Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवाग्मती प्रदेशभर थप २४५० आईसोलेसन बेड राख्ने निर्णय

वाग्मती प्रदेशभर थप २४५० आईसोलेसन बेड राख्ने निर्णय


दीपक पराजुली
हेटौंडा, असार १४
वाग्मती प्रदेश कोभिड संकट व्यवस्थापन समितिले आईसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आइसोलेसन बेडको संख्या २ हजार ४ सय ५० थप्ने निर्णय गरेको हो । हाल प्रदेशले १ हजार २ सय ५८ वटा आइसोलेसन बेड तयारी अबस्थामा राखेको छ ।

समितीले दिएको जानकारी अनुसार १० प्रतिशत महिलाहरुको लागि सुरक्षित थरी उपत्यकाका ३ जिल्लामा १ हजार, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुलीमा २÷२ सय, सिन्धुपाल्चोकमा १ सय र दोलखा, रामेछाप र रसुवामा ५०÷५० वटा आइसोलेसन बेड तयार गरिनेछ ।

यसैगरी वैदेशिक रोजगारमा गई स्वदेश फर्कने नेपाली नागरिकहरुलाई त्रिभुवन विमानस्थल देखि जिल्ला सदरमुकाम सम्म पुग्ने यातायातको व्यवस्था खर्च वैदेशिक रोजगार बोर्डले व्यहोर्नको लागि केन्द्रीय कोरोना संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने र सदरमुकाम देखि स्थानीयतह सम्मको यातायातको व्यवस्था खर्च स्थानीय तहले गर्ने निर्णय भएको छ । यसैगरी सम्बन्धित मुलुकले नै हवाइ यातायातको व्यवस्था गरी स्वदेश फर्कने नेपाली नागरिकको हकमा त्रिभुवन विमानस्थल देखि सम्बन्धित जिल्ला सदरमुकाम सम्मको यातायात खर्च प्रदेश सरकारले व्यवहोर्ने गरी सम्बन्धित निर्देशिका परिमार्जन गर्न संघीय सरकारसंग अनुरोध गर्ने समितिले निर्णय गरेको छ ।

यसैगरी विदेशबाट आउने वाग्मती प्रदेशका नागरिकहरुलाई सुरक्षित रुपमा काठमाण्डौमा रहेको होल्डिङ सेन्टर देखि जिल्ला सदरमुकामसम्म पुर्याउन उपत्यकाका ३ जिल्लाका कोभिड संकट व्यवस्थापन समितिले समन्वय गरी आवश्यक व्यवस्थापन गर्ने जनाइएको छ । कोभिड १९ का संक्रमितको उपचार र संक्रमण रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू मध्ये केन्द्रबाट प्राप्त हुने औषधी तथा उल्लेख भएका सामाग्रीहरु बाहेक प्रदेशलाई आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्थापन, प्रदेश स्तरमा पीसीआर टेष्ट र प्रयोगशालाको क्षमता बढाउन सामजिक विकास मन्त्रालयले व्यवस्था मिलाउने पनि समितिको निर्णय छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भौतिक र जग्गा व्यवस्थापनको कार्य जिल्ला कोभिड संकट व्यवस्थापन समितिले स्थानीयतहसंग समन्वय गर्ने, नयाँ भवन निर्माण गर्नु पर्ने भएमा लागत अनुमान लगाएतका कार्यहरु भौतिक पूर्वाधार विकास मन्त्रालयले व्यवस्था मिलाउने, आइसोलेशन वार्ड संचालनको कार्य जिल्ला कोभिड संकट व्यवस्थापन समितिलसंगको समन्वयमा सामाजिक विकास मन्त्रालयले व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

कोभिड १९ बाट बढी मानिसहरु संक्रमण भएका जिल्लाका कोभिड संकट व्यवस्थापन समितीले पूर्ण बन्दाबन्दी गर्न सिफारिस गरेमा संघीय सरकारको कोभिड संकट व्यवस्थापन समितिको परामर्शमा प्रदेश सरकारले पूर्ण बन्दाबन्दी घोषणा गर्न सक्ने व्यवस्था भएकोले यस्तो अवस्था आइपरेमा सम्बन्धित जिल्लाको कोभिड संकट व्यवस्थापन समितिले प्रदेशमा सिफारिस गर्न निर्देशन दिने निर्णय गरिएको छ ।

वाग्मती प्रदेश कोरोना कोषमा जम्मा ४३ करोड १९ लाख २९ हजार ९ सय २ रुपैयाँ संकलन भएको छ भने १ सय १९ वटा स्थानीय तहमा १३ करोड ७ लाख र १२ जिल्ला प्रशासन कार्यालयहरुमा ६० लाख निकासा गरिएको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि वाग्मती प्रदेश सरकारबाट सामाजिक विकास मन्त्रालयमार्फत विभिन्न स्वास्थ्य निकायहरुमा रु १६ करोड ३१ लाख ५१ हजार र संघीय शसर्त अनुदानबाट प्राप्त बजेट २ करोड ७० लाख गरी जम्मा १९ करोड १ लाख ५१ हजार रुपैयाँ निकासा भएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया