Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअन्तर्राष्ट्रिय उडान बन्दका बीच १६ एयरलाइन्सको उडान

अन्तर्राष्ट्रिय उडान बन्दका बीच १६ एयरलाइन्सको उडान


प्रवीण राउत
काठमाडौं, असार २२
सामान्य अवस्थामा नेपालसहित १४ मुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्नका लागि अनुमति लिएका छन् । त्यसमा पनि अधिकांश एयरलाइन्सले काठमाडौंमा उडान भर्छन् । तर, कोभिड १९ को प्रकोपसँगै नेपालमा उडान अनुमति पाएका २९ वटा एयरलाइन्सले उडान भर्न पाएनन् । यसैबीच तीमध्ये र नयाँ गरी सो संख्याभन्दा आधा बढीले काठमाडौंमा चार्टर्ड उडान भरेका छन् ।

यसरी चार्टर्ड उडान भर्नेमा नेपालका तीन एयरलाइन्स छन् । यसरी उडान भर्ने कम्पनीको संख्या तीसहित १६ रहेको छ । यसमा नेपालका नेपाल एयरलाइन्स, श्रीएयरलाइन्स, बुद्ध एयरलाइन्स, हिमालय एयरलाइन्स (नेपाल र चीनको संयुक्त लगानी) रहेका छन् भने विदेशका अर्थात् कतारको कतार एयरवेज, कुवेतको जजिरा एयर, टर्कीको टर्किस एयरलाइन्स, संयुक्त अरब इमिरट्स (यूएई)को फ्लाई दुबई र एयर अरेबिया, दक्षिणा कोरियाको कोरियन एयर रहेका छन् ।

त्यसैगरी मलेसियाको मालिन्दो एयरलाइन्स, भुटानको ड्र्युक एयरलाइन्स, श्रीलंकाको श्रीलंकन एयर, बेलायतको टाइटन, रसियाको रोयल फ्लाई र भारतको एयर इन्डियाले समेत काठमाडौं उडान भरेका छन् । यी एयरलाइन्सले विदेशमा रहेका नेपाली नागरिक उद्धार गर्न तथा नेपालमा रहेका विदेशी नागरिक उद्धार गर्नका लागि त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थललाई गन्तव्य बनाएका हुन् । नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता राजकुमार क्षेत्रीले नेपालमा रहेका विदेशी तथा विदेशमा रहेका नेपाली नागरिकको उद्धारको लागि यी विमानहरु प्रयोग गरिएको बताए ।

मानिसहरुको उद्धार तथा कार्गो ल्याउनको लागि ती विमानहरुको प्रयोग गरिएको उनको भनाइ छ । उनले भने, ‘विशेषगरी नेपाल एयरलाइन्सले उद्धारसँगसँगै कार्गोको लागि समेत उडान भरेको छ ।’

विमानस्थल स्रोतका अनुसार चार्टर्ड उडान भर्ने सबै एयरलाइन्सले यसअघि नेपालमा उडान अनुमति नलिएका समेत रहेको बताए । जस्तो यसअघि बेलायत, रसिया तथा भुटानबाट काठमाडौं उडान भरेका टाइटन, रोयल फ्लाई तथा ड्र्युक एयरलाइन्सले काठमाडौं उडान भर्ने गरेका थिएनन् । उनीहरुले नेपालस्थित आफ्ना नियोगलाई उडान अनुमतिको व्यवस्थापन गर्न आग्रह गर्दै त्यो सम्भव भएको हो । ती मुलुकहरुले नेपालको परराष्ट्र मन्त्रालयसँग समन्वय गरी उडान भरेका हुन् ।

त्यसैगरी उद्धारको लागि नेपालका एयरलाइन्सलाई समेत युरोप, अमेरिकालगायतका मुलुकमा उडान अनुमति नहुँदा विदेशी एयरलाइन्समा भर पर्नुपरेको विमानस्थलले जनाएको छ । उद्धारको क्रममा विदेशमा रहेका नेपाली नागरिकहरुलाई प्रायःजसो कतार एयरलाइन्सले काठमाडौंसम्म ल्याउने व्यवस्था गरेको छ । युरोप, अमेरिकासम्म कतारलगायतको विदेशी एयरलाइन्सको पहुँच भएको हुँदा त्यहाँ रहेका नेपालीहरुलाई खाडी मुलुक ट्रान्जिट हुँदै नेपाल ल्याइएको हो भने त्यही उडानबाट शव समेत ढुवानी गरिएको छ ।

यद्यपि पछिल्लो समय सरकारले पारस्परिक उडान प्रणालीको आधारमा नेपालमा उडान अनुमति प्रदान गर्ने व्यवस्था गर्नलागेको छ । सोसँगै भने नेपालका एयरलाइन्स पनि हालसम्म उडान नभरेको मुलुकमा उडान भर्न सक्ने सम्भावना देखिएको छ । ती एयरलाइन्सहरुले काठमाडौंबाट खाडी राष्ट्रहरु, भुटान, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, बेलायत, रसियालगायतका मुलुकमा उडान तथा सो मुलुकहरुबाट काठमाडौंका लागि उडान भरेका छन् ।

सोही क्रममा नेपालमा रहेका विदेशीलाई नेपाल एयरलाइन्सले पहिलो पटक चार्टर्ड उडानमार्फत अष्ट्रेलियामा उडान भरेको छ । उद्धारको क्रममा सबैभन्दा बढी काठमाडौंलाई गन्तव्य स्थान बनाउने तथा काठमाडौंबाट विभिन्न स्थानलाई गन्तव्य मुलुक बनाई उडान भर्नेमा नेपाल एयरलाइन्स र कतार एयरवेज रहेको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र नेपाल पर्यटन बोर्डले चार्टर्ड उडान जारी रहेकोले गर्दा नै उद्धार कार्यले निरन्तरता पाएको बताएको छ ।

केन्द्रका सदस्य फणीन्द्रमणि पोखरेलले आइतबारसम्म करिब साढे १८ हजार जना नागरिक स्वदेश फर्किएको तथा एक सय तीनवटा शव स्वदेश ल्याइएको बताए । त्यसैगरी बोर्डले नेपालमा रहेका करिब ६ हजार पर्यटक आफनो मुलुक फर्किएको बताएको छ । बोर्डका अधिकारीका अनुसार नेपालमा रहेका १७ वटा मुलुकका करिब ६ हजार विदेशी नागरिक तथा पर्यटकहरु आफ्ना मुलुक फर्किएका हुन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया