Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवर्षासँगै ग्रामीण सडक जीर्ण, यातायात सञ्चालनमा समस्या

वर्षासँगै ग्रामीण सडक जीर्ण, यातायात सञ्चालनमा समस्या


महेन्द्र शाही
सोलुखुम्बु, असार २२
बर्सात लागेसँगै सोलुखुम्बुको ग्रामीण सडकहरु जीर्ण बनेपछि यातयात सञ्चालनमा चुनौती थपिएको छ । जिल्लाका अधिकांश सडक वर्षाका कारण भत्किँदै गएको भए पनि समयमै मर्मत र स्तरउन्नति हुन नसक्दा सवारी आवागमनमा समस्या आएको स्थानीयको गुनासो छ ।

जिल्लाको सदरमुकाम सल्लेरीबाट गाउँ–गाउँ जोड्ने अधिकांश सडकको अवस्था निकै जीर्ण रहेका कारण यात्रु र सवारी साधनले सास्ती खेप्न बाध्य बनेको यातयात व्यवसायी दोर्जी शेर्पाले बताए । ‘सबै सडक हिलाम्मे छन्, गाडी गुडाउन निकै समस्या हुन्छ’, उनले भने । सडक पुनर्निर्माण तथा स्तरोन्नतिमा बर्सेनी करोडौँ खर्च हुँदै आए पनि गुणस्तरीय कार्य हुन नसक्दा बर्सेनी यात्रु तथा चालकले सास्ती खेप्नुपरेको सवारी चालक प्रकाश घतानीको भनाइ छ ।

हिउँदमा मर्मत गरे पनि पानीले सबै सडकलाई बगर बनाउँदा समस्या हुने गरेको उनले सुनाए । साथै मापदण्ड तथा प्राविधिक स्टामेटबिना आफूखुसी सडक मर्मत एवं ट्र्याक ओपन कार्य गरिँदा पनि बर्र्सातमा सडक जीर्ण बन्नेगरेको सर्वसाधरणको गुनासो छ ।

कतिपय सडक स्तरउन्नतिका नाममा न्यून गुणस्तरका कच्चापदार्थको प्रयोगका कारण पिच भएका सडकहरु समेत छोटो समयमै भत्किएको सल्लेरीका निरकुमार नेपालीले गुनासो गरे । जिल्लाको अधिकांश बस्ती ग्रामीण भेगमा पर्ने भएकाले सडक जीर्ण भएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य समेत बढ्ने स्थानीयको चिन्ता छ  । सोलुदूधकुण्ड नगर क्षेत्रमा पर्ने सदरमुकाम सल्लेरी बजारसहित तामाखानी, लोदिङ, खोलाघारी, बेनी, टाक्सिन्दुलगायतका क्षेत्रको सडक अत्यन्तै जीर्ण रहेको सवारी चालकहरुले बताएका छन् ।

त्यसैगरी माप्यदूधकोशी क्षेत्रको सडक, लिखुपिके क्षेत्रका सडकहरु समेत सवारी सञ्चालन गर्न चुनौती रहेको यातयात व्यवसायीको भनाइ छ । बर्र्सातका कारण जीर्ण बनेका सडकमा यातयात सञ्चालन गर्नुपर्दा दुर्घटनाको जोखिम समेत उच्च बनेको सवारी चालकहरुले बताउने गरेका छन् । हिमाल तथा पहाडका सडकहरु ट्र्याक ओपन मात्रभन्दा पनि सोलिङ वा ढलान गर्न नसक्ने हो भने यो समस्या वर्षौंसम्म जस्ताको तस्तै रहनेछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया