Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभीमदत्तलाई आधुनिक सहर बनाइँदै

भीमदत्तलाई आधुनिक सहर बनाइँदै


धन बहादुर जप्रेल
कञ्चनपुर, असार १४
कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजारका पाँचै गल्लीमा नालीसहितका पक्की सडक निर्माण गरी बजार क्षेत्रलाई आधुनिक सहर बनाउने काम एक हप्ताभित्र सुरु गरिने बताएको छ ।

एसियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाको सहकार्यमा भीमदत्त नगरपालिकाले गत वर्ष नै सुरु गर्ने भनिएको बजार पुनर्निर्माणको काम हुन सकेको थिएन । विभिन्न कारणले कारण केही समयपछि धकेलिएको निर्माणकार्य असार तेस्रो सातादेखि सुरु हुनलागेको नगरपालिकाल बताएको छ ।

भीमदत्त नगरपालिकामा शुक्रबार भएको बैठकमा निर्धारित समयभित्र निर्माण पूरा गरी कार्य सुरु गर्ने निर्णय गरिएको भीमदत्त नगरपालिकाका नगरप्र्रमखु सुरेन्द्र विष्टले बताए । महेन्द्रनगर बजारलाई आधुनिक सहरका रुपमा विकास गर्ने लक्ष्यका साथ क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत बजारका सबै गल्लीमा रहेका नाली सहितका सडक बनाउने लागिएको हो । त्यसका लागि गत वर्ष एक अर्ब ७६ करोडको टेण्डर आह्वान गरिएको थियो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले महेन्द्रनगर बजारलाई व्यवस्थित र आधुनिक बनाउन नाली सहित ठूलो लगानीमा पक्की सडक निर्माणकार्य सुरु गर्न लागिएको जानकारी दिए । ‘कोरााना महामारीका कारण केही ढिलो भएको छ, ठेक्का बन्दोवस्ती भई सकेको छ, क्षेत्रीय सहरी विकास आयोजनासहितको बैठकबाट निर्धारित समयभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण सुरु गर्ने निर्णय भएको छ’ नगर प्रमुख विष्टले भने,– ‘त्यसका आधारमा कार्य सुरु भएर समयमा सम्पन्न हुन्छ ।’

महेन्द्रनगर बजारका पाँच वटै गल्लीमा १३ दशमलव ८५ किलोमिटर नालीसहित सडक निर्माण गर्ने योजना छ । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत भीमदत्त नगरपालिकामा ३५ किलोमिटर नालीसहित पक्की सडक निर्माण गरिनेछ । त्यसमध्ये पहिलो चरणमा बजार क्षेत्रमा सडक बनाउन लागिएको हो । ‘पहिलो चरणमा पाँचवटै गल्लीमा नालीसहित उच्च गुणस्तरीय सडक बनाउनलागेको छौ, त्यसपछि अरु सडक पनि बनाउँछौं’, नगर प्रमुख विष्टले भने । भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले पहिलो नगर सभाबाटै महेन्द्रनगर बजारलाई व्यवस्थित र सुदूरपश्चिमको नमूना सहर बनाउने योजना रहेको बताए ।

महेन्द्रनगर सुदूरपश्चिम प्रदेशमा गुरु योजनाद्वारा निर्माण गरिएको व्यवस्थित सहर हो । नालीसहितका पक्की सडकका लागि सबै पुराना सडक भत्काइने भएका छन् । सडक निर्माणसँगै फुटपाथ समेत हटाइने भएको छ । नगरपालिकाका अनुसार सबै सडक ७ दशमलव ५० मिटर चौडा आधुनिक कालोपत्रे गरिनेछ । ‘अहिले हामीले बनाएका सडकको स्तरभन्दा कैयौँ गुणा अब बन्ने सडक गुणस्तरीय हुनेछन्, त्यसमा प्रतिकिलोमिटरमा ठूलो लगानी हुन्छ’ नगर प्रमुख विष्टले भने ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्टले चरणअन्तर्गत बनाइने सडक प्रभावकारी भएसँगै नगरका अन्य ग्रामीण भेग जोड्ने सडक समेत निर्माण गरिने बताए । ‘महेन्द्रनगर बजार चिटिक्क बनेसँगै भारतीय पर्यटकका लागि नेपाल थप पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ’ प्रमुख प्रशासकीय अधिकृत भट्टले भने ।

नेपालको पश्चिमी सीमा नाकाको सहर महेन्द्रनगर भारतको राजधानी दिल्लीदेखि झण्डै तीन सय ५० किलोटिर दूरीमा छ । महेन्द्रनगरमा गत वर्ष आधुनिक बसपार्क निर्माण गरी सञ्चालमा आएको छ । भीमदत्त नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण, सडक निर्माण लगायतका योजना छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया