Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधयुवालाई चार प्रतिशतमा सहुलियत ऋण

युवालाई चार प्रतिशतमा सहुलियत ऋण


काठमाडौं, असार १५
कोभिड–१९ का कारण रोजगार गुमाएर स्वदेश फर्केकालाई लक्षित गर्दै कास्कीको रुपा गाउँपालिकाले युवा स्वरोजगार कार्यक्रममलाई प्राथमिकता दिएको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले नीति तथा कार्यक्रम र बजेटमार्फत कोरोना महामारीका कारण रोजगार गुमाएर स्वदेश फर्किएका युवालाई लक्षित गरेर स्वरोजगार बनाउने र उद्यम गर्न चाहनेलाई सहुलियत ऋण दिने नीति ल्याएको बताए । उनले वैदेशिक रोजगारबाट फर्केका युवालाई स्वदेशमै स्वरोजगार बन्ने वातावरण सिर्जना गर्ने कार्यक्रमलाई जोड दिएर युवालाई चार प्रतिशतमा सहुलियत ऋण प्रदान गरिने बताए ।

गाउँपालिकाले युवा तथा स्वरोजगार शीर्षकमा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सात वडा रहेको गाउँपालिकामा करिब चार हजार ५ सय घरधूरी छन् भने २२ हजार जनसंख्या रहेको छ । गाउँपालिकाले घरघरमा गएर वैदेशिक रोजगारबाट फर्कन चाहनेको तथ्यांकसमेत संकलन गरेको छ । एक हजार ८ सय ८१ जना युवा दशैँसम्ममा स्वदेश फर्कन चाहेको तथ्यांक गाउँपालिकासँग छ । विदेशबाट आएका ६ सय जना र स्वदेशका ४ सय जना गरी करिब एक हजार जनालाई युवा स्वरोजगार कार्यक्रममार्फत सहुलियत ऋण प्रदान गर्ने गृहकार्य गाउँपालिकाको छ । उनीहरुका लागि पशुपालन, कृषि, साना उद्योग र घरेलु उद्योगमा ऋण प्रदान गरिनेछ ।

गाउँपालिकाले आगामी वर्षलाई कृषि वर्षका रुपमा मनाउने तयारीका साथ कार्यक्रम अगाडि सारेको छ । कृषि वर्षका लागि एक करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँमा उत्पादिन कृषिउपज कृषि एम्बुलेन्समार्फत निःशुल्करुपमा बजारमा पु-याउने, फलफूल तथा तरकारीको बिरुवा सहज बनाउने, एक वडा एक नर्सरी स्थापना गर्ने साथै एक घर एक करेसाबारी कार्यक्रम अघि सारेको छ ।

गाउँपालिकाले कृषकको सहजताका लागि घरघरमा मोटरसाइकलबाट प्राविधिक सेवा समेत पु-याउँदै आएको छ । त्यसैगरी पशुपालनमा सहुलियत ऋण, उन्नत जातको पशुपालनका लागि कृत्रिम गर्भाधानमा शतप्रतिशत अनुदान दिने कार्यक्रम सार्वजनिक गरेको अध्यक्ष ओझाले जानकारी दिए । पशुपालन क्षेत्रका लागि गाउँपालिकाले ९४ लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले हालै आव २०७७/७८ का लागि ४३ करोड १६ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालूतर्फ पाँच करोड एक लाख २४ हजार रुपैयाँ र पुँजीगततर्फ १८ करोड ८० लाख २४ हजार रुपैयाँ विनियोजन गरेको अध्यक्ष ओझाले जानकारी दिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया