Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविमान दुर्घटनापीडितकोे क्षतिपूर्ति मुद्दा रोक्न यूएस बंगलाको रिट

विमान दुर्घटनापीडितकोे क्षतिपूर्ति मुद्दा रोक्न यूएस बंगलाको रिट


काठमाडौं, असार २१
यूएस बंगला एयरलाइन्सले विमान दुर्घटनाका पीडितका परिवारले क्षतिपूर्तिको माग गर्देै जिल्ला अदालतमा मुद्दा दायर गरेपछि उक्त मुद्दा रोक्न कम्पनी सर्वोच्च अदालत गएको छ । सन् २०१८ मार्च १२ तारिखका दिन काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका नेपाली विद्यार्थीहरुको आमाबाबुलाई क्षतिपूर्ति माग्न नेपालमा मुद्दा गर्ने अधिकारक्षेत्र समेत नभएको भन्दै उक्त कम्पनी सर्वोच्च गएको हो ।

युएस बंगला एयरलाइन्स र सोको चालकको हेलचेक्र्याइँ र चरम लापरबाहीबाट दुर्घटना भई उक्त विमानमा सवार नेपाली नागरिकहरुको मृत्यु भएको सम्बन्धमा सात जना पीडितको आमाबाबुले दायर गरेको क्षतिपूर्तिसम्बन्धी मुद्दाको न्याय निरुपण गर्न नेपालमै अधिकारक्षेत्र कायम हुने भनी काठमाडौं जिल्ला अदालतले २०७६ मंसिर १९ गते गरेको आदेश उच्च अदालत पाटनले गत २०७६ फागुन २३ गते सदर गरेको थियो ।

उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंबाट भएका आदेशहरुउपर कानुनबमोजिम कतै मुद्दा नलाग्ने भए पनि विमान सञ्चालक कम्पनी एवं उसका बीमा र पुनर्बीमा कम्पनीले जिल्ला अदालतमा विचाराधीन मुद्दाको सबै कामकारबाही समेत रोक्न अन्तरिम आदेश माग गरेर दायर गरेको रिट निवेदनमा आइतबार सर्वोच्च अदालतमा दुवै पक्षको बहस छलफल हुने भएको छ ।

कोरोना भाइरसको महामारी र बन्दाबन्दीकै अवधिमा गत २०७७ असार १० गते सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले उक्त रिट निवेदनमा अन्तरिम आदेशको छलफल गर्न दुवै पक्षलाई राखी बहस गराउने गरी असार २१ गतेको पेशी तोक्ने गरी आदेश भएको थियो । बन्दाबन्दीकै अवधिमा सर्वोच्च अदालतका कर्मचारीहरुले पीडित परिवारहरुको घर घरमा गई शुक्रबार सूचना टाँस गरेका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया