन्टरमा राख्दै आएको छ । त्यसपछि सम्बन्धित प्रदेशको क्वारेन्टाइनमा पठाउँदै आएको छ । होल्डिङ सेन्टरमा स्वास्थ्य जाँचपछि आवश्यकताअनुसार प्रदेश वा अस्पतालमा लैजाने गरिएको छ ।

केन्द्रका अनुसार स्वदेश फिर्ता हुनेमा सबैभन्दा बढी वाग्मती र सबैभन्दा कम कर्णाली प्रदेशका छन् । उनीहरुमध्ये आ—आफ्ना प्रदेशका सम्बन्धित प्रदेशमा जानेहरुमा सबैभन्दा बढी प्रदेश नं १ र सबैभन्दा कम कर्णाली प्रदेशका छन् ।

प्रदेश १ का एक हजार चार सय १३ जना, प्रदेश २ का आठ सय ६९ जना, वाग्मतीका दुई हजार चार सय ३२ जना, गण्डकीका आठ सय ६८ जना, प्रदेश नम्बर ५ का एक हजार एक सय एक जना, कर्णालीका एक सय ४० जना र सुदूरपश्चिमका एक सय ८८ जना स्वदेश फर्केकामध्ये क्रमशः प्रदेश १ का एक हजार दुई सय ८५ जना, प्रदेश नं २ का सात सय ८५ जना, वाग्मतीका छ सय दुई जना, गण्डकीका सात सय १६ जना, प्रदेश नं ५ का नौ सय ६९ जना, कर्णालीका एक सय २१ जना र सुदूरपश्चिमका एक सय ६७ जनालाई प्रदेशमा पठाइएको छ ।

केन्द्रका अनुसार प्रदेशमा पठाइएकामध्ये होटल क्वारेन्टाइनमा चार सय ६९ जना, होम क्वारेन्टाइनमा सात सय नौ जना र स्थानीय क्वारेन्टाइनमा एक हजार एक सय ६९ जना राखिएको छ । यस्तै १३ जना अस्पतालमा र अन्य स्थानमा छ जना राखिएको छ ।

उनीहरुको व्यवस्थापनको लागि मन्त्रीमण्डलका सात सदस्य, सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा स्थानीय तहलाई समेत जिम्मेवारी दिएको छ । सरकारले यसरी विदेशबाट ल्याएका नागरिकलाई सुरक्षितसाथ परिवारसम्म पु-याउने प्रक्रिया निर्माण गरे पनि त्यसको कार्यान्वयन भने अत्यन्त फितलो हुँदा स्वदेश फर्किएका नागरिकहरुले असहज समस्याहरु भोग्नुपरेको छ ।

केन्द्रले प्रदेश गएकाहरुमध्ये कति नागरिक आफ्नो परिवारमा पुगे भन्ने विषयमा भने कुनै जानकारी नरहेको बताएको छ । केन्द्रले उद्धारको क्रममा म्यान्मार, माल्दिभ्स, सिंगापुर, हङकङ, श्रीलंका, बंगलादेश, अफगानस्तिाान, मलेसिया तथा खाडीका राष्ट्रहरु साउदी अरब, कतार, संयुक्त अरब इमिरेटस (यूएई), कुवेत, ओमानका साथै जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, कम्बोडियामा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याएको हो । विदेशबाट चार्टर्ड उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो भने सोको जिम्मेवारी भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लिएको छ । उद्धारको नाममा पर्यटन मन्त्रालयले चर्को भाडादर असुल गरेसँगै भने स्वयं विदेशस्थित नेपाली नियोगहरुले चार्टर्ड उडानको व्यवस्था गरी अलपत्र परेकालाई स्वदेश पठाउने पनि गरेका छन् ।

त्यसैगरी, हालसम्म भारतबाट भने एक हजार पाँच सय ९८ जना स्वदेश फर्किएका छन् । जसमध्ये प्रदेश नं १ का दुई सय ५१, प्रदेश नं २ का एक सय ५२, प्रदेश नं ५ का सात सय ७४ र सुदूरपश्चिम प्रदेशका चार सय २१ जना रहेका छन् । अन्य प्रदेशका नागरिक भने भारतबाट आएका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १२ गते राष्ट्रको नाममा सम्बोधन गर्दैै विदेशमा अलपत्र नेपालीको उद्धार थालिने बताएका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया