Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने सावाँ÷ब्याज भुक्तानी गर्ने समयावधि बढाऊ’

‘बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने सावाँ÷ब्याज भुक्तानी गर्ने समयावधि बढाऊ’


काठमाडौं, असार २५
नेपाल उद्योग वाणिज्य महासंघले बैंक/वित्तीय संस्थाहरूलाई बुझाउनुपर्ने सावाँ, ब्याज भुक्तानी गर्ने समयावधि बढाउन आग्रह गरेको छ । महासंघले कोरोना महामारीका कारण धराशायी बनेका अर्थतन्त्रका महत्वपूर्ण आधार उद्योग व्यवसाय बचाउनु राज्यको प्रमुख दायित्व भएको भन्दै २०७६ चैतदेखि सबै उद्योग व्यवसायले वित्तीय संस्थाहरूलाई भुक्तानी गर्नुपर्ने सावाँ र ब्याजको समयावधि, स्थिति अनुकूल भई अर्थतन्त्र पूर्णरूपमा चलायमान नहुन्जेलसम्म बढाउन र ब्याजलाई पुँजीकरण गरी कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ ।

साथै महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीति यही असार मसान्तसम्म ल्याउन पनि राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको महाव्याधिका कारण नेपाल झण्डै ८० दिनभन्दा बढी पूर्ण लकडाउनको अवस्थामा रहेको र उक्त समयमा मुलुकभित्र अत्यावश्यकबाहेक सम्पूर्ण उद्योग व्यवसाय ठप्प रहेकोले बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय सञ्चालन गरिरहेका साना ठूला सबै तहका उद्योगी व्यवसायीहरू यतिखेर गम्भीर संकटमा रहेको जनाएको छ ।

उद्यमी व्यवसायीलाई असार मसान्तभित्र कर्जा तथा ब्याज चुक्ता गर्न बैंक तथा वित्तीय संस्थाहरूको बारम्बारको ताकेताबाट अर्थतन्त्रलाई बलियो बनाउन अहोरात्र खट्ने उद्योग व्यवसाय क्षेत्र थप प्रताडित भएको महासंघको भनाइ छ । साथै पेशा व्यवसायबाटै पलायन हुने डरलाग्दो परिस्थिति निर्माण भइरहेको महासंघले जनाएको छ ।

असार १ गतेपश्चात् लकडाउनको स्वरूपमा केही परिवर्तन गरी आम मानिसको दैनिक जीवनयापनदेखि अर्थतन्त्रलाई चलायमान बनाउने सरकारको निर्णयबमोजिम केही सहजताको महसुस गरिए पनि सार्वजनिक यातायातको सञ्चालन नभएकोलगायतका कारणबाट उद्योग व्यवसाय पूर्णरूपमा सञ्चालनमा आउन नसकेको महासंघले जनाएको छ । महासंघका अनुसार चलेका उद्योगहरु पनि क्षमताको ३०/४० प्रतिशत मात्रमा सञ्चालनमा रहेका छन् ।

साथै उत्पादित मालवस्तु पनि निर्बाध रुपमा बजारसम्म पु-याई बिक्रीवितरण गरी नगद प्रवाह हुन नसकेको अवस्था रहेको महासंघको भनाइ छ । अर्थतन्त्र चलायमान बन्न नसक्दा यससँग प्रत्यक्ष जोडिएका साना ठूला सबै तहका उद्योगी व्यवसायी, काम गरेर खाने श्रमिक कामदारहरूलगायत आम जनताको दैनिक जीवनयापनसमेत अत्यन्त कठिन बन्दै गएको महासंघले जनाएको छ । यस जटिल परिस्थितिलाई मनन गरी उद्योग व्यवसाय बचाउनेतर्फ नेपाल सरकार र राष्ट्र बैंकबाट उचित पहल नहुने हो भने कुनै पनि समय अर्थतन्त्र गम्भीर संकटमा फस्ने र मुलुक थप भयावहको स्थितितर्फ जान सक्नेतर्फ पनि महासंघले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया