Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधखरको छानो विस्थापित गर्दै स्थानीय तह

खरको छानो विस्थापित गर्दै स्थानीय तह


झिमरुक, असार ११
प्यूठान जिल्लाका स्थानीय तहहरूको खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने कार्यक्रम प्रभावकारी बनेको छ । लामो समयदेखि खरको छानामुनि बसेका जस्तापाताले छाउन नसकेका परिवारलाई स्थानीय तहमार्फत जस्तापाताले घर छाउने कार्यक्रम ल्याइएको हो ।

गौमुखी गाउँपालिकाले गत आर्थिक वर्ष २०७५÷७६ मा एक हजार चार सय २८ अतिविपन्न परिवारको घरमा जस्तापाताले छाउने कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए । पाँच करोड २८ लाख रूपैयाँ लागतमा जस्तापाता लगाइएको उनको भनाइ छ । गाउँपालिकाले प्रतिघर ४० हजार रूपैयाँ लगानीमा जस्तापाता लगाएको थियो । सो गाउँपालिकाले चालू आर्थिक वर्षमा पनि विभिन्न वडाका एक सय २४ घरधुरीमा ५० लाख रूपैयाँ लागतमा जस्तापाता लगाएको छ ।

धेरै वर्षदेखि खरको छानामा बसेका गौमुखी–२ अर्खा ठूलाचौरका श्यामबहादुर थापाले जङ्गलको नजिक घर हुँदा खरको छानामा आगलागीको डर हुने गरेको बताए । उनका अनुसार गाउँपालिकाको सहयोगमा जस्तापाता लगाएपछि अहिले डर हटेको छ । यस्तै स्वर्गद्वारी नगरपालिकाले पनि नगरक्षेत्रमा रहेका विपन्न परिवारका घरमा जस्तापाता लगाउँदै आएको छ । आगामी आर्थिक वर्षमै खरको छानो विस्थापित हुने गरी काम भइरहेको नगरपालिकाले जनाएको छ । करिब दुई हजार दुई सय घरहरू खरको छानो भएको स्वर्गद्वारीमा करिब एक हजार पाँच सय घरधुरीमा जस्तापाता लगाइसकिएको नगरप्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताए ।

आगामी वर्ष पनि प्रदेश सरकारसँग समन्वय गरेर एक करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरी १ र २ नं वडामा रहेका खरका छाना भएका घरहरूलाई जस्तापाताले छाएर नगरपालिकालाई खरको छानामुक्त घोषणा गर्ने योजना रहेको उनले बताए । माण्डवी गाउँपालिकाले पनि पालिका क्षेत्रभित्र सात सय ५० घरमा जस्तापाता लगाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया